nepal ahile circle final NEW

पोखराको मणिपालका डाक्टर कुट्नेलाई ७ दिन म्याद थप

पोखराको मणिपालका डाक्टर कुट्नेलाई ७ दिन म्याद थप

पोखरा । कास्की प्रहरीले पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि कुटपिटमा उत्रिएका युवकलाई  ७  दिन म्याद थप गराएर थुनामा राखेको छ ।

सोमबार प्रहरीले पक्राउ गरेका पोखरा–५ मालेपाटन निवासी ३४ वर्षीय विनय गुरुङमाथि म्याद थप गरेर थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता, डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

प्रवक्ता विकका अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ र त्यसको संशोधनसहित अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्यहरु गर्न नहुने कसूरमा उनीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

अस्पतालमा उपचारको क्रममा लमजुङ सुन्दरबजार की ५७ वर्षीया सुकमाया दुराको निधन भएपछि ड्युटीमा खटिएका मणिपाल अस्पतालका डाक्टर अनिल शाहमाथि सोमबार बिरामीका आफन्तले कुटपिट गरेका थिए ।

अस्पतालले उपचारको क्रममा विरामीको अवस्थाको बारेमा आफुहरुलाई जानकारी नगराएको आरोप लगाएका बिरामीका आफन्तहरु तोडफोडमा समेत उत्रिएका थिए ।

डाक्टर कुट्ने व्यक्तिलाई कारवाही गर्नु पर्ने मागसहित  अस्पतालमा  कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीहरुले विरोध जनाइरहेका छन् । अस्पताल प्रशासनले मंगलबार एक विज्ञप्ति जारी गरी घटनामा बाहिर हल्ला भएजस्तो अस्पतालको कुनै दोष नभएको जनाएको छ । अस्पतालले हातपात र तोडफोडमा उत्रिने दोषीमाथि कडा कारबाही हुनुपर्ने बताउदै  आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्नुपर्ने माग गरेको  छ ।

मंगलबार नै निजी अस्पतालहरुको छाता संस्था अफिन गण्डकीले एक विज्ञप्ति जारी गर्दै  पोखराको मणिपाल र लमजुंग जिल्ला अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कारवाहीको माग गरेको छ । अफिन गण्डकीले आफ्ना मातहतका सबै अस्पतालमा मंगलबारबाट इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा दिन असमर्थ रहेको जनाएको छ ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्