nepal ahile circle final NEW

चार हजार भन्दा बढी विद्यार्थीले हेरें ‘एक चिहान’, मञ्चन जारी

चार हजार भन्दा बढी विद्यार्थीले हेरें ‘एक चिहान’, मञ्चन जारी

राजाराम पौडेल, पोखरा । पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भैरहेको नाटक ‘एक चिहान’ ले विद्यार्थीको ध्यान तानेको छ । मंसिर ११ गतेबाट मञ्चन सुरु भएको नाटक यो समाचार सामाग्री तयार पार्दासम्म १८ ‘शोे’ मार्फत मञ्चन भैसकेको छ । ती ‘शो’ को माध्यमबाट ३५ विद्यालयका ४ हजार भन्दा बढी विद्यार्थीले नाटक हेरिसकेको पोखरा थिएटरले जनाएको छ ।

‘हामीले यसपाली अहिलेसम्म १८ शो नाटक मञ्चन गरिसक्यौ, यसरी नाटक मञ्चन गर्दा ३५ विद्यालयका ४ हजार भन्दा बढी विद्यार्थीले नाटक हेरिसक्नुभयो, अझै हेर्ने क्रम जारी छ’ पोखरा थिएटरका अध्यक्ष परिवर्तने नेपाल अहिलेलाई भने ।

नाटकघरमा पुगेर पहिलोपटक नाटक हेरेको बताउने फिस्टेल एकेडेमीका शिक्षक पवन शर्मा तिमिल्सिना यो नाटकले विद्यार्थीलाई शिक्षा र प्रेरणा दिएको बताउँछन् । सिनेमा हेर्दा भन्दा नाटक हेर्दा आनन्दको अनुभुती भएको भन्दै अब निरन्तर नाटक हेर्न उत्पेरित भएको समेत खुलाए ।

आफूलाई कलाप्रेमी भन्न रुचाउने के आर ढकालले नाटकको कथावस्तुलाई पूर्ण न्याय गर्दै निर्देशक तथा कलाकारले जिम्मेवारी निभाएको बताए । उनले कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई नाटक हेर्न आग्रह समेत गरें ।

इन्द्र राज्य लक्ष्मी माध्यमिक विद्यालय पोखरा १६ लामाचौरकी शिक्षिका सीता पौडेलले नाटक उत्कृष्ट लागेको बताइन् । नाटकलाई कलाकारको जीवन्त अभिनयले सुन्दर बनाएको उनको भनाई छ ।

माउण्ट अन्नपूर्ण स्कुलका शिक्षक कृष्ण लम्सालले कोर्षमा भएको पाठ्यसामाग्री भएकोले धेरैं कुरा जान्ने अवसर विद्यार्थीलाई मिल्ने बताए । सबै टीमको मेहनतका कारण नाटक सुन्दर बनेको भन्दै हेरेर ज्ञान र मनोरञ्जन लिन विद्यार्थीलाई उनको आग्रह छ ।

वार्सिलोनाबाट ११ औं पटक नेपाल आएकी मेरी पर्नाले दोस्रो पटक पोखरामा नाटक हेरेको भन्दै नाटक राम्रो लागेको प्रतिक्रिया दिइन् । शिक्षक समेत रहेको बताउने उनले पोखरामा यती राम्रो थिएटर रहेको भन्दै तारिफ समेत गरिन् ।

नाटक आगामी पौष ६ गतेसम्म  निरन्तर मञ्चन हुनेछ । बुकिङ ‘शो’ मार्फत हाल नाटक मञ्चन भैरहेको भएपनि हेर्न इच्छुकले व्यक्तिगत रुपमा ती ‘शो’ मा पुगेर नाटक हेर्न भने पाउनेछन् ।

‘एक चिहान’ साहित्यकार हृदय चन्द्र सिंह प्रधानले लेखेको उपन्यास हो । प्रधानको उपन्यास एक चिहान पाठ्यक्रम विकास केन्द्रद्धारा कक्षा ११ र १२ को अनिवार्य नेपालीमा समावेश गरिएको छ ।

