कोइराला समूहको बैठक बस्दै

  • नेपाल अहिले
  • मंसिर २५, २०८०
कोइराला समूहको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिति समेत घोषणा भैसकेको महासमिति बैठक पर सार्ने तयारी गरेको बुझेपछि नेता शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् ।

सभापति देउवाले ‘पुसमा निकै चिसो हुने’ कारण देखाउँदै महासमिति बैठक सार्न खोज्नुले उनको नियतमै शंका देखिएको कोइराला समूहका एक नेताले बताए।

केन्द्रीय सदस्य मधु आचार्यले पूर्व निर्धारित महासमिति बैठक सार्नुपर्ने कुनै चित्तबुझ्दो कारण नरहेको बताए।

केन्द्रीय सदस्य आचार्यले भने, ‘पुसमा चिसो हुन्छ भन्ने कुरा महासमिति बैठकको मिति तोक्न बस्दा नै थाहा थियो, यो वर्षको पुसमा मात्र चिसो हुने त होइन होला’ भन्दै ‘पार्टीको विधानले नै तोकेका जिम्मेवारीहरु समयमै कार्यान्वयन गर्दै जानुको साटो पर सार्दै जाँदा संगठनमै शिथिलता आउनसक्छ’ भने।

नेता कोइरालाले भने राष्ट्रिय सभा सदस्यको निर्वाचन, महासमितिको बैठक र अरु राजनीतिक बिषयमा छलफल गर्न भोलि मंगलबार बैठक बोलाएका छन्।

यता सभापति देउवाले मंसिर २९ गते शुक्रबार बस्नेगरी केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन्। यही बैठकबाट महासमिति बैठकको नयाँ मिति तोक्ने देउवाको एजेन्डा रहेको थाहा भएको छ।

नेपाली कांग्रेसका प्रवक्ता तथा केन्द्रीय सदस्य मीन विश्वकर्माले पनि महासमिति बैठक ‘केही समय पछि सर्न सक्ने सम्भावना’ रहेको बताए।

नेता विश्वकर्माले   कुरा गर्दै,‘ मधेशका साथीहरुले शितलहरको समयमा महासमिति बैठक गर्दा समस्या हुने भनेर पूर्व निर्धारित मितिमा पुनर्विचार गर्न आग्रह गर्नुभएको छ, व्यवस्थापकीय तयारीमा समेत समय अपुग हुने देखिएको छ, त्यसैले महासमिति बैठकको मितिबारे पुनर्विचार हुनसक्ने सम्भावना छ’ भने।

सभापति देउवाले यही २९ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा निर्णय गर्न भोलि मंगलबार केन्द्रीय पदाधिकारीहरुको बैठक बोलाएका नेता विश्वकर्माले जानकारी दिए।

दुइ वर्ष अघि २०७८ मंसिरमा १४औं महाधिवेशन सम्पन्न भएपछि नियमित रुपमा महासमिति बैठक हुनुपर्नेमा सभापति देउवाको व्यक्तिगत चाहना अनुसार सर्दै आएको भन्दै उनको आलोचना हुँदै आएको छ।

© 2026 All Rights Reserved | Nepal Ahile Media