भूकम्प प्रभावितको आवास निर्माणमा तीव्रता दिन कांग्रेसको ध्यानाकर्षण

  • नेपाल अहिले
  • मंसिर १३, २०८०
भूकम्प प्रभावितको आवास निर्माणमा तीव्रता दिन कांग्रेसको ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले जाजरकोट र रुकुमका भूकम्प प्रभावितको अस्थायी आवास निर्माणलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज भएको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले सरकारको ध्यानाकर्षण गराएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘बैठकमा जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट प्रभावितहरुको अस्थायी आवास निर्माण सम्बन्धमा के कस्तो काम भइरहेको छ र सरकारले दिने अस्थायी आवास निमार्णका लागि दिने रकम पुग्यो पुगेन यसबारेमा रक्षामन्त्री र अर्थमन्त्रीसँग जानकारी लिने काम भयो । रकम पुगे पनि स्थानीय तहमा र पीडितका हातमा नपरेको कुरामा गम्भीर भएका छौ छिट्टै नै पठाउँछौ भन्ने कुराको जानकारी आएको छ ।’

यस्तै, सरकारले अस्थायी आवास निर्माणको लागि दिने भनिएको ५० हजार एकैपटक दिन सरकारसँग कांग्रेसले माग गरेको पनि उनले बताए ।

उनले भने, ‘पार्टीको तर्फबाट त्यो रकम दुई किस्तामा दिने भनिएकोमा जम्मा ५० हजार रुपैयाँ पैसा दिने, त्यो पनि दूरदराजमा छ, यसलाई व्यवहारिक कठिनाइ हुन सक्छ । त्यसैले ५० हजार एकैपटक दिनुपर्छ भन्ने पार्टीको तर्फबाट मन्त्रीहरुलाई सुझाव राखिएको छ ।’

पार्टीको महासमितिको बैठक पुस १६ र १९ गते हुने जानकारी दिँदै उनले मुलुकमा अहिले देखिएको राजनीतिक तरलतामा पार्टीको तर्फबाट सबै विषयलाई जवाफ दिने हिसाबमा महासमितिको बैठक सम्पन्न गरिने बताए ।

 

 

 

© 2026 All Rights Reserved | Nepal Ahile Media