nepal ahile circle final NEW

ऐतिहासिक गोल्म दरबार क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरिने

ऐतिहासिक गोल्म दरबार क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरिने

मनोजकुमार साह,रौतहट । बुद्ध धर्मालम्वीहरुको आस्थाको केन्द्र मानिएको गोल्म दरबार चन्द्रपुरमा विभिन्न धार्मिक संरचना निर्माण गरिने भएको छ । यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने पहल थालिएको छ ।

चन्द्रपुर नगरपालिका–१ मा रहेको गोल्म दरबार करिब पाँच सय बर्ष पुरानो भएको मानिन्छ । सो दरबार अहिले भग्नावशेषका रुपमा रहेकाले त्यसलाई पुनःनिर्माण गरी धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको हो ।

गुल्म राजा वुद्धविहारका सुबनास्तीका अध्यक्षभिक्षु मेदङ्गलले यस स्थानलाई धार्मिक एवं सांस्कृतिक रुपमा विकास गरी पर्यटक भित्राउने लक्ष्य राखेको बताए ।

यस क्षेत्रमा रहेको दरबार ऐतिहासिक र पुरातात्विक महत्वको रहेको उनको भनाई छ । यो दरबार क्षेत्र एकीकरण अघिको बाइसे, चौबीसे राज्य भएको समयको हुन सक्ने अनुमान गरिएको उनले बताए ।

उनका अनुसार विभिन्न अध्ययन र तथ्यले यस क्षेत्र (टुँडिखेल) सेन बंशीय राज्य भएको समयको पुष्टि गर्दछ । यस पुरातात्विक क्षेत्र र दरबारको संरक्षण गरी धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने भिक्षु मेदङ्गलले बताए ।

यहाँ ध्यान योग केन्द्र बनाइने जानकारी दिंदै उनले यस क्षेत्रमा रहेको वनलाई संरक्षण गर्ने गरी ध्यान साधना स्थल बनाउने योजना रहेको जानकारी दिए ।

ऐतिहासिक, धार्मिक र सास्कृतिक रुपले महत्वपूर्ण रहेको यस स्थानको टुँडिखेललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने गुल्म राजावुद्धविहार समिति चन्द्रपुरले जनाएको छ ।

धार्मिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्य राखिएकाले यसले विशेषगरी यहाँका बासिन्दाको आय आर्जन र उन्नति हुने समितिको बुझाई छ । यस क्षेत्रमा थाइल्याण्डका राजाबाट प्राप्त उपहार भगवान् गौतम बुद्धको मूर्ति पनि स्थापना गरिने भएको छ ।

साढे ९ फिटको बैरी विनाश भगवान बुद्धको मूर्ति मंसिर १० गते स्थापना गरिने समितिले जानकारी दिएको छ । उक्त मूर्ति दुई करोड रुपैयाँ पर्ने जनाइएको छ ।

सो क्षेत्रमा संघीय सांसद देवप्रसाद तिमल्सिना तथा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जयकुमार काफ्लेसहितको टोली पुगेर अवलोकन गरेको छ ।

त्यस क्रममा ऐतिहासिक महत्व बोकेको उक्त क्षेत्रको विकासका लागि सहयोग गर्ने वचन दिँदै उनीहरुले धार्मिक पर्यटकीय गन्तव्य बनाउन समितिलाई सुझाव दिए ।

चन्द्रपुर नगरपालिका–१ स्थित गैरीगाँउबाट आधा घण्टाको दूरीमा टुँडिखेल पुगिन्छ । त्यहाँबाट १५ मिनेट यात्रा गरेपछि गोल्म राजाको दरबार पुगिन्छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्