nepal ahile circle final NEW

सरकारको प्राथमिकतामा परेन पोखराको क्रिकेट मैदान

सरकारको प्राथमिकतामा परेन पोखराको क्रिकेट मैदान

पोखरा । पोखराको क्रिकेट मैदान राष्ट्रिय स्तरमा मात्र हैन अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चामा छ । मनोरम दृश्यका कारण उत्कृष्ट क्रिकेट खेल स्थल बन्न सक्ने चर्चा यसै मैदानलाई लिएर बेला-बेलामा  हुने गर्छ । पछिल्लो समय यही मैदानमा खिचिएका तस्बिरहरूले विश्वभर चर्चा समेत बटुलेका छन् । यस मैदानमा क्रिकेट खेल्दा   पृष्ठभूमिमा देखिने अन्नपूर्ण हिमश्रृखला कै कारण यहाँ हुने हरेक प्रतियोगिताले सबैको मन जित्ने गरेको छ । तर, विश्वमा चर्चा बटुलिसकेको यो मैदानमा सरकारको नजर भने कहिल्यै पर्न सकेन ।

बिहीबारबाट पोखरा क्रिकेट मैदानमा ‘प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता २०८०’ सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गदै पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले क्रिकेट र क्रिकेट मैदानको  चर्चा गर्ने प्रयत्न गरे ।  रंगशालाको फुटबल स्टेडियम आफूले बनाएको दाबी गरेका ओलीले उपयुक्त समय आएपछि पोखरा रंगशालामा क्रिकेटको स्टेडियम बनाइदिने आश्वासन भने दिन बाँकी राखेनन् । यसरी बेलाबखतमा प्रतियोगिताको दौरानमा मैदानमा झुल्किने दलका नेता तथा सरकारकै  प्रतिनिधिले समेत  यहाँको  क्रिकेटको विकासका लागि गम्भीर ढंगले चिन्तन गरेको आभास भने पोखरेलीले कहिले पनि गर्न पाएनन् ।

यति बेला मदन भण्डारी स्पोर्टस् एकेडेमीले  मैदानको महत्त्व बुझेर पोखरामा क्रिकेट प्रतियोगिता आयोजना गरेको बताउँछ । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले  देशका अन्य स्थानमा प्रतियोगिता गर्न सकिने विषयमा छलफल भए पनि पोखराको मैदान कै  कारण प्रतियोगिता यहाँ गर्न प्रेरित गरेको नेपाल अहिलेलाई  बताए ।

डिपिआर बन्यो, बनेन क्रिकेट स्टेडियम

एक अर्ब ६२ करोड लागत अनुमान सहित २०७२ सालमा पोखरा क्रिकेट मैदानको डिपिआर बने पनि त्यस अनुसार कहिल्यै बजेट विनियोजन भएन । राष्ट्रिय खेलकुद परिषद्ले मोटै रकम खर्चेर डिपिआर बनाउन जति हतारो गरे पनि डिपिआर कार्यान्वयनमा भने सत प्रतिशत व्यवास्ता गरेको क्रिकेटका अगुवाको गुनासो छ । राखेपले पोखरामा क्रिकेट स्टेडियम बनाउन चासो नदिएको क्रिकेट संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देल बताउँछन् ।

यस क्रिकेट स्टेडियमका लागि चार वर्षसम्म बजेट विनियोजन गर्दा दुई/दुई करोड रकम छुट्टिए पनि टेण्डर प्रक्रियामा भने  कहिल्यै अघि  बढेन । बर्षेनी बजेट फ्रिज हुँदै आइरहेको अवस्थामा गत  आर्थिक वर्षमा राखेपले पहिलो पटक पोखरा क्रिकेट मैदानका लागि टेण्डर आव्हान गर्‍यो । तर, त्यो पनि हात्तीको मुखमा जिरा भने झैँ १ करोड ५० लाख  रुपैयाँ मात्र ।

राखेपले  भिआइपी ब्लक बनाउने भनेर गत वर्षको बजेटबाट १ करोड २८ लाख ५० हजारको ठेक्कामा लगाएको छ । गएको जेठ, २४ मा भिआइपी ब्लक निर्माणका लागि ठेक्का लागेको थियो । यही मंसिरमा सक्ने गरी अटुट इन्जिनियरिङले ठेक्का पाए पनि ठेकेदारले भर्खर मात्र जगको काम सुरु गरेको छ । मैदानको दक्षिण तर्फ ५५८ स्क्वायर मिटरमा भिआइपी ब्लक बनाउन लागिएको छ । ९ मिटर अग्लो संरचनामा खेलाडीका लागि चेन्जीङ रुम र प्याराफिट सहितको भिआइपी कक्ष बन्ने राखेपका कर्मचारी एवं साइट इन्जिनियर अनिल अधिकारीले जानकारी दिए । अघिल्लो वर्षको योजनामा बल्ल कामको थालनी भएता पनि  चालु आर्थिक वर्षमा भने मैदानको नाममा अतिरिक्त एक पैसा बजेट पनि परेको छैन ।

