nepal ahile circle final NEW

फिर्के खोलाका अतिक्रमित संरचना हटाउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम

फिर्के खोलाका अतिक्रमित संरचना हटाउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम

पोखरा । पोखरा महानगरले फिर्केखोला खोलाघर अतिक्रण गरेर निर्माण गरिएका संरचना ३५ दिन भित्र हटाउन भनेको छ ।

महानगरले शुक्रबार एक सूचना जारी गर्दै खोलाघर भित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना पूर्ण रुपमा हटाउन ३५ दिने अल्टिमेटम दिएको हो ।

पोखरा महानगरको प्राविधिक टोलीले नापजाँच गरी पोल गाडेको क्षेत्र भित्रका संरचना समय सिमा भित्रै सम्बन्धित व्यक्ति अथवा संस्थाले आफैं नहटाए महानगरले हटाउने चेतावनी दिएको छ । अटेर गरी नहटाइएका त्यस्ता संरचना हटाउदा लाग्ने खर्च सम्बन्धित व्यक्ति अथवा संस्थाले नै भुक्तानी गर्नुपर्ने महानगरले सूचनामा उल्लेख गरेको छ ।

महानगरले गठन गरेको सर्वेक्षण टोलीले एक महिना अघि पेस गरेको  प्रतिवेदनअनुसार फिर्केखोला मिचेर ५३ वटा स्थायी र १०७ वटा अस्थायी संरचना बनेका छन् ।

प्रतिवेदनमा उल्लेख भएअनुसार खोला अतिक्रमण गरेर २८ वटा संघसंस्थाले संरचना खडा गरेका छन् । जसमा १८ वटा संघसंस्थाका स्थायी र १० वटा संघसंस्थाका अस्थायी संरचना रहेका छन् । यसरी अतिक्रमण गर्नेमा विद्यालय, कलेज, समाजघर, लायन्स क्लब, धार्मिक संघसंस्था आदि रहेका छन् ।

‘फिर्केखोला खोलाघर नाप जाँच प्रतिवेदन २०८०’ अनुसार खोला अतिक्रमण गरेर व्यक्तिले ३५ वटा पक्की र ९७ वटा कच्ची घर तथा टहरा निर्माण गरेका छन् ।

यसरी खोला अतिक्रमण गरेर निर्माण भएका घर, टहरा तथा संरचनाहरू मध्ये कतिपय संरचनाहरू शतप्रतिशत खोलाघरमा रहेको र कतिपय आंशिक भाग खोलाघर क्षेत्रमा निर्माण भएका छन् ।

फिर्केखोलाको प्राविधिक नापजाँचपछि खोलाघरको पश्चिम तर्फ ३०३ र पूर्वतर्फ २८५ वटा गरी ५८८ सिमा स्तम्भहरू गाडिएका छन् ।

गत साउन ३ गतेदेखि भदौ २ गतेसम्म नाप जाँच गरेको सर्वेक्षक वासुदेव पौडेलको नेतृत्वको टोलीले झन्डै एक महिनापछि असोज ६ गते  पोखरा महानगरका मेयर धनराज आचार्यलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदन बुझेपछि मेयर आचार्यले प्रतिवेदनको राय र निष्कर्षका आधारमा सरोकारवालाहरूसँग समन्वय गरी छिट्टै अतिक्रमित संरचनाहरू हटाएर फिर्केखोलालाई पुरानै अवस्थामा फर्काउन  लागिपर्ने बताएका थिए।

मेयर आचार्यले महानगरले फिर्के खोलाको संरक्षण, सम्बर्धन र सौन्दर्यीकरणसहित फिर्के कोरिडोरको विकासका कार्यक्रम सञ्चालन गर्ने बताएदै आएका छन ।

पोखरा महानगरपालिकाको वडा नं. १८, २, ४, ५, ७, ८ ,६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ ८ किलोमिटर रहेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्