nepal ahile circle final NEW

मणिपाल हस्पिटलको बेडमा अभिनेता घिमिरेको सबैजसोलाई प्रश्न- गोपी हेर्‍यौ ?

मणिपाल हस्पिटलको बेडमा अभिनेता घिमिरेको सबैजसोलाई प्रश्न- गोपी हेर्‍यौ ?

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत अभिनेता प्रकाश घिमिरे आज बिहीबार अस्पतालबाट डिस्चार्ज भए । गम्भीर दुर्घटनामा परेर अचेत अवस्थामा पुगेका उनी कार्तिक १० गते अस्पतालको आकस्मिक कक्ष हुँदै आइसियुमा भर्ना भएका थिए ।

अस्पतालको आकस्मिक कक्षमा पुग्दा उनी अचेत थिए । उनको रक्तचाप न्यून थियो भने टाउको, छाती र ढाडमा गम्भीर चोट थियो । गम्भीर घाइते अवस्थाका उनलाई थप उपचारका लागि काठमाडौं लाने भनेर आफन्तले तयारी गर्न थाले । उनका साथीभाइ तथा परिवारले त्यसका लागि हेलिकप्टर चाटर्ड गर्ने तयारी समेत गरिरहेको थियो ।

तर, अस्पताल प्रशासन र उपचारमा खटिएका चिकित्सकले उनलाई काठमाडौं लग्दा थप खतरा हुने भन्दै उपचार मणिपाल मै सम्भव रहेको बतायो । पोखराका मेयर धनराज आचार्यले पनि विशेष चासो राख्दै उनको स्वास्थ्यलाई लिएर अस्पताल र चिकित्सकसँग निरन्तर छलफल गरे ।

अस्पतालको शैयामा अचेत अवस्थामा उपचार भइरहँदा उनको स्वास्थ्यलाई लिएर अनेकन् अड्कलबाजीहरू गरिए । यस्तै अड्कलबाजीका बिच अस्पतालमा दिनहुँ सयौँको सङ्ख्यामा पुग्ने सँगै देश विदेशका हजारौँ शुभचिन्तकले उनको स्वास्थ्यलाभको कामना गरिरहेका थिए । उनलाई समेटेर निर्माण हुन लागेको चलचित्र महाजात्राको टीमले स्वास्थ्यलाभको कामना गर्दै बौद्धविधि अनुसार पूजापाठ समेत गर्‍यो ।

सघन उपचार कक्षको बेडमा पहिलो दिन बेलुका आँखा खोलेका उनले भोलिपल्ट देखि नै एकोहोरो कुरा समेत गर्न थाले । दोस्रो, तेस्रो दिनको उपचारको क्रममा उनले बिस्तारै मान्छे चिन्न थाले । दोहोरो कुराकानी गर्न थालेका उनले बिस्तारै पुरानो कुराहरू समेत सम्झिन थाले । उनलाई खुलेर कुराकानी गर्न भने आइसियुबाट वार्डमा सारेपछि मात्र गर्न दिइएको हो । सघन उपचार कक्षबाट उनलाई १० दिनपछि न्युरो वार्डमा सारिएको थियो ।

अभिनेता घिमिरेले आफू होसमा आएदेखि वरपर देखिनेसँग आफूलाई चिनेका छौ ? भनेर प्रश्न गर्न थालेका थिए । आफ्नो उपचारमा खटिएका चिकित्सक तथा नर्सहरूलाई उनले सुरुबाटै मलाई चिन्छौ ? मेरो कुन-कुन फिल्म हेरेका छौ ? भनेर प्रश्न गर्ने गरेको डाक्टर समेत रहेकी छोरी रेशा शर्माले नेपाल अहिलेलाई बताइन । अभिनेता घिमिरेले हरेक पटक सिफ्ट परिवर्तन भएर नर्सहरू फेरिदा र नयाँ मान्छे भेट्न पुग्दा यसरी नै प्रश्न गर्ने गरेको उनले बताइन । छोरी रेशाका अनुसार यसरी प्रश्न गर्दा घिमिरेले हरेक पटक गोपी फिल्म हेर्‍यौ ? भनेर फिल्मको नाम नै तोकेर भन्ने गर्दथे ।

के हो ‘गोपी’ कनेक्सन ?

झण्डै ५० वटा नेपाली चलचित्रमा काम गरिसकेका अभिनेता घिमिरेले चलचित्र ‘गोपी’कै नाम लिनुको पछाडिको कारण हो त्यसको कथावस्तु । व्यावसायिक गाईपालनको विषयवस्तुलाई समेटेर निर्माण भएको चलचित्र गोपीमा कलाकार घिमिरेले चलचित्रका मुख्य पात्र विपिन कार्कीको बुवाको भूमिका निर्वाह गरेका छन् ।

अभिनय बाहेक झन्डै चार दशक शिक्षण पेसा समेत अवलम्बन गरेका घिमिरेले युवा अवस्थादेखि नै निरन्तर रूपमा घरमा गाई पाल्दै आएका छन् । उनको घरमा अहिले पनि ६-७ माना दूध दिने गाई र बाच्छी छन् । अभिनेता घिमिरेले सुटिङको सिलसिलामा पोखरा बाहिर रहेको समय बाहेक अन्य समयमा घरमा गाई दुहुने र घाँस काट्ने काम गर्दथे ।

‘घरमा काम गर्न सहयोगी पनि हुनुहुन्छ तर मेरो बुवा प्राय जसो आफैँ गाईलाई घाँस काट्ने र दूध दुहुने गर्नुहुन्छ,’ अभिनेता घिमिरेकी कान्छी छोरी रुपा शर्माले भनिन् । गाईको दूध, दही, घ्यू रुचाउने र गाईपालनमा रमाउने घिमिरे गाईलाई नै घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका थिए ।

कलाकार घिमिरेलाई चलचित्र गोपीको कथावस्तुले भित्रैदेखि छोएको थियो । गाईलाई औधी रुचाउने र गाईपालन गर्ने कलाकार घिमिरेले चलचित्रको मुख्य पात्रको कथा आफैसँग मिलेजस्तो अनुभूति गर्दथे । यस्तो अनुभूति गरेका उनले गोपी चलचित्र काठमाडौं र पोखराको हलमा दुई-दुई पटक पुगेर हेरेको नेपाल अहिलेसँग बताए । अभिनेता घिमिरेको मानसपटलमा गहिरो छाप पारेकै कारण होस खुलेर डिस्चार्ज हुने बेलासम्म उनले सबैलाई सोधिरहे, गोपी हेर्‍यौ ?

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्