nepal ahile circle final NEW

पोखरामा अनुदानमा उपलब्ध गराएको मल झण्डै दोब्बर मुल्यमा बिक्री, कृषक मारमा

पोखरामा अनुदानमा उपलब्ध गराएको मल झण्डै दोब्बर मुल्यमा बिक्री, कृषक मारमा

पोखरा। पोखरामा अनुदानमा उपलब्ध गराइएकाे मलमा समेत कृषकलाई ठगी गरेको पाइएको छ । पाेखरा महानगरपालिकाले बुधबार गरेकाे अनुगमनका क्रममा सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको मलमा झण्डै दोब्बर मुल्यमा बिक्री गरेको फेला पारेको हो । अनुदानको मल बढि मुल्यमा किसानलाई बिक्री गरेको गुनासो आएपछि महानगरको टोली अनुगमनमा निस्किएको थियो । महानगरपालिकाकी उपप्रमुख एंव अनुगमन समितिका संयोजक मञ्जुुदेवी गुरुङको नेतृत्वमा अनुगमन गर्दा मल बिक्रीका लागि अनुमति समेत नभएको तथा बढि मुल्यमा बिक्री गरेको फेला परेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जनाए । महानगरले पोखरा ५ का पाँच वटा कृषि सामाग्री भण्डारमा अनुगमन गरेको थियो ।

पोखराको मालेपाटनमा सञ्चालनमा रहेको कोइराला कृषि सामाग्री भण्डारले मल बिक्रीका लागि अनुमति समेत नलिएको बढि मुल्यमा बिक्री गरेको भेटिएको हो । उसले सरकारले अनुदानमा उपलब्ध गराएको मल प्रतिकिलो १८ रुपैयाँ बढि मुल्य लिएर बिक्री गर्ने गरेको थियो । डिपोको दुरीका आधारमा अनुदानको मलको बिक्री मुल्य पोखरा महानगरले निर्धारण गरेको छ । पोखरा–५ भित्र अनुदानको मल बिक्रीका लागि प्रतिकिलो २२ रुपैयाँ निर्धारण गरिएको भएपनि ४० रुपैयाँमा बिक्री गरिएको अनुगमनका क्रममा फेला परेको थियो । त्यस्तै कोइराला कृषि भण्डारले मल बिक्री अनुमति पत्र समेत नलिएको, महानगरमा दर्ता नगरेको, बिक्रेताले बिक्री र स्टकको प्रत्येक लट अनुसारको लगत नराखेको तथा खरिद र बिक्री विल समेत नभएको पाइएको छ ।

अनुगमनमा पोटास १ बोरा, डिएपी ९ बोरा र युरीया साँढे ६ बोरा भेटिएको छ । अनुुगमनमा भेटिएको मल जुन ठाँउबाट किनेको हो, त्यही फिर्ता गर्ने र सम्पूर्ण कागजपत्र लिएर बिहिबार जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन अनुगमन टोलीले निर्देशन दिएको छ ।

पोखरा ५ कै आर्दश कृषि सामाग्रीले  पनि विना अनुमति अनुदानको मल बिक्री गरेको भेटिएको छ । अनुगमनका क्रममा खरिद र बिक्री बिल नभएको र बढि मुल्यमा बिक्री गरेको अवस्थामा भेटिएको हो । अनुमति बिना बिक्री गरेको र युरिया ३५, डिएपी ५५ र पोटास ४५ रुपैयाँमा बिक्री गरेको फेला परेको महानगरले जनाएको छ । अनुगनका क्रममा पोटास २ बोरा, युरिया साँढे २ बोरा र डिएपी साँढे ४ बोरा फेला परेको थियो । फेला परेको मल सम्वन्धित ठाँउमा फिर्ता गरेर बिहिबार कागजपत्र लिएर जिल्ला प्रशासन कार्यालयमा उपस्थिति हुन निर्देशन दिइएको छ ।

पोखरा ५ मा नै रहेको सुरक्षा कृषि सामाग्री भण्डाले मल विक्री गरेको तर बिल बिजक जारी नगरेको र विउविजन, विषादी बिक्रीका लागि अनुमति पत्र देखाउन नसकेका कारण सम्पूर्ण कागजपत्र लिएर बिहिबार जिल्ला कार्यालय आउन निर्देशन दिइएको छ ।

पोखरा ७ मा सञ्चालनमा रहेको शोभा ट्रेड्र्स कृषि औजार भण्डारले अनुमति विना विउविजन विक्री वितरण गरेको फेला पारेको र अनुमति लिएर मात्रै बिक्री गर्न अनुरोध गरिएको महानगर कृषि महाशाखा प्रमुुख कडरियाले जानकारी दिए । विना अनुमति अनुदानको मल बढि मुल्यमा बिक्री गर्नेहरुलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको र कारबाही त्यहींबाट हुने कडरियाकाे भनाइ छ ।

अनुगमन टाेलीमा महानगर उपप्रमुख गुरुङसँगै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कृषि सामाग्री कम्पनी लिमिटेडका प्रमुख ठाकुरप्रसाद बाँस्तोला,महानगर कृषि महाशाखा प्रमुख मनहर कडरिया, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मुकुन्दराज पौडेल, महानगर कृषि महाशाखाका शिवसिह धामी लगायत रहेका थिए ।

गत साउन १२ गते बसेको पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिले सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य तोकेको थियो । मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकेजी १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म मुल्य निर्धारण गरेको छ । डीएपीको ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा तोकिएको छ । पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म निर्धारण गरिएको छ । मल बिक्रेताले प्लाष्टिक झोलाको २ रुपैयाँसम्म लिन पाउनेछन् । पोखराका २६ वटा वडाका ६७ केन्द्रलाई अनुदानको मल बिक्री वितरणको अनुमति दिइएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्