अर्थतन्त्रका लागि नीतिगत संशोधनमा सरकार तयार

  • नेपाल अहिले
  • पौष ५, २०८०
अर्थतन्त्रका लागि नीतिगत संशोधनमा सरकार तयार

काठमाडौं । मुख्य सचिव बैकुण्ठ अर्यालले अर्थतन्त्र चलायमान बनाउनका लागि नीतिगत संशोधन र परिमार्जन गर्न सरकार तयार रहेको बताएका छन् ।

नेपाल एलपी ग्यास उद्योग संघको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले देशभित्र आर्थिक क्रियाकलाप भएन भने अर्थतन्त्र, विकास, सरकारको राजस्व नउठ्ने विषयमा सरकार सचेत रहेको भन्दै यसलाई सहजीकरण गर्न लागि परेको बताए ।

उनले भने, ‘अहिले जति तथ्यांक आएको छ त्यसको आधारमा सहज हुने हिसाबले खुकुलो नीति क्रमशः अपनाउदै गएका छौं । उद्योग, व्यवसायलाई चलायमान बनाउनु पर्छ, आर्थिक क्रियाकलाप भएन भने राजस्व पनि उठ्दैन भन्नेमा सरकार सचेत छ । नीतिगत विषयमा केही संशोधन र परिमार्जन गर्नको लागि हामी तयार पनि छां ।’

यस्तै, उनले अर्थतन्त्रको अवस्था कोभिडपछि कमजोर भएको तथ्य प्रस्तुत गर्दै अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्रसहित सबै लागिपर्नुपर्ने बताए ।

संघलाई ग्यासको सुरक्षाको विषयमा अलि बढी संवेदनशील हुन आग्रह गर्दै उनले सचेतनाका कार्यक्रमहरु चलाउन पनि सुझाव दिए ।

उनले भने, ‘ग्यासको सुरक्षाको विषयमा अलि बढी ध्यान दिन र संवेदनशील हुनुपर्ने हुन्छ । यसलाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा प्रचार गर्नुपर्ने हुन्छ । सबै संस्थाहरुलाई सहयोग गर्न पनि आग्रह गर्न चाहन्छु ।’

© 2026 All Rights Reserved | Nepal Ahile Media