nepal ahile circle final NEW

माझी समुदायको पितृ कर्म श्राद्ध सुरु

माझी समुदायको पितृ कर्म श्राद्ध सुरु

रामेछाप । सीमान्तकृत माझी समुदायको पितृहरूलाई सम्झने मौलिक कर्म श्राद्ध बुधबारबाट सुरु भएको छ ।

एक वर्ष भरी दिवङ्गत भएका पितृको सम्झनामा माझी समुदायले सो कर्म गर्ने गर्दछन् । सो समुदायले पितृ श्राद्ध तीन दिनसम्म भक्ति भावपूर्वक गर्ने मन्थली नगरपालिका–८ जखनीटारका गणेश माझीले बताए ।

माझी समुदायले श्राद्धको पहिलो दिनलाई थाल्ने, दोस्रो दिनलाई पाल्ने र तेस्रो दिन बिदा गर्ने गर्दछन् । सोह्र श्राद्धको बुधबारको दिन श्राद्ध सुरु गरेर शुक्रबार बिहान समापन हुने गर्दछ ।

बुधबार कुनै कारणले रोकियो भने शुक्रबार सुरु गरेर आइतबार समापन हुन्छ ।
कुनै व्यक्तिको सोह्र श्राद्धको श्राद्ध सुरु नभई मृत्यु भएमा त्यही श्राद्धभित्रै उसको पनि श्राद्ध सकिन्छ । यदि श्राद्ध सकिएपछि मृत्यु भएमा फेरी अर्को वर्षको श्राद्धसम्म पर्खनु पर्दछ ।

यस्तो छ श्राद्धको विधि  स्थानीय बुढापाकाका अनुसार एउटा श्राद्ध सकिए पछि एक वर्ष भरी मृत्यु भएका सबै पितृको श्राद्ध गर्न सोह्र श्राद्धकै बुधबार वा शुक्रबार पर्खनु पर्दछ । आफन्तको मृत्यु भएका परिवारका सदस्यले कुशे औँसीदेखि देखि श्राद्ध गर्न चोखो खाएर बस्नु पर्दछ ।
सोह्र श्राद्धको पूर्णिमाको दिनबाट श्राद्धको प्रारम्भ हुन्छ ।

सो दिनबाट एक वर्षसम्म रोकिएको बाजागाजा फुकाइन्छ । पितृलाई प्रसाद चढाइन्छ । प्रसाद चढाउन आफन्त र दाजुभाइहरू आउँछन् । उहाँहरू सबैलाई प्रसादी खुवाएर बिदा गरिन्छ ।

त्यस पछि बुधबारबाट मुख्य कर्म सुरु हुन्छ । बुधबार बिहानैदेखि पितृको फोटो राखेर प्रसादी चढाइन्छ । प्रसादी चढाउन गाउँका सबै दाजुभाइ तथा चेलीबेटीहरू आउँछन् । प्रसादी चढाएपछि गाउँका बुढापाकाहरू जम्मा भएर मादल बजाउँदै गीत गाएर पितृलाई सम्झन्छन् ।
गाउँभरिका मानिसले ल्याएको प्रसादी र सगुन बाँडिन्छ ।

भोज लगाएर सबै पाहुनालाई खाना खुवाइ बिदा गरिन्छ ।
दोस्रो दिन बिहीबार बिहानै बाटो खन्ने काम हुन्छ । पितृलाई स्वर्गको यात्रा सहज होस् भनि बाटो खनिने गणेशले बताए । त्यस पछि खुल्ला ठाउँमा पितृको सम्झनामा पितरा बनाएर नाचगान गरिन्छ ।

पितृलाई प्रसाद र बरनी गरिन्छ । यो कर्ममा छोरी चेलीको विशेष भूमिका हुने गणेश माझीले बताए । सो दिन दिनभरि नाचगान गरी भोज लगाइन्छ ।
भोलिपल्ट बिहानै नदीमा गएर पितरा बगाएर पितृलाई बिदा गरिन्छ र गाउँलेहरू जम्मा भएर भोज गरेपछि श्राद्ध सकिन्छ ।
परिवारको सदस्य मृत्यु भएपछि गरिने १० दिनको कर्म भने माझी समुदायको पनि हिन्दु धर्मावलम्बीसँग मिल्दोजुल्दो छ । सामान्य अवस्थामा १० दिनसम्म छोराहरूले कसैलाई नछोई एक भक्ति बस्ने र १० दिन पछि चोखिने गर्दछन् ।

तर असामान्य अवस्था आयो भने तीन दिन पछि कुनै पनि समयमा चोख्याउन मिल्ने गणेशले बताए । परिवारको सदस्य मृत्यु भएकाका छोरा, श्रीमती र आफन्तहरूले श्राद्ध नगरेसम्म खानेकुरा बारेर चोखो खाने चलन छ ।

शुद्ध शान्तिको भोज र श्राद्धको भोजमा पहिला पहिला राँगा वा भैँसीको मासु खुवाउने गरिएको भए पनि अहिले पनि मासुको चलन हटाइएको छ । ‘शोकको बेलामा मासु त्यति सुहाएन, त्यस माथि मासुको भोज लगाउँदा धेरै खर्चिलो हुने भयो, शोकमा परेको बेलामा खर्च माथि खर्च गराउनु हुँदैन भनेर शुद्ध शाकाहारी भोज खुवाउन लागिएको छ’, पूर्व जिविस सदस्य समेत रहेको गणेशले भने ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्