नेपाली गरीब किसान र मजदुरको जीवनमा आधारित नाटक एक चिहान सामाजिक यथार्थबादी नाटक हो । गरिबी, वाध्यता र विवस्ताको परिवेशमा निम्न वर्गीय जीवनका जटिलता र संघर्ष प्रस्तुत भएको नाटकमा विशेष गरि नेवारी समुदायको पारिवारिक परिवेश देखाइएको छ । नेवारी पोशाक, नेवारी लवजले नाटकलाई परिपक्क बनाउन सघाएको छ ।

पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन भएको नाटकमा अष्टनारानको भूमिकामा जनक पराजुली, लतमायाको भूमिकामा रोशनी रामदाम, शिवनारानको भूमिकामा रविन्द मल्ल, हाकुमायाको भूमिकामा उमा पुन, पुननारानको भूमिकामा गोपाल भुसाल, सुन्तलीको भूमिकामा रञ्जु दाहाल, हर्षनारानको भूमिकामा सुसन पौडेल तथा मिलन श्रेष्ठ, नानीथकुंको भूमिकामा दिप्सना विश्वकर्माले अभिनय गरेका छन् ।

यसैगरी रत्नमानको भूमिकामा धनकाजी श्रेष्ठ, रामखेलावन रावतको भूमिकामा प्रतिक घिमिरे, गोदत्तप्रसादको भूमिकामा शुशिल बराल, गुठियारको भूमिकामा प्रतिक घिमिरे, रोहित पौडेल, प्रथम श्रेष्ठ, रामबहादुरको भूमिकामा धनकाजी श्रेष्ठ, रमेशबाबु तिमल्सिना, रञ्जनादेवीको भूमिकामा सोनिया कार्की खत्री, तामाङ बुहारीको भूमिकामा अनुषा परियार, बिरामीको भूमिकामा प्रतिक घिमिरे, बिरामीका आफन्तको भूमिकामा रोहित पौडेल तथा प्रथम श्रेष्ठको अभिनय हेर्न पाइन्छ ।

नाटक हेर्दा दर्शकलाई कुनै समय हसाउँछ, कुनै समय गम्भिर बनाउँछ भने कुनै समय रुवाउँछ पनि ।

उपन्यास एक चिहानलाई नाट्य रुपान्तरण तथा निर्देशन परिवर्तनले गरेका छन् । सह–निर्देशन अञ्जु दाहालले गरेको नाटकमा हरिदेवी कोइरालाको असारे गीत समेत समावेश छ ।

बुकिङ शो मार्फत विद्यार्थीलाई अनुकुल हुने गरेर नाटक मञ्चन भैरहेको पोखरा थिएटरले जनाएको छ । नाटक झण्डै १ डेढ घण्टा अवधिको रहेको छ ।

नाटक मञ्चन व्यवस्थित बनाउन वेषभूषामा रोशनी रामदाम, प्रकाश परिचालनमा रमेशबाबु तिमल्सिना, मिलन श्रेष्ठ, सुसन पौडेल, ध्वनी परिचालनमा अनुशा परियार, रञ्जु दाहाल, रोहित पौडेल, लेखामा शुभेच्छा शर्मा, पोस्टर डिजाइनमा अनिशा खरेल, प्रचार प्रसारमा प्रथम श्रेष्ठ, मञ्च निर्माणमा शुशिल बराल, जनक पराजुली, रविन्द्र मल्ल, गोपाल भुषाल मञ्च सामाग्रीमा दिप्शना विश्वकर्मा, उमा पुन, भान्छा प्रबन्धकमा सोनिया कार्की खत्री, बजार व्यवस्थापनमा प्रकाश पराजुली, मञ्च प्रबन्धकमा रहेर धनकाजी श्रेष्ठले सघाएका छन् ।

यो नाटकप्रति विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारको आर्कषण रहेको पोखरा थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले बताए । चार वर्ष अगाडि पोखरा थिएटरमा नियमित सो तथा बुकिङ सो मार्फत मञ्चन गरिएको यो नाटकलाई नवलपुरमा समेत मञ्चन गरिएको थियो ।

नाटक एक चिहान पहिला र अहिले समेत गरेर हेर्न दर्शकको संख्या ४० हजार नाघिसकेको थिएटरको दावी छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्