nepal ahile circle final NEW

कार्यपालिका बैठक बस्न नसक्दा फतुवा विजयपुर नगर सभा अन्योलमा

कार्यपालिका बैठक बस्न नसक्दा फतुवा विजयपुर नगर सभा अन्योलमा

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाको कार्यपालिका बैठक बस्न नसक्दा नगर सभा अन्योलमा परेको छ । नेपाली कांग्रेसमा आबद्ध जनप्रतिनिधि अनुपस्थित भएपछि दोस्रो पटक नगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको हो ।

नगरसभाको मिति तोक्न बुधबार बस्ने भनिएको कार्यपालिकाको बैठकमा गणपूरक संख्या नपुगेपछि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताए ।

नगरसभा हुन नसक्दा नगरपालिकाका हरेक काम प्रभावित भएको छ ।

कांग्रेस समर्थित १५ जना कार्यपालिका सदस्य अनुपस्थित भएको जनाइएको छ । फतुवा विजयपुर नगरपालिकामा नेपाली कांग्रेस पार्टीका मेयर, उपमेयर, ७ जना वडाध्यक्ष र ८ जना मनोनीत गरी १७ जना र अन्य दलका ४ जना वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत गरी कुल २१ जना नगर कार्यपालिका बोर्डका सदस्य छन् ।

कांग्रेस पार्टीका निर्वाचित ७ जना वडा अध्यक्ष र ८ जना कार्यपालिका सदस्य अनुपस्थित भएको फतुवा विजयपुर वडा ९ का अध्यक्ष पप्पु भन्ने राकेशकुमार यादवले बताए ।

असार १० गते नगर सभा गर्न नगरपालिकाले सम्पूर्ण तयारी गरे पनि कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुको अडानको कारण हुन नसकेको उनको भनाई छ । यसअघि प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर पालिकामा जनप्रनितिधि बीच नै विवाद भएको उनले बताए ।

नगरसभा नभएका कारण फतुवा विजयपुरको शिक्षक कर्मचारीसहित ३५० भन्दा बढीले यस आर्थिक वर्षमा तलब पाएका छैनन् भने पालिकाको आर्थिक कारोबार ठप्प हुँदा विकास निर्माणको काम प्रभावित भएको छ ।

लालबकैया नदीको टेण्डरमा तत्कालीन मेयर गोपाल राय यादवलाई दोषी ठहर गर्दै विशेष अदालतले तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिबाना गरेपछि उपमेयर खातुनले कार्यवाहकको जिम्मेवारी पाएका थिए ।

कार्यवाहक मेयर अम्बेया खातुन पनि कांग्रेस पार्टीको भएपनि कांग्रेसका कुनै प्रतिनिधिसँग सल्लाह नगरी एकोहोरो बैठक राखेका कारण बहिष्कार गरेको उनीहरुको आरोप छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्