nepal ahile circle final NEW

भूकम्पमा उद्धार र राहतको काम एकद्वार प्रणालीबाटः गृहमन्त्री श्रेष्ठ

भूकम्प प्रभावित जिल्लामा तत्काल ५-५ करोड पठाइने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्धार र राहतका कामहरु एकद्वार प्रणालीबाट लागू गर्ने निर्णय गरेको बताएका छन् ।

गृह मन्त्रालयको आकस्मिक बैठकपछि उनले उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललाई परिचालित गरेको भन्दै आवश्यक परेको अवस्थामा अझ जनशक्ति पठाउने निर्णय गरेको बताए ।

उनले भने, ‘रेस्क्यूको लागि आवश्यकताअनुसार दक्ष जनशक्ति पठाउनेछौं । बिहानदेखि नै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल परिचालन भएका छन् । उद्धार र राहतका कामहरु एकद्वार प्रणालीबाट लागू गर्ने निर्णय पनि गरिसकेका छौ ।’

उनले आवश्यकताअनुसार कम्बल, पाल, खानेकुराहरुको व्यवस्था गर्नुको साथै भूकम्पको कारणले अवरुद्ध भएका सडकहरुलाई चाँडै खुलाउनका लागि पनि प्रयासहरु भइरहेको बताए ।

उनले भने, ‘आजको आवश्यकता हेरेर हामीले कम्बल, पाल, खानेकुराका लागि जे जे आवश्यक हुन्छ त्यसको व्यवस्था भइसकेको छ, पुगेन भने तुरुन्तै खबर गर्न प्रादेशिक सरकार र जिल्ला व्यवस्थापन समितिहरुलाई निर्देशन दिएका छौ । त्यसको तत्काल व्यवस्था गर्छौ । भूकम्पको अवरुद्ध भएका सडकलाई केही घण्टाभित्रै खुलाउनका लागि आवश्यक सामग्री पुगिसकेको छ । सडक विभागलाई त्यसको जिम्मेवारी दिएका छौं ।’

उनले प्रधानमन्त्रीको निर्देशनमा घाइतेहरुको सम्बन्धित स्थानमा उपचारको व्यवस्थालाई पहिलो प्राथमिकतामा राख्दै सर्च, रेस्क्यू र रिलिफलाई प्रमुख नीति बनाएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीको निर्देशनमा घाइतेहरुको सम्बन्धित स्थानमा उपचारको व्यवस्थालाई पहिलो प्राथमिकतामा राखेर त्यो काम भइरहेको छ । अहिले हाम्रो प्रमुख नीति सर्च, रेस्क्यू र रिलिफलाई बनाएका छौ त्यसअन्तरगत हामीले मूल बेश सुर्खेतलाई बनाउने र सहायक बेश नेपालगञ्जलाई बनाएर आवश्यक जनशक्ति, सामग्री र व्यवस्थापन त्यहाँबाट हुनेगरी व्यवस्था गरेका छौं ।’

अहिलेसम्मको विवरणमा भूकम्पबाट १ सय ३६ जनाको मृत्यु भएको छ भने १ सय ६१ जना घाइते भएका छन् । घाइतेहरु रुकुम र जाजरकोटका छन् ।यस्तै, दैलेख, रोल्पा र जुम्लामा ७ जना घाइते भएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्