nepal ahile circle final NEW

रौतहटमा चोरीका घटना बढेपछि व्यापारीहरु चिन्तित, सुरक्षा माग

रौतहटमा चोरीका घटना बढेपछि व्यापारीहरु चिन्तित, सुरक्षा माग

रौतहट । रौतहटको कटहरिया तथा मौलापुर बजार क्षेत्रका पसलमा चोरीका घटना बढेका छन् । यसले गर्दा स्थानीय बासिन्दा तथा व्यवसायीहरु चिन्तित बनेका छन् ।

केही दिनअघि कटहरिया बजारमा रहेका चारवटा पसलमा चोरी भएको थियो । फेरि मौलापुरमा रहेको एक पसलमा चोरी भएको हो । मौलापुर नगरपालिका वडा नं. ५ मा रहेको लक्ष्मी ट्रेडर्स हब मोबाइलपसलमा १६ लाख बराबरको सामान तथा नगद चोरी भएको पसलका सञ्चालक धीरज पटेलले बताए ।

पसलको सटरमा लगाएको ताला फोडेर सामान चोरी भएको उनको भनाई छ ।

स्मार्ट फोन ३० थान, स्मार्ट एलईडी ४३ इन्च ६ थान, किप्याड मोबाइल ४० थान, राईस कुकर ५ थान, आइरन ४ थान, ल्यापटप १ थान, आईफोन १ थानलगायत सामान चोरिएको पटेलको दाबी छ ।

शनिबार बेलुका पसल बन्द गरेर घर गएको र आइतबार बिहान पसल खोल्दा चोरी भएको थाहा पाएको उनले बताए । इलाका प्रहरी कार्यालयदेखि २ सय मिटर टाढाको पसलमा चोरी भएको भन्दै आक्रोशित स्थानीय व्यापारीहरुले आइटी चोकमा विरोध प्रदर्शन समेत गरे ।

यसअघि कटहरिया बजारको हनुमानमन्दिर नजिक रहेको शिवशङ्कर साह तेलीको गल्लापसल, दिनेशप्रसाद जयसवाल र अवधप्रसाद जैसवालको पसलबाट नगद सहितका सामनहरु चोरी भएको थियो ।

घटनास्थल इलाका प्रहरी कार्यालयबाट नजिक भए पनि ढिलो गरी प्रहरी पुगेको भन्दै स्थानीय व्यापारी आक्रोशित भएका थिए ।

चोरी बढ्दै गएको भन्दै व्यवसायीले सुरक्षाको मागगर्दै प्रहरी प्रशासन र नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

मौलापुरमा भएको चोरीको घटनामा संलग्नलाई अविलम्ब पक्राउ गरी कारबाहीको दायरामा ल्याउन उनीहरूले माग गरेका छन् ।

कटहरियामा भएको चोरीको घटनामा संग्लन एक जनालाई पक्राउ गरिसकेको प्रहरीले दावी गरेको छ । पसलबाट सामन चोरी गरेर भाग्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय कटहरियाको गस्ति टोलीले कटहरिया नगरपालिका वडा नं. ५ बस्ने रामेश्वर राययादवलाई पक्राउ गरेको हो ।

उनको साथबाट करिब १५ हजार नगद र केही सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पछिल्लो समयमा भएको चोरीका घटनामा संलग्नहरुको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।

नीयले रात्रिकालिन समयमा सुरक्षा गस्ती बढाउन प्रहरी प्रशासनसंग माग समेत गरेका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्