राष्ट्रियसभा निर्वाचनमा अवसर नपाएकालाई प्राथमिकता दिइन्छ: नेपाली काँग्रेस

  • नेपाल अहिले
  • पौष १५, २०८०
राष्ट्रियसभा निर्वाचनमा अवसर नपाएकालाई प्राथमिकता दिइन्छ: नेपाली काँग्रेस

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनमा हालसम्म कुनै अवसर नपाएका योग्य तथा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने कुरालाई प्राथमिकता दिने भएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्य समिति बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले पार्टीले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउन सो कुरालाई प्राथमिकता दिने बताए । भौगोलिक, जातीय, क्षेत्रीय सन्तुलन, संसदीय क्षेत्रमा योगदान दिनसक्ने, पार्टीप्रति प्रतिवद्ध र स्वच्छ छवि भएकालाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउने मापदण्ड बैठकले तय गरेको पनि उनले बताए ।

प्रचार विभाग प्रमुख विश्वकर्माले भने ‘राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको बीचमा सहमतीको आधारमा साझा उम्मेदवार बनाउने  र नेपाली काँग्रेसले उम्मेदवार प्रश्तुत गर्दा विधान धारा ३२ को उपधारा ९ बमोजिम प्रदेश कार्य समितिको सिफारिस भई आएको नामहरु मध्ये भौगोलिक, जातीय, क्षेत्रीयलाई समेत ध्यानमा राखेर पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान गर्नसक्ने क्षमता भएका, पार्टीप्रति प्रद्धिवद्ध स्वच्छ छवि भएका, हालसम्म कुनैपनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिइनेछ ।’

नेपाली काँग्रेसले यसअघि नै सो निर्वाचनमा गठबन्धन दलहरुको तर्फबाट साझा उम्मेदवार उठाउने निर्णय गरिसकेको छ । राष्ट्रिय सभाको रिक्त हुने २० सिटमध्ये १९ सिटमा लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media