nepal ahile circle final NEW

जोखिम बढेपछि रौतहटमा सडक किनारबाट माटो झिक्न प्रतिबन्ध

जोखिम बढेपछि रौतहटमा सडक किनारबाट माटो झिक्न प्रतिबन्ध

रौतहट । रौतहटको गौर नगरपालिकाले सडकको किनारमा माटो खनेर झिक्न प्रतिबन्ध लगाएको छ । पालिकाभित्र सडक निर्माणका लागि भन्दै निर्माण कम्पनीले जथाभावी माटो खन्ने र झिक्ने गरेको पाइएपछि पालिकाले त्यसमा रोक लगाएको हो ।

विगतमा सडक निर्माणका क्रममा ठेकेदार कम्पनीले सडक छेउका माटो कटान गरी प्रयोग गर्ने गरेकाले सडकको सौन्दर्य गुमेको र ठाउँ ठाउँमा मानवीय र भौतिक क्षति हुने गरेको पाइएपछि नगरभित्र प्रतिबन्ध गरिएको नगर प्रमुख शम्भु साहले जानकारी दिए ।

उनले भने, ‘बर्षातको समयमा खाल्डोमा पानी जम्ने र बालबालिकाको ज्यान समेत जाने गरेको घटना भएकाले यस्ता कार्य नगर्न भनेका हौं । अबदेखि नगरभरि सडक निर्माण गर्दा ठेकेदार र निर्माण कम्पनीले सडकको छेउबाट माटो काट्न पाउने छैनन् ।’

सडक तथा पूल निर्माण गर्नका लागि कम्पनीको लागत तथा इष्टिमेटमा माटोको लागि छुट्टै रकमको व्यवस्था गरिएको भए पनि ठेकेदारहरुले आफ्नो स्वार्थ र सुविधाका लागि सडकको किनारबाट जथाभावी मोटो खनेर प्रयोग गर्दा स्थानीयलाई समेत समस्या भएको शाहले बताए ।

सडक किनार नजिकको खेतबाट माटो झिक्न थालेपछि अन्न उत्पादनमा समेत असर परेको स्थानीय कृषक बताँउछन् ।

कृषि उत्पादनमा असर पर्नुका साथै जोखिम समेत भएकाले खाल्डो खन्ने प्रवृत्ति रोक्नका लागि नगरपालिका तथा सरोकारवाला निकायसँग स्थानीयले आग्रह गरेका थिए ।

सडक छेउमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर बर्षेनी बालबालिकाको ज्यान जाने गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

नगरपालिकाको सो निर्णयले जोखिम कम हुने प्रशासन र स्थानीयको विश्वास छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्