nepal ahile circle final NEW

महेन्द्रपुलस्थित स्मार्ट सार्वजनिक शौचालय आजबाट खोल्न थालियो

महेन्द्रपुलस्थित स्मार्ट सार्वजनिक शौचालय आजबाट खोल्न थालियो

पोखरा । पोखराको महेन्द्रपुलमा निर्माण भएको अत्याधुनिक सुविधासहितको सार्वजनिक शौचालय आजबाट खोल्न थालिएको छ । पोखरा महानगरपालिका र गैह्र आवासीय नेपाली संघ (एनआरएनए) को संयुक्त साझेदारीमा हालै निर्माण भएको शौचालय आज शनिबारदेखि दैनिक १२ घण्टा खुल्न थालेको हो   ।

दशैं सुरु हुन भन्दा एक दिन अगाडि उद्घाटन गरिएको शौचालय दशैंको बेला बन्द रहेको थियो । आज कोजागत पूर्णिमाबाट महानगरले दुई सिफ्टमा कर्मचारी खटाएर शौचालय खोल्न थालेको छ ।

शनिबारबाट बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म स्मार्ट शौचालय खुला गरिएको पोखरा महानगरका मेयर धनराज आचार्यले नेपाल अहिलेसँग बताए । बिहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म एक सिफ्ट र १२ बजेदेखि साँझ ६ बजेसम्म एक सिफ्ट गरी दुई सिफ्टमा कर्मचारी खटाएर रेगुलर स्मार्ट शौचालय खोल्न थालिएको उनको भनाई छ ।

स्मार्ट शौचालय तिहार लगत्तै पूर्ण रूपमा खोल्ने लक्ष्य रहेको भए पनि शौचालय खुला हुनुपर्ने जन अपेक्षा बढेपछि आजबाट खोल्न सुरु गरिएको मेयर आचार्यले बताए । ‘हामीले शौचालय भवन तर्फको निर्माण कार्य सकिएपछि विशेष कारणवश शौचालयको उद्घाटन गरेका थियौ । भवनको १ नम्बर कोठामा बायोडाइजेष्टर ग्याँस जडान गरेर मड्का चिया खाने ठाउँ र गार्डेन तयार गरेर तिहारबाट पूर्ण रूपमा सञ्चालन गर्ने सोचमा थियौ । तर, तत्कालै खुला रहोस् भन्ने जनअपेक्षा रहेका कारण आजबाट खोलेका छौ,’ मेयर आचार्यले भने ।

पहिलो चरणमा शौचालय निर्माणको काम सकिएको र दोस्रो चरणमा शौचालय अगाडिको भागमा पानीको फोहरा र फल्चासहितको बगैँचा निर्माण हुने र त्यसलाई नियाल्दै सर्वसाधारणले मड्का चिया खान पाउने उनले बताए । ‘टी-सप’ मा अपाङ्गता भएको परिवारलाई आर्थिक आयआर्जन हुने गरी कामको जिम्मेवारी दिने तयारी महानगरले गरेको मेयर आचार्यले जानकारी दिए । सेन्सर जडित धारा, हात सुकाउने मेसिन जस्ता प्रविधि युक्त अपाङ्गमैत्री स्मार्ट सार्वजनिक शौचालयमा ६ वटा विभिन्न कक्षहरू रहेका छन्।

शौचालय भवनको १ नम्बर कक्षमा शौचालयकै मलमूत्रबाट उत्पादन हुने बायोग्यास बालेर मड्का चिया बेच्ने ‘टी–सप’ का लागि ठाउँ छुट्टाइएको छ । त्यसको लागि बायो–डाइजेस्टर मेसिन जडान गर्ने तयारी भइरहेको छ । त्यस्तै २ नम्बरमा पुरुष शौचालय, ३ नम्बरमा अपाङ्गता भएकाहरूले प्रयोग गर्न मिल्ने शौचालय र ४ नम्बरमा भण्डार कक्ष बनाइएको छ । शौचालय भवनको ५ नम्बरमा स्तनपान कक्ष र ६ नम्बरमा सेनिटरी प्याड भेन्डिङ मेसिनसहितको महिला शौचालय रहेको छ । मेयर आचार्यका अनुसार अर्को व्यवस्था नहुने बेलासम्मका लागि हाललाई सर्वसाधारणले शौचालय नि:शुल्क प्रयोग गर्न पाउने छन् ।

स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्न महानगर र एनआरएनएबीच ०७९ पुस २० मा पहिलो र चैत १३ मा दोस्रो गरी दुई चरणमा सम्झौता भएको थियो । शौचालयको घटस्थापना अघि असोज २६ गते मेयर आचार्य र एनआरएनएका अध्यक्ष तथा निर्माण कार्यका संयोजक रविना थापाले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

शौचालय र पार्क निर्माणका लागि एनआरएनएले दुई चरणमा ६० लाख र २० लाख गरी ८० लाख रकम सहयोग गरेको हो । सम्झौता अनुसार बाँकी खर्चको व्यवस्थापन पोखरा महानगरपालिकाले गर्नेछ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्