nepal ahile circle final NEW

एमाले अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्ग अन्तरगत कास्कीको विवाद प्रत्यक्ष बुझ्ने

एमाले अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्ग अन्तरगत कास्कीको विवाद प्रत्यक्ष बुझ्ने

राजाराम पौडेल, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्ग अन्तरगत कास्की जिल्लामा देखिएको विवादको बारेमा बुझ्ने भएका छन् । एमालेले सञ्चालन गरेको ‘बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पयात्रा’को क्रममा मंसिर २१ गते यात्राको टोली सहित अध्यक्ष ओली कास्की आउनेछन् । सोही क्रममा ओलीले कास्कीमा देखिएको विवादको बारेमा बुझ्ने र समाधानको लागि पहल गर्ने एमाले कास्कीले जनाएको छ ।

एमाले कास्कीले मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर संकल्पयात्राको क्रममा कास्कीमा गरिने गतिविधिको बारेमा जानकारी गराएको थियो । खासगरी मध्यपहाडी लोकमार्ग अन्तरगत कास्कीको याम्दीदेखि अर्मलासम्म विवाद रहेको छ । संघर्ष समितिनै गठन गरेर स्थानीयले लामो समयदेखि आन्दोलन गरिरहेका छन् । अब संघर्ष समितिले चाहेमा यो विषयमा उनीहरुले एमाले अध्यक्ष ओलीसँग कुरा राख्न पाउने भएका हुन् ।

त्यसोत कास्की एमालेले अध्यक्ष ओलीलाई मंसिर २१ गते कास्कीको नयाँ पुलमा स्वागत गर्ने र अन्नपूर्ण गाउँपालिका नागडाँडामा स्वागत र भेटघाट गर्ने कार्यक्रम तय गरेको छ । ओलीले सोही दिन साढे ४ बजे हेम्जामा सम्बोधन समेत गर्नेछन् । त्यसपछि पोखरामा बस्ने ओलीले यहाँ रहदाँ विभिन्न क्षेत्रका व्यक्तिसँग भेटघाट र छलफल गर्नेछन् ।

मंसिर २२ गते बिहान साढे सात बजे जिरोकिमीबाट ओली सहितको टोली अगाडि बढ्नेछ, सो टोलाीलाई पोखराको अम्मरसिंहचोकमा स्वागत गरिनेछ भने बिहान ९ बजे तालचोक पुगेर पुनः ओलीले सम्बोधन गर्नेछन् । रुपा गाउँपालिकाले तालबेसीमा स्वागत गरेपश्चात टोलीलाई रुपाको पिपलेबजारबाट विदाई गरिनेछ। त्यसपछि टोली लमजुङ तर्फ लाग्नेछ ।

एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङले पत्रकार सम्मेलनमा बोल्दै पोखरा बसाइँका क्रममा अध्यक्ष ओलीसँग संवाद गर्न र गुनासो सुनाउन पाइने व्यवस्था मिलाइने खुलाए ।

‘संवाद र गुनासो सुनाउन पाइने छ । कृषि बैज्ञानिक, सामाजिक अभियान्ता लगायत छनोट गरेर बेलुका ९ बजेबाट बिहान साढे ७ बजे भन्दा अगाडि होटलमानै व्यवस्था गर्नेछौ, चाहनुभयो भने मध्यपहाडी लोकमार्गको विषयमा कास्कीमा आन्दोलन गरिरहनुभएकालाई समेत भेट्ने र कुरा राख्ने अवस्था सिर्जना गर्नेछौं’ उनले भने ।

गुरुङले मध्यपहाडी लोकमार्गको पोखरा २५ याम्दीपूलदेखि पोखरा १६ हुँदै पोखरा २० अर्मलासम्म बाटो छिचोल्न समस्या भएको खुलाए । मादी गाउँपालिकाको भैंसेबाट मुरीबेसी हुँदै लमजुङ जानेबाटोमा मादी नदी भएको कारण केही समस्या भएको उनको भनाइ छ।

कास्की अध्यक्ष गुरुङले कास्कीमा देखिएको विवाद समाधान गर्न सक्ने खालको रहेको बताए । लोकमार्ग अन्तरगतका अन्य ठाउँमा केही सामान्य विवाद भएपनि कास्कीको जस्तो अवस्था नभएको बताए । विकासको नाममा राज्यले कुनै व्यक्तिलाई सुकुम्बासी नबनाउने उनले स्पष्ट पारें ।

‘अहिले जती समस्या छ पोखरा महानगरपालिका वडा नं.१६ मा छ । तर, त्यो समस्यापनि हामीले जटिल बनाएको हो भन्ने लाग्छ । विकासको नाममा राज्यले कुनै व्यक्तिलाई सुकुम्बासी बनाउँदैन । केही न केही सम्बोधन गर्छ । घर जान्छ भत्काउनु पर्छ भने ठुलो समस्या छ भने राज्यले सम्बोधन गर्छ’ उनले भने ।

सम्झौता भएर ट्रेण्डरमा गइसकेको विषयलाई राजनीतिक दाउपेचको आधारमा तोडमोड गर्न खोज्न नहुने उनले सुनाए ।

‘सम्झौता भैसकेको छ, टेण्डरमा गैसकेको छ सम्झौता परिवर्तन गर्छु भनेर नेताले बोल्ने कुरा मिठो हुँदैन, सर्भे गरेर टेण्डरमा गइसकेको बाटोलाई अर्को वैकल्पिक बाटो दिन्छु भन्ने कोही नेताको भनाई छ भने त्यो नितान्त व्यक्तिगत विचार हो । प्रक्रिया र विधिले यो दिन्न भन्ने मलाई लाग्छ’ उनले थपे ।

कास्कीको समस्या यहाँका नेता र जनताले हल गर्नुपर्ने उनको भनाई छ । यहाँका जनतालाई समस्या नपर्ने गरी कम भन्दा कम क्षतिमा काम गर्न सकिने उनको दावी छ ।

एमाले अध्यक्ष ओलीले यो मार्गमा रहेका सुझाब सुन्ने र देखिएका समस्याको विधिसम्वत समाधान गर्ने गुरुङले खुलाए । ‘आन्दोलनकारीको कुरा सुन्न, बुझ्न तथा विधिसम्वत समाधान गर्नको लागि यात्रा भएको हो’ उनले भने । सकारात्मक तरिकाले जनताको समस्या सम्बोधन गर्न सत्तामा बसिरहनु नपर्ने उनको तर्क छ ।

पत्रकार सम्मेलनमा बोल्दै एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले देशमा संविधान विरोधी गतिविधि भैरहदा सरकारले प्रतिवाद गर्न नसकेकोमा आक्रोश व्यक्त गरें ।

सरकार परिवर्तनप्रति एमालेको ध्यान केन्द्रीत नभएको उनको दावी छ । तर, पाँच वर्षसम्म यो सरकार गए देश अस्तव्यस्त बन्ने उनको भनाई छ ।
‘विचार, दृष्टिकोण र संविधानवादसँग हाम्रो चासो छ । पाँच वर्ष यो गठबन्धन जाने हो भने लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्रमा मात्र होइन, हाम्रा आमाको छातिमा धेरैं परेट खेल्ने सम्भावना छ । त्यो कुरा बुझेरनै यो महान् अभियान सञ्चालन गरेका छौं । अहिले हामी समसामयीक राजनीतिका पक्षमा सकारात्मक दृष्टिकोणहरु अगाडि बढुन् भन्ने पक्षमा छौं’ उनले भने ।

एमाले स्थायी कमिटी सदस्य एवं कास्की जिल्ला इन्चार्ज थममाया थापाले संकल्पयात्रामा जनताको व्यापक सहभागीता रहेको बताइन् । गणतन्त्रलाई असफल पार्न भइरहेका गतिविधिलाई चिर्नको लागि यात्रा गरिएको उनको दावी छ । पहाडको विकास नभएसम्म सिंगो देशको विकास हुन नसक्ने भएको कारण समेत यात्राले महत्व राख्ने उनको भनाई छ ।

एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एमाले कास्कीका उपसचिव एवं प्रचार विभाग प्रमुख दर्शन लामाले गरेका थिए । संकल्पयात्रा अन्तरगत कास्कीमा हुने कार्यक्रमलाई भव्य बनाउन व्यापक तयारी भैरहेको प्रचार विभाग प्रमुख लामाले जनाए । त्यसकाे लागि यहाँ रहेका नेतालाई कार्यक्षेत्र बाँडफाँड समेत गरिएको छ ।

२६ वटा जिल्ला र २ सय १५ वटा बस्तिसम्म फैलिएको मध्यपहाडी लोकमार्ग ०६९–०७० सालमा राष्ट्रिय गौरवको आयोजना घोषणा भएको थियो । राजमार्ग अन्तरगत हालसम्म ७२ प्रतिशत भन्दा बढी काम सम्पन्न भैसकेको छ । एमालेले मंसिर १४ गतेदेखि लोकमार्गमा संकल्प यात्रा सुरु गरेको हो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्