डिपिआरको २०७४ सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पुनर्मुल्याङ्कन गर्दा एक अर्ब ८५ करोड ९५ लाख लागत अनुमान गरिएको थियो । उक्त डिपिआर अनुसार काम भए पनि अहिले मूल्य वृद्धिले लागत २ अर्ब नाघिसक्यो । तर, डिपिआर अनुसार काम गर्ने योजना सरकारसँग छैन ।

क्रिकेटबाट पोखरालाई खेल पर्यटनको हब बनाउने सपना

यही मैदानमा फोटो पत्रकार सुदर्शन रञ्जितले खिचेको फोटो एसियन क्रिकेट काउन्सिल(एसिसी) को फोटो अफ दि इयरबाट पुरस्कृत समेत भयो । पोखरा प्रिमियर लिग (पीपीएल)को दुई संस्करणले अझै पोखराको क्रिकेट मैदानको चर्चा चुलिएको थियो । हरियो क्रिकेट मैदानमा बल र ब्याटसँगै दृश्यमा कैद हुने अन्नपूर्ण हिमश्रृखला सहितको पोखरा क्रिकेट मैदान सरकारी बजेटमा भने विमुख हुँदै आएको छ ।

क्रिकेटका अन्तर्राष्ट्रिय संस्थाले समेत यो क्रिकेट मैदान बनाउन चासो दिएको क्रिकेट संघका पदाधिकारी बताउँछन् । तर, खेलकुद क्षेत्रको नेतृत्वले नै महत्त्व नदिँदा व्यवस्थित क्रिकेट स्टेडियम र एकेडेमी बनाउने सपनामा  तुसारापात भएको उनीहरूको भनाई छ ।

क्यानका पूर्व केन्द्रीय सदस्य ऋषिराम गौतम पोखरालाई राखेपले प्राथमिकतामा नराखेको बत्ताउँछन् । ‘हामी विगत १० /१५ वर्ष देखि  यो विषयमा लडिरहेका छौँ । तर, राष्ट्रिय खेलकुद परिषद्को प्राथमिकतामा यो ग्राउण्ड कहिल्यै पर्न सकेन । अहिले पनि गौरवका तीन आयोजना थप हुँदा पोखराको रंगशाला छुट्यो,छुटाइयो । किन कि  पोखराको राजनीतिक पहुँच केन्द्रसम्म पुगेन,’ गौतमले भने ।

विगतमा  पटक-पटक बजेट फ्रिज भएको उल्लेख गर्दै उनले  अघिल्लो वर्ष टेण्डर भएर सम्झौता भएर अहिले बल्ल काम सुरु भएको भए पनि त्यो काम ग्राउण्ड लेबलसम्म मात्र हुने र  त्यहाँ भन्दा माथि नआउने उनको तर्क छ  ।

अघिल्लो वर्ष डेढ करोड रुपैयाँ छुट्टाएर ठेक्का लगाएको भए पनि यो वर्ष सोही बराबर बजेट विनियोजन गर्दै अहिलेको  बजेटबाट मात्र  काम गर्ने गरी राखेप लाग्दा आफूहरूलाई दुःख लागेको गौतमले बताए ।

‘हाम्रो ग्राउण्ड मेन्टेनेन्सका लागि अलिकति खर्च गर्नुपर्ने छ, लेबलिङको लागि । दुई वटा साइड स्क्रिन बिग्रेको छ, त्यसलाई मर्मत संहार गर्नुपर्ने छ । ट्वाइलेट, चेन्जिङ रुम, अफिसियल रुम, टेक्निकल रुम यी चिजहरू भयो भने हामीलाई प्याराफिट अहिले नै चाहिन्छ भन्ने छैन । तर, यति सानो कुरामा पनि सम्बन्धित पक्षले चासो नदेखाउँदा  मन अमिलो हुँदो रछ,’ गौतमले भने । पोखरामा क्रिकेट  स्टेडियम बनाउने तयारी नदेखिएको गौतमको गुनासो छ ।

पोखराको मैदानलाई लिएर आइसिसीले समेत चासो देखाउने गरेको र बाहिर देशमा आफूहरू जाँदा पोखराको मैदानको बारेमा सोधखोज हुने गरेको क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जय कान्त सिग्देल बताउँछन् ।

‘पोखरामा पीपीएल भयो, त्यत्तिखेर व्याकग्राउण्डमा हिमाल राखेर गेमहरू खेलियो । जुन बेलामा काठमाडौँको मैदानमा एक सय २० रन हुन पनि गार्‍हो थियो, त्यति बेला पोखरामा एक सय ७०–८० रन सम्म चेस हुँदा सबैको ध्यान पोखराले आकर्षित गर्‍यो । आइसिसीले पनि यसलाई प्लकिङ गर्‍यो,’ अध्यक्ष सिग्देलले भने,’ नेपालमा हामीले क्याम्प लगायौँ, त्यही दौरान मलेसिया यहाँ आएर खेल्यो । त्यस्तै गरेर साख गेम हामीले गर्‍यौ, एमसिसी लगातार आइरहन्छ, पछिल्लो चरण ओमन र थाइल्यान्ड पोखरा आएर लालायित भएका देखिन्थेँ ।’

नेपालले सन् २०२७ मा गर्न लागेको १९ वर्ष मुनिको महिला वर्ल्ड कप कोर्षमा काठमाडौँ पछिको दोस्रो गन्तव्यको रूपमा वर्ल्ड कप होस्ट गर्ने पोखरा बन्ने गरी मिसनको रूपमा पोखरा जानुपर्छ भन्ने अभियानमा आफूहरू रहेको उनको भनाइ छ ।

काठमाडौँको मुलपानी र टी यु मैदानमा धेरै ठुलो नभए पनि आइसिसीका मान्यता प्राप्त मैदान भएका कारण त्यहीँ लेबलको इन्फ्रास्टक्चर बनाउन सक्यो भने पोखराको पनि दावा माथि पर्ने उनी बताउँछन् ।

घुम्नको लागि पर्फेक्ट ठाउँ पोखरा, पर्यटन स्पोर्टस् जोड्ने माध्यम बन्न सक्ने सिग्देलको दाबी छ । पोखरा आएर खेल्ने इच्छा सबैको रहेको बताउँदै उनले २०२५ को अन्त्यमा आइसिसीको टिम यहाँ इन्फ्रास्टक्चर हेर्नका लागि आउने समयसम्म पोखराले तयारी पुरा गर्न सकेमा क्रिकेटका लागि र पोखराका लागि धेरै हितकारी हुने बताए ।

‘प्रदेश सरकारले र अहिले भएको मैदानका लागि राखेपले सुरु गरेको निर्माणलाई निरन्तरता दिन सक्यो र ड्रेन, खेलाडी पेभिलियन सँगै थोरै आउटफिलमा काम गर्न पायो भने पोखरा एउटा पर्फेक्ट डेस्टिनेसन हुनसक्छ,’ सिग्देलले भने ।

राष्ट्रिय टिमका पूर्व खेलाडी शक्ति गौचन पोखरा क्रिकेट मैदान वर्ल्ड कै उत्कृष्ट गन्तव्य बन्न सक्ने बताउँछन् । ‘नेपाल भनेपछि, नेपालमा पनि पोखरा भनेपछि वान अफ द व्युटिफुल सिनारियो छ । क्रिकेट खेल्ने वातावरण प्लस मौसम प्लस प्राकृतिक सौन्दर्य छ । सायदै अरू कन्ट्रीमा यस्तो देखिन्छ होला,’ गौचनले यहाँको सौन्दर्यताको बखान गर्दै भने ।

पोखरा क्रिकेट मैदानमा अहिले आउट फिल्ड र विकेट मात्र व्यवस्थित रहेको उल्लेख गर्दै उनले खेलाडीका लागि चाहिने चेन्जिङ रुम, अम्पायर र अफिसियलको चेन्जिङ रुम, मिडिया सेन्टर लगायतका पूर्वाधार खडा गर्दै प्याराफिट सम्मको संरचनाको यात्रामा पोखरा अघि बढ्नुपर्ने उनको भनाइ छ ।

‘हाम्रो पछाडि माछापुच्छ्रे छ, हरियो ग्राउण्ड छ, यस्तो अभूतपूर्व स्थानमा पूर्वाधारको कमी देखिएको छ । मलाई लाग्छ भविष्यमा सरकार र संघले समन्वय गरेर अघि बढ्न सक्यो भने पोखरा क्रिकेटका लागि वर्ल्डको नै उत्कृष्ट गन्तव्य बन्न सक्छ,’ गौचनले भने।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्