nepal ahile circle final NEW

मध्यरातमा नबिल बैंकको एटिएम फोड्ने सैलुन सञ्चालक पक्राउ

मध्यरातमा नबिल बैंकको एटिएम फोड्ने सैलुन सञ्चालक पक्राउ

पोखरा । कास्की प्रहरीले एटिएम मेशिन फोडेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मोतीहारी जिल्ला फेनरा पञ्चायत ग्राम ढांका बजारका २० वर्षीय बबि ठाकुर रहेका छन् ।

पोखरा -८ स्थित सभागृह चोकमा रहेको नबिल बैंकको एटिएम फोडिरहेको अवस्थामा बुधबार मध्यरातमा ठाकुर पक्राउ परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख, डिएसपी राजेन्द्र श्रेष्ठले नेपाल अहिलेलाई जानकारी दिए ।

फलामको रडले ढोकाको लक फोडेर भित्र पसी पैसा चोरी गर्न मेशिन समेत तोडफोड गर्दै गरेको अवस्थामा पौने एक बजेको समयमा ठाकुरलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए ।

डिएसपी श्रेष्ठका अनुसार आफ्नै नेतृत्वमा खटिएको गस्ती टोलीले तोडफोड गर्दै गरेको अवस्थामा ठाकुरलाई देखेपछि उनी भाग्ने प्रयास गरेका थिए ।

ठाकुरलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्ने क्रममा निजले पोखरा -९ नयाँ बजारमा बबि ठाकुर सैलुन सञ्चालन गर्दै आएको खुल्न आएको डिएसपी श्रेष्ठले बताए ।

प्रहरीले घटनास्थलबाट मेशिन फोर्न प्रयोग गरेको फलामको रड एक थान,पेचकस एक थान, भाँचिएको अवस्थाको कपाल काट्ने कैँची एक थान र ढुङ्गा एक थान बरामद गरेको छ ।

ठाकुरलाई चोरी उद्योग मुद्दामा अदालतबाट म्याद थप गर्ने गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्