
दमौली । तनहुँको एक पालिकाको एउटै वडाबाट यो वर्ष करिब रु तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ ।
देवघाट गाउँपालिका–३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला उत्पादन भएको हो । उक्त वडाको नौ वटा टोलमा व्यावसायिकरूपले सुन्तलाखेती भइरहेको छ ।
गत वर्ष पनि रु तीन करोड बराबरको सुन्तला बिक्री गरेका यहाँका कृषकले अहिले पनि सोही हाराहारीमा सुन्तला बिक्री गर्ने तयारी गरेको सुन्तला उत्पादक कृषक भीमबहादुर थापाले जानकारी दिए ।
यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनेको उनको भनाइ थियो । यस वर्ष रु ५५ लाख बराबरको सुन्तला उत्पादन गर्नुभएका थापाले भने, “धेरै वर्ष पहिला अधियाँ गरेर खानुपर्ने बाध्यता रहेकामा अहिले सुन्तलाले आत्मनिर्भर बनाएको छ ।” उनका अनुसार सुरुका दिनमा रु थोरै ऋण माग्दा पनि कसरी तिर्ला भन्ने अहिले आम्दानी देखेर दङ्ग छन् ।
सुन्तला खेतीले कृषकको जीवनस्तर बदलिएको छ । यो वडाको लुङ्ग्रिङ, छिपछिपे, छापस्वारा, दगरालगायत ठाउँका कृषकले सुन्तला बेचेर मनग्य आम्दानी गरिरहेका छन् । सुन्तला उत्पादनमा जिल्लाकै पकेट क्षेत्रका रुपमा देवघाट परिचित छ । थापाले भने, “विगतमा केही पनि अन्नबाली उत्पादन नभएर भोकै बस्नुपर्ने बाध्यता रहेका यहाँका कृषकले यतिबेला सुन्तला बेचेर मनग्य आम्दानी गर्दै आएका छन् ।
फर्किएर सुन्तलाखेतीमा लागेको जानकारी दिए । उनले भने, “सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि बाहिर भएकाहरु गाउँ फर्किए ।” छापस्वाँराका डिलकुमार श्रेष्ठले सुन्तलासँगै बाख्रापालनलाई अगाडि बढाएका छन् ।
यस वर्ष रु दुई लाख ५० हजारको सुन्तला बेचिसकेको उल्लेख गर्दै उनले भने, “५० वटा बाख्रा पालेको छु । सुन्तला र बाख्रा नै आम्दानीको स्रोत हो ।” गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाट सुन्तला उत्पादनमा पकेट क्षेत्रका रुपमा विकास भएको बताए। देवघाटमा सुन्तला प्रशस्त उत्पादन भए पनि बजारीकरणका लागि कृषकले समस्या भोगिरहेका छन् ।
नदी पारी रहेको लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा बजारसम्म सुन्तला ढुवानीका लागि समस्या हुँदै आएको सुन्तला कृषकको गुनासो थियो । यहाँका कृषकले लुङ्ग्रिङ र छिपछिपेका कृषकले बुद्धसिंह मार्गको नाल्दीघाट र मुग्लिङ–नारागणगढ सडकको गाईघाटसम्म जिपमा राखेर ल्याउने र त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गरेका छन् ।
गाउँपालिकाले सुन्तला उत्पादक कृषकलाई लक्ष्य गरी सुन्तला नर्सरी स्थापना गर्न रु ३० लाख विनियोजन गरेको छ । उक्त नर्सरीमा बिरुवा उत्पादन गरेर इच्छुक किसानलाई निःशुल्क वितरण गरिने बताइएको छ ।
