nepal ahile circle final NEW

प्राविधिक ज्ञान नाटकको महत्वपूर्ण पाटो, पोखरामा कार्यशाला गोष्ठी सम्पन्न

प्राविधिक ज्ञान नाटकको महत्वपूर्ण पाटो, पोखरामा कार्यशाला गोष्ठी सम्पन्न

राजाराम पौडेल, पोखरा । नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको आयोजनामा पोखरामा ध्वनी, नाट्यशाला र प्रकाशन सम्बन्धी कार्याशाला गोष्ठी सम्पन्न भएको छ ।

कार्यशाला समापन कार्यक्रममा बोल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानकी कुलपति निशा शर्माले रगंक्षेत्रमा अगाडि बढ्न चाहनेहररूमा ज्ञान बढोस् भन्ने उद्धेश्यले कार्यशाला आयोजना गरिएको बताइन् । रंगकर्मी सबै विषयमा जानकार रहनुपर्ने भन्दै प्राविधिक पक्ष नाटकको लागि महत्वपूर्ण कुरा भएको उनको भनाई थियो । कार्यशाला मार्फत जानेको सीपलाई कार्यक्षेत्रमा प्रयोग गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन् ।

‘रुचि देखाएर प्रशिक्षणमा सहभागी बन्नुभयो हामी खुशी छौं, जहाँ जे कुराको आवश्यता छ त्यहाँ सोही खालको कार्यशाला गर्ने लक्ष्य अनुसार पोखरामा आएका हौं, रंगकर्मी प्राविधिक कुरामा उतिकै सजग हुनुपर्छ’ उनले भनिन् ।

रगकर्मीले रंग क्षेत्रको बारेमा थाहा पाउनपर्ने अनिवार्यतालाई पुरा गर्न समेत कार्यशाला कोशेढुंगा सावित भएको उनको विश्वास थियो । बजेटका कारण समेत आफुहरूका केही सिमितता रहेको भन्दै अर्को कार्यशाला मार्फन पुन: पोखरामा आउने वाचा गरिन् ।

‘लगनका साथ सिक्नुभयो, सिकेको कुरालाई कापीमा मात्र नराख्नुहोला, कर्मथलोमा प्रयोग गर्नुहोला, हामीसँग बजेटका केही सिमितता थिए त्यसको कारण अझै लामो समय दिन सकेनौं । फेरि अर्को कार्याशाला मार्फत पुन: आउनेछौं’ उनले थपिन् ।

नाटकमा पिएचडी गरेका प्रा.डा. रामचन्द्र पोखरेलले नाटक सामुहिक कर्म भएको बताए । पछिल्लो ४० वर्षमा नेपालको नाट्य क्षेत्रले ठुलो फड्को मारेको उनको भनाई थियो ।

‘नाटक सामुहिक कर्म हो । सबै एउटैले सम्भव छैन । धेरै कुराको संयोजन भएर नाटक बल्ल नाटक जस्तो हुन्छ । पछिल्लो ४० वर्षमा नेपालको नाट्य क्षेत्रले ठुलो फड्को मारेको छ । महिला रंगकर्मीको आगमन बढेको छ’ उनले भने ।

रंगकर्मीले आफुमा निखारता थप्न धेरै अध्ययन गर्नुपर्ने उनको आग्रह थियो। यस्ता कार्यशाला देशभर आयोजना हुनुपर्ने बताएका उनले पछिल्लो समयमा पोखरा थिएटरले पोखराको रंगमञ्चलाई जगाउन सफल भएको बताए ।

रंगकर्मी अनुप बरालले समेत पोखरामा थिएटर सञ्चालन गर्नको लागि काम सुरु गरेको भन्दै नयाँ थिएटरको स्थापना पश्चात यो क्षेत्रमा थप आकर्षण थपिने उनको विश्वास थियो ।

कार्यशालाको सहजकर्ता समेत रहेका वरिष्ठ रंगकर्मी अनुप बरालले मञ्चमा देखिने लोभका कारण प्राविधिक पक्षलाई वास्ता नगर्ने गरिएको भन्दै त्यस्तो नगर्न सहभागीलाई आग्रह गरें । अभिनय मात्र नभएर प्राविधिक ज्ञान नाटकको महत्वपूर्ण पाटो भएको उनले बताए । निरन्तरको अभ्यासले निखारता थपिने बन्दै सहभागी सबैलाई सिकेको सिपलाई प्रयोग गर्न आग्रह गरें ।

‘मलाई पनि सुरुमा मञ्चमा देखिने लोभ हुन्थ्यो । तर, देखिने भन्दा नदेखिने कुरा झनै शक्तिशाली हुन्छ । प्राविधिक पक्षमा काम गर्न अल्छी गर्ने हाम्रो बानी छ। कार्यशालाले त्यसमा रुचि जगाएको छ, सामिप्यता पनि बढायो । सबैसँग सामर्थ्य छ । अभ्यास निरन्तर गर्नुहोस्’ उनको आग्रह थियो ।

पोखरा थिएटरका संस्थापक अध्यक्ष परिवर्तनले कार्यशाला आफ्नो लागि कामको मुल्याकंन गर्ने अवसर बनेको बताए । कार्यशाला मार्फत सिकेको ज्ञानले व्यवहारिक रुपमा कार्यक्षेत्रमा अगाडी बढ्न सहज हुने उनको विश्वास छ । थिएटर सञ्चाल गर्ने क्रममा प्राविधिक विषयको बारेमा धेरैं ज्ञान नभएपनि काम गर्दै जाँदा सिक्दै अगाडी बढेको खुलाए ।

‘यो कार्यशाला कामको मुल्यांकन गर्ने अवसर पनि बन्यो, नाटक मञ्चन गर्दा आउने प्राविधिक समस्यालाई अझ नजिकबाट बुझ्दै समाधान गर्ने विधिबारे थप ज्ञान लिन पायौं ‘उनले भने ।

पोखरा थिएटरका संस्थापक सदस्य समेत रहेका प्रशिक्षार्थी दीलप्रसाद गुरुङले प्रशिक्षण मार्फत नयाँ कुरा जान्ने अवसर पाएको बताए ।

‘कार्यशाला मार्फत कस्तो ध्वनि प्रयोग गर्ने,  नाटकलाई कसरी राम्रो र आकर्षक बनाउने मात्र नभएर नाट्यशास्त्र सम्बन्धी ज्ञान अनि नाटकमा प्रयोग गरिने प्रकाशको बारेमा समेत जान्ने मौका तथा गरिरहेका कामलाई मुल्याकंन गर्ने अवसर मिल्यो, यो निकै उपयोगी थियो हामी सबैको लागि’ उनले भने ।

प्रशिक्षार्थी अनुसा परियारले कार्यशाला महत्वपूर्ण भएको बताइन् । प्राविधिक रुपमा समेत केही काम गरिरहेको समयमा तालिमले त्यसलाई थप परिपक्क बनाउन सघाएको उनले खुलाइन् । सिकेको ज्ञानलाई कार्यक्षेत्रमा प्रयोग गर्ने उनको वाचा थियो ।

मंसिर २१ गतेबाट २८ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा सञ्चालन भएको गोष्ठीमा २० जना रंगकर्मी सहभागी भएका थिए ।

उनीहरुलाई ध्वनि सम्बन्धी देव न्यौपाने, नाट्यशास्त्र सम्बन्धी डा.आशावरी बापट र प्रकाश सम्बन्धी अनुप बरालले सहजीकरण गरें । कार्यशाला पोखरा थिएटरसंगको सहकार्यमा भएको हो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्