nepal ahile circle final NEW

पोखरामा डिडिसीको दुग्ध प्रशोधन कारखाना स्थापना गर्ने तयारी

पोखरामा डिडिसीको दुग्ध प्रशोधन कारखाना स्थापना गर्ने तयारी

पोखरा । गण्डकी प्रदेशको पोखरामा दुग्ध विकास संस्थान (डिडिसी) को दुग्ध प्रशोधन कारखाना स्थापना गर्ने तयारी गरिएको छ । त्यसका लागि पोखरा महानगरपालिकाले आवश्यक सहजीकरण समेत गरिरहेको छ ।

महानगरपालिकाको कार्यपालिकाको बैठकबाट नै पोखरामा डिडिसीको प्रशोधन कारखाना स्थापना गर्नको लागि पहलकदमी लिने र जग्गा उपलब्ध गराउन प्रस्तावित जग्गा देखाउने लगायतका विषयमा सहजीकरण गर्ने निर्णय भएको हो ।

सोहीअनुसार शनिवार पोखरा महानगरपालिका २५ स्थित हेम्जामा प्रस्तावित स्थलको नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल, पोखरा महानगरका मेयर धनराज आचार्य, महानगरका प्रवक्ता समेत रहेका वडा नम्बर २५ का अध्यक्ष मोतिलाल तिम्सिना लगायतको टोलीले स्थलगत निरीक्षण गरेको छ ।

प्रस्तावित स्थलको निरीक्षण पश्चात् मन्त्री भुसालले स्थानीय जनता, राजनीतिक दलका नेता लगायतको धारणा बुझेका थिए । उनले स्थानीयलाई डिडिसीको दुग्ध प्रशोधन कारखाना स्थापना गर्ने कुरामा सबैको एकमत हो भनेर प्रश्न समेत गरेका थिए । राजनीतिक दलका नेता तथा स्थानीयले एक स्वरमा आफूहरू दुग्ध प्रशोधन कारखाना स्थापना गर्ने कुरामा एकै ठाउँमा उभिएको बताएपछि मन्त्री भुसालले पोखरा महानगरका मेयर आचार्यसँग कारखाना स्थापनाका लागि महानगरपालिकाले के कस्तो सहयोग रहन्छ भनेर जिज्ञासा राखेका थिए ।

जवाफमा मेयर आचार्यले देशका सात प्रदेश मध्ये ६ वटा प्रदेशमा डिडिसीका प्रशोधन कारखाना तथा उद्योग रहेको भए पनि गण्डकी प्रदेशमा नरहेकाले प्रदेशको राजधानी समेत रहेको पोखरामा कारखाना स्थापना गर्न सरकारले पहल गर्नुपर्ने र महानगर आफ्नो ठाउँबाट लागिपर्ने बताएका थिए ।

डिडिसीको दुग्ध प्रशोधन कारखाना पोखरामा स्थापना हुँदा स्थानीय स्तरमा रोजगारीको सिर्जना हुने, पोखरामा दूधको बजारमा व्यापकता आउने र किसानहरू दुग्ध उत्पादनमा लाग्ने तथा उपभोक्ताले समेत सुपथ मूल्यमा दुग्ध जन्य पदार्थको उपभोग गर्ने पाउँदा यहाँको आर्थिक स्तर सुधार हुने भएकाले महानगरले सक्दो सहयोग गरिरहेको मेयर आचार्यले बताए ।

अवलोकनका क्रममा महानगरका प्रवक्ता तथा वडाध्यक्ष तिम्सिनाले प्रस्तावित जग्गाको अवस्था, स्थानीय जनता तथा राजनीतिज्ञहरूको चासो, बजार लगायतका विषयमा जानकारी गराएका थिए । प्रस्तावित स्थलको करिब २५ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराएर त्यहाँ कारखाना स्थापनाका गर्ने विषयमा स्थानीय जनता, सामाजिक व्यक्तित्व तथा राजनीतिक दल सबै सकारात्मक रहेको उनको भनाई थियो । उनले पोखरा बागलुङ राजमार्ग अन्तरगत हेम्जा सडक खण्डमा राजमार्गसँगै जोडिएको उक्त जग्गा र भित्र पट्टिको अर्को एउटा प्रस्तावित जग्गाको विषयमा कार्यपालिका बैठकले निर्णय नै गरिसकेको बताएका थिए ।

अवलोकनका लागि पुगेको टोलीसँग नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस लगायतका राजनीतिक दलका वडा प्रतिनिधिले पोखरा २५ मा कारखाना स्थापना गर्न सकेको खण्डमा पोखरा २५ सँगै पोखरा महानगर लगायत गण्डकी धवलागिरि क्षेत्रका सबैलाई लाभ पुग्ने धारणा राखेका थिए ।

महानगरले पोखरामा डिडिसीको दुग्ध प्रशोधन कारखाना स्थापनाका लागि यस पहिले पनि कृषि मन्त्रालय र दुग्ध विकास संस्थानको नेतृत्वसँग छलफल गर्दै विभिन्न वडाका सम्भावित स्थलहरू अवलोकन गराउँदै आएको थियो ।

यस अघि सरकारी स्वामित्वको डिडिसी २०३६ सालदेखिको पोखरा दुग्ध वितरण आयोजनालाई २०६१ सालमा निजीकरण गर्दै बाहिरिएको थियो । उक्त आयोजना निजीकरण गरे यता गण्डकी प्रदेशमा डिडिसीको उत्पादनको सहज उपभोग गर्नबाट उपभोक्ता वञ्चित हुँदै आएका छन् । गण्डकीमा डिडिसी नहुँदा अन्य निजी उद्योगले एकाधिकार कायम गरिरहेका छन् ।

पछिल्लोपटक ५ वर्ष अघि पोखरामा दुग्ध प्रशोधन कारखाना स्थापना गर्ने योजना अघि सारेको डिडिसीले त्यसका लागि निरन्तर पहल गर्दै आएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्