nepal ahile circle final NEW

निर्वाचनबाट बाहिर परेकाहरुलाई समेट्छु: नवराज शर्मा

निर्वाचनबाट बाहिर परेकाहरुलाई समेट्छु: नवराज शर्मा

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट म्याग्दीका नवराज शर्मा हालै अध्यक्षमा चयन भए। उनी अध्यक्षका  प्रत्याशी लमजुङका मायानाथ अधिकारीलाई १ सय ६६ मतान्तरले पराजित गर्दै दोस्रो पटक एमाले गण्डकीको नेतृत्वमा पुग्न सफल भएका हुन्  ।  नेतृत्वमा पुगेपछि पार्टी भित्रको आन्तरिक गुटबन्दी मिलाउँदै गण्डकीमा खस्कन थालेको साखलाई बचाउने जिम्मेवारी उनले कसरी पुरा गर्छन् भन्ने चासो कार्यकर्तामा देखिन थालेको छ । कार्यकर्तामाझ शालीन नेताको परिचय बनाएका उनलाई प्राप्त जिम्मेवारी पुरा गर्न सहज भने छैन । पार्टीलाई एक ढिक्का बनाई एमालेले अगाडि सारेको मिसन २०८४ लाई सार्थकता प्रदान गर्न के कस्ता योजना  छन् भन्ने बारेमा नवनिर्वाचित अध्यक्ष शर्मासँग नेपाल अहिलेका लागि राजाराम पौडेलले गरेको कुराकानीको अंश ।

अधिवेशन अवधिभर तपाईँको अनुहारमा दबाब देखिएन, हँसिलो नै देखिनुभयो, नतिजाको बारेमा पूर्ण विश्वस्त हुनुहुन्थ्यो ?

मेरो एउटा स्वभाव  छ । हामी राजनीति गर्ने मानिसको लागि यो धेरै ठुलो चिज हैन, यो जिम्मेवारी कुनै प्राप्तिका निम्ति, लाभ सुविधा लिनका निम्ति हैन, थप मेहनत गर्ने, थप दु:ख गर्ने, थप संघर्ष गर्ने र पार्टीलाई थप माथि लाने जिम्मेवारी नै हो । त्यसैले यसलाई मैले त्यति ठूलो विषयको रुपमा लिएको थिइन । पहिला पनि पार्टीका आन्तरिक अधिवेशन हुन्थे । म्याग्दीको पहिलो अधिवेशन २०४८ सालमा चुनाव भएको थियो । सबैभन्दा बढी मत ल्याए विजयी भए । त्यसपछि धेरै कमिटी सर्वसम्मत बने । बाहिर दुईवटा चुनाब लडे । एउटा जिल्ला विकास समिति, अर्को संविधान सभा निर्वाचनको । दुवैजिते पनि । पार्टीको आन्तरिक जीवनमा हुने प्रतिष्पर्धालाई हार जित भनेर कहिल्यै लिनु हुँदैन । खासमा साथीभाइ बसेर माइन्यूटमा लेखेर टुंग्याउने कुरा हो यो । अहिले हामी धेरैं छौ । अलि धेरै छलफल गर्दा कहिलेकाही सबै कुरा मिल्दैन । यसरी बहुमत गरेर मिलाउनुपर्ने हुन्छ । तर, यो कुनै प्रतिष्पर्धा हैन कुनै हार जित हैन यो चुनाब नै हैन ।

निर्वाचनबाट बाहिर परेकाहरुलाई कसरी समेट्ने योजना बनाउनु भएको छ ?

अब हिजोको समकक्षी कमरेडहरु कमिटीबाट बाहिरिनु भएको छ । जस्तो मोहन जी, रश्मि जी बाहिरिनु भयो, उहाँहरुको जिम्मेवारीबारे मैले माथिल्लो तहमा पनि पहिलो प्रयत्न गर्नुपर्नेछ, पहिलो कुरा हिजो समकक्षी सँगै काम गरेका साथीहरू । दोस्रो कुरा कतिपय कमिटीमा आकाक्षी साथीहरु हुनुहुन्थ्यो, चुनाबबाट आउन सक्नुभएन, उहाँहरुको व्यवस्थापन कहाँबाट गर्न सकिन्छ यसमा ध्यान दिन्छु । तेस्रो कुरा अहिले अधिवेशनको सन्दर्भमा कुनै दुरी बढेको कतै छ भनेपनि त्यसलाई मेट्ने र पार्टीलाई एकमना बनाएर भोलि व्यवहारबाटै समेट्ने योजना बनाएको छुँ ।

निर्वाचन अगाडि समेटेर सबैको सहमतिमा टीम टुंग्याउन सार्थक प्रयास किन भएन ?

सहमतिमै टुंग्याउनुपर्छ भनेर आकाक्षी सहकर्मी बस्यौं । तर टुंग्याउन सकिएन । तरपनि मेरो जोड जुनविधिबाट नेतृत्व बनाउँदा समेत हार्दिकता भोलि सगै काम गर्ने वातावरण कायमराख्नुपर्छ भन्ने कुरामा नै थियो । भलै चुनाव भयो अबको दिनमा मेरो दायित्व यो हो कि यहाँ दुई गुट छ गुटको कारण यस्तो ‘बायसनेस’ देखाउँछ यस्ले भन्ने यदि कतै छ भने त्यसलाई मेट्ने जिम्मेवारी मेरो हो ।

तपाईले भनेझै यहाँ देखिएका स्पष्ट दुईगुट मिलाउन सहज होला र ?

म आफ्नो ठाउँबाट काम गर्छु । म सिनियर नेताहरु कसैको प्रतिष्पर्धी हैन । मेरो आफ्नो गण्डकी प्रदेशको भुगोल छ । मैले भुगोल भित्रको तल्लो जिल्लाहरूलाई सञ्चालन गरेर, तल्ला कमिटी सञ्चालन गरेर पार्टी बनाउने हो । यसका निम्ति पार्टीको नेतृत्वबाट, सिनियर कमरेडहरुबाट मलाई सहयोग हुन्छ भन्ने पुरै विश्वास लिएको छु । बाँकी दिनमा व्यवहारबाटै यसलाई मेट्ने र बाँकी केही प्रश्न छन् भने व्यवहारबाट जवाफ दिनुपर्छ भन्ने ठानेको छुँ ।

गण्डकी प्रदेशमा स्थानीय तह निर्वाचनमा भन्दा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमाले कमजोर देखियो, दिनप्रतिदिन एमाले गण्डकीमा कमजोर हुँदैछ त्यो पनि दुई गुटको कारण भनिन्छ ?

कुनैपनि चिजको विकास र विनासको लागि दुई पाटो हुन्छ, एउटा आन्तरिक अर्को बाह्य, यसमा आन्तरिक पाटो मेजर हुन्छ । हामीले पार्टीको सन्दर्भ चल्दाखेरी पार्टीहरु आफू एकताबद्द हुने, पार्टीलाई बलियो बनाउने, र पार्टी बलियो हुदा प्रजातन्त्र बलियो हुन्छ, सरकार बलियो बन्छ, सरकार बलियो भए आर्थिक समृद्धीको कुरा हुन्छ । सोही कारण पहिलो भनेको पार्टी बलियो बनाउने हो, पार्टीलाई फस्ट बनाउन जहाँ-जहाँ अन्तरविरोध छन्, नमिलेको छ भने त्यसलाई मिलाउनपर्छ । अब बृहत रुपमा सोचेर गण्डकीको भुखण्ड भित्रका सबै दलहरुसँग हार्दिकता बढाउने र यसलाई मुलधार यसैपनि एमालेलाई स्विकार्नुपर्छ भन्ने हिसाबले ल्याउनुपर्नेछ । बागलुङ र गोरखा हाम्रो अलि कमजोर देखिएको छ, बाँकी ठाउमा शक्ति सन्तुलनको हिसाबले पनि कमजोर छैनौं । बागलुङमा पनि विकास भैरहेको अवस्थामा छौं । गठबन्धन भएको भएर हारेको हौं, गोरखामा अलिकति पछाडि छौं, बाँकी कमजोर ठाउँहरुलाई समेत उठाउनेगरि अरु बलियो ठाउमा थप सुदृढ गर्नेकुरामा म ध्यान दिन्छु ।

तपाईले भनेझै एमालेले बहुमत प्राप्त गर्न सहज छ र ?

देशमा स्थिरताको कुरा गरिरहेका छौ। समृद्धिका कुरा गरिरहेका छौ । दलहरुको यस्तै हैसियत हो यस्तै सरकार बनिरहने हो भने यो सम्भव छैन । देशमा बहुमत प्राप्त स्थिर सरकार नभएसम्म देशले उघो लाग्ने बाटो लाग्दैन यसका लागि पार्टीलाई पहिलो पोजिसनमा पुर्‍याउने हो । यसो किन भनिरहेको छु भने एमाले अहिले पनि ठुलो पार्टी हो । यसले अलिकति बढी पुर्‍याउँदा छिटो बहुमत पुग्छ । साना साना दलले त धेरै प्रगति गर्नुपर्छ । आज एमालेले बहुमत प्राप्त गर्नु देशमा स्थिरता दिनु समृद्धिको जग हाल्नु आज धर्तीको माग हो । त्यो माग पूर्ति गर्नका निम्ति मैले पार्टीका सबै कमरेडहरुलाई समेटेर काम गर्छु ।

अन्त्यमा गण्डकी प्रदेशका आम कार्यकतालाई के भन्नुहुन्छ ?

मेरो यहीँ अनुरोध छ कि यो अधिवेशनलाई पार्टीको नियमित स्वभाविक घटनाका रुपमा लिउ । हामी सबैले मेहनत गरेर पार्टी यहाँसम्म आइपुगेको छ । अचम्म के छ भने अन्यत्र सत्ताको लागि गठबन्धन हुन्छ । यहाँ प्रतिपक्षका विरुद्ध सबै सत्तापक्ष गठबन्धन गर्छन् । यसबाट हामीले सिक्ने के हो भने हामी चानचुन रहेनछौ, त्यसैले अब हामीले आफ्नो ल्यागत बुझ्नुपर्छ कर्तव्य पनि ठम्याउनुपर्छ, आगामी दिनमा मिसन ०८४ मार्फत देखाउनुपर्छ । आम पार्टी पंक्तिलाई यसैका लागि तयार रहन आग्रह गर्दै मेलै के त्याग गर्नुपर्छ गर्छु, यसमा सबैले साथ दिनुपर्छ भन्छु।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्