nepal ahile circle final NEW

प्राचीन सम्पदा संरक्षणको अभावले नासिने अवस्थामा

प्राचीन सम्पदा संरक्षणको अभावले नासिने अवस्थामा

रामेछाप । रामेछापको सदरमुकाम मन्थली नजिकै रहेको एउटा प्राचीन सम्पदा संरक्षणको अभावले नासिने अवस्थामा पुगेको छ ।
मन्थली बजारको पारिपट्टी मन्थली नगरपालिका–८ चिसापानीको गाईखुरामा रहेको प्राचीन सत्तल, सत्तलसँगै रहेका प्राचीन शिलालेख र तामाकोसी नदी किनारमा रहेको गाइखुर संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका छन् ।

गाईखुराको सत्तलमा रहेको शिलालेखमा शाके संवत् १७५० र श्रीसम्वत् १८८५ लेखिएको छ । सो शिलालेखको आधारमा पनि उक्त सत्तल झण्डै २ सय वर्ष अघि बनेको प्रमाणित हुन्छ ।

कान्तमणि वैद्यले आफूले पाएको बिर्तामा नर्मदेश्वर शिवलिङ्ग स्थापना गरेको विवरण उक्त शिलालेखमा उल्लेख छ । शिवलिङ्ग स्थापनासँगै सो ठाउँमा सत्तल पनि बनाएको देखिन्छ ।

झण्डै २ सय वर्ष पुरानो सत्तल निकै कलात्मक छ । सो स्थानमा केही ढुङ्गे मूर्तिहरू पनि छन् । तिनको उचित संरक्षण हुन सकेको छैन । ती यत्रतत्र छरिएको अवस्थामा छन् ।

झिँगटीको छानो लगाएको सत्तल पानी चुहिएर ढल्न लागेपछि प्लाष्टिक छापेर राखिएको छ । त्यही पनि च्यातिएर जान लागेको छ । सत्तलको न सरसफाइ छ, न संरक्षण नै । सत्तल छेउमा ठुलो मन्दिर बनाइए पनि सत्तल भने बेवारिसे जस्तै भएको छ ।
वैद्यको बिर्ता भए पनि अहिले गाईखुरामा वैद्यका सन्तान कोही छैनन् । गाइखुराको माथि चिसापानीमा नेवार गाउँ भए पनि गाईखुरामा माझी बस्ती छ ।

गाईखुरा र जखनीटारको बिचको तामाकोसी नदी तटमा रहेको विकट पहरोमा गाईको खुरको गहिरो छाप भएको आकृति पनि छ । सम्भवतः नदीले काटेर ढुङ्गाको त्यो आकृति बनेको हुनसक्छ ।

तर त्यसको किम्बदन्ती भने अर्कै छ । किम्बदन्ती अनुसार महादेव नन्दीमा सवारी भएर त्रिवेणी हुँदै तामाकोशी किनारै किनार गौरीशंकर हिमाल तर्फ जाँदैगर्दा उनको वाहन नन्दीले टेक्दा सो पाइला बनेको बताइन्छ । शिवजीलाई बोकेको नन्दीले एउटा पाइलो यहाँ र अर्को पाइलो चनखुको महादेवटारमा टेकेको किम्बदन्ती छ । गाईखुरा नामाकरण भएको पहरो रहेको ठाउँलाई देउतीडाँडा पनि भनिन्छ ।
माछा मार्न जाल हान्दै जाँदा माझी समुदायले सो गाईको पदचिह्न फेला पारेका भनाइ छ । गाईको पदचिह्न फेला परेपछि सो पहरामा पूजा हुन थाल्यो र त्यसको नाम नै देउतीडाँडा रहन गयो ।

वर्षाको बेलमा तामाकोसी बाढी आउँदा सो ढुङ्गोलाई समेत छोप्छ । तल जाने बाटो पनि अप्ठेरो भएका कारण भक्तजनले माथि डाँडामा नै पूजा गर्न लागेर डाँडाको नाम देउतीडाँडो रहन गएको स्थानीय बालकृष्ण माझी बताउँछन् ।

प्राचीन सभ्यता र सम्पदा रहेको गाइखुरा क्षेत्रको संरक्षण र पुरातात्विक अनुसन्धानमा सरकारले ध्यान दिएको छैन । भएका संरचनाको संरक्षमा समेत सरकारको ध्यान नपुग्दा जोगाउन कठिन भएको माझी बताउँछन् ।

ऐतिहासिक सो सत्तल मर्मतको लागि बारम्बार भन्दा यस वर्ष पुरातत्त्व विभागले ५० लाख रुपैँया छुट्याएको उनले बताए । ‘यस वर्ष ५० लाख रुपैँया छुट्याएको छ, अब भने टेण्डर प्रक्रियामा गएर काम सुरु होला भन्ने आशा जागेको छ’, उनले भने ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्