कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

  • नेपाल अहिले
  • मंसिर २९, २०८०
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी लगायत समसामयिक राजनीतिक विषयहरुमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

बैठक शुक्रबार दिउँसो १२:१५ बजे सानेपास्थित कांग्रेस मुख्यालयमा बस्नेछ । कांग्रेसका कार्यालयका मुख्यसचिव एवम् राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद पौडेलले बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीका विषयमा छलफल हुने जानकारी दिए । ‘बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनकालागि दल दर्ता गर्नेसहित गठबन्धन र सीट बाँडफाँडका विषयमा निर्णय गर्छ,’ उनले भने ।

उनका अनुसार बैठकमा जाजरकोट भूकम्प र पार्टीको महासमिति बैठकको तयारीका विषयमा समेत छलफल गर्ने गरी एजेन्डा तय गरिएको छ । त्यस्तै, समसामयिक राजनीतिक विषयहरुमा समेत छलफल हुने पौडेलले बताए ।

आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ भने कांग्रेसले पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक बोलाएको छ ।

महासमिति बैठक तोकिएकै मितिमा गर्ने वा राष्ट्रिय सभा निर्वाचनपछिसम्म स्थगित गर्ने भन्ने विषयमा समेत कांग्रेसभित्र विवाद छ ।

शुक्रबारको बैठकले त्यसबारे समेत टुंगो लगाउने नेताहरुले बताएका छन् । कांग्रेसले महासमिति बैठक यसअघि मंसिर १३ देखि १५ भित्रै गर्ने मिति तोकेको थियो । तर तयारी नपुगेको भन्दै स्थगित गरेर पुस १६-१९ मा सारेको हो ।

महासमिति बैठक कांग्रेसको महाधिवेशनपछिको ठूलो संरचना हो । महासमिति बैठकमा देशभरिबाट करिब २५ सय नेता कार्यकर्ता प्रतिनिधिकारुपमा सहभागी हुनेछन् ।

© 2026 All Rights Reserved | Nepal Ahile Media