nepal ahile circle final NEW

‘फिर्के अतिक्रमण गरेर १६० संरचना, खोलालाई पुरानै अवस्थामा फर्काउन जरुरी’

‘फिर्के अतिक्रमण गरेर १६० संरचना, खोलालाई पुरानै अवस्थामा फर्काउन जरुरी’

पोखरा । पोखरामा फिर्केखोला खोलाघर अतिक्रण गरेर १६० वटा संरचना बनेको पाइएको छ । महानगरले गठन गरेको सर्वेक्षण टोलीले शनिबार पेस गरेको  प्रतिवेदनअनुसार फिर्केखोला मिचेर ५३ वटा स्थायी र १०७ वटा अस्थायी संरचना बनेका छन् ।

खोला अतिक्रमण गरेर २८ वटा संघसंस्थाले संरचना खडा गरेका छन् । जसमा १८ वटा संघसंस्थाका स्थायी र १० वटा संघसंस्थाका अस्थायी संरचना रहेका छन् । यसरी अतिक्रमण गर्नेमा विद्यालय, कलेज, समाजघर, लायन्स क्लब, धार्मिक संघसंस्था आदि रहेका छन् ।

सर्वेक्षक वासुदेव पौडेलको नेतृत्वको टोलीले पेस गरेको ‘फिर्केखोला खोलाघर नाप जाँच प्रतिवेदन २०८०’ अनुसार खोला अतिक्रमण गरेर व्यक्तिले ३५ वटा पक्की र ९७ वटा कच्ची घर तथा टहरा निर्माण गरेका छन् ।

यसरी खोला अतिक्रमण गरेर निर्माण भएका घर, टहरा तथा संरचनाहरू मध्ये कतिपय संरचनाहरू शतप्रतिशत खोला घरमा रहेको र कतिपय आंशिक भाग खोला घर क्षेत्रमा निर्माण भएका छन् ।

टोलीले प्रतिवेदनको निष्कर्षमा खोला किनारमा बस्ने नागरिकहरूलाई विभिन्न पक्षहरूबाट जमिन उपलब्ध गराइदिने प्रलोभन देखाइ भोटबैंकको रूपमा प्रयोग गर्ने गरेका कारण अतिक्रमणले प्रशय पाएको आशय व्यक्त गरेको छ ।

फिर्केखोलाको किनारमा बस्ती विस्तार हुँदै जाने क्रममा अतिक्रमण भई खोला घर मिचिएको, प्रदूषण बढेको र यसको स्वरूप नै परिवर्तन हुने अवस्थामा पुगेको सर्वेक्षण टोलीले उल्लेख गरेको छ । फिर्केखोलाबाट बग्ने प्रदूषित पानी र फोहोर मैलाका कारण पोखराको पहिचानको रूपमा रहेको फेवातालको अस्तित्वमा समेत गहिरो असर परेको सर्वेक्षण टोलीको ठहर छ ।

खोला अतिक्रमणमा भई प्रदूषित हुँदा मानव समुदायलाई मात्र नभई जलचर, थलचर प्राणीसहित समग्र पर्यावरणमा समेत नकारात्मक प्रभाव परेको हुँदा फिर्के खोलालाई पुरानै अवस्थामा फर्काउन जरुरी रहेको निष्कर्ष टोलीले निकालेको छ ।

प्रतिवेदनले सम्पदाको संरक्षणमा उचित मार्ग निर्देशन प्रदान गरेको उल्लेख गर्दै टोलीले यस सम्बन्धी सचेतना तथा जानकारीका लागि व्यापक रूपमा प्रचारप्रसार गर्नुपर्ने सुझाव दिएको छ ।

फिर्केसँग जोडिएका सार्वजनिक जग्गाको संरक्षण गरी भविष्यमा आउन सक्ने विपत्तिहरूमा प्रयोग गर्ने गरी खुला स्थानहरूको रुपमा विकास गर्नुपर्ने आवश्यकता टोलीले औँल्याएको छ ।

खोलाछेउमा सञ्चालनमा रहेका ग्यारेज तथा अटोपार्टसहरु, कवाडी सङ्कलन केन्द्रहरू तत्काल स्थानान्तरण गर्नुपर्ने, ती ग्यारेज तथा अटोपार्टस, कवाडी सङ्कलन केन्द्रहरूबाट निस्कने रसायन फिर्केखोलामा मिसिने गरेका कारण खोलाको पानी विषाक्त हुनबाट बचाउनु पर्ने, २०६० साल देखी फिर्केखोलाबाट बगेर गएको माटोले बनेको चौरको संरक्षण तथा पार्कको रूपमा विकास गर्नुपर्ने, तालसँगै जोडिएको फोहोरको पहाडलाई उत्खनन गरी तालको क्षेत्र बढाउनु पर्ने लगायतका सुझाव सर्वेक्षण टोलीले दिएको छ ।

साउन ३ गतेदेखि भदौ २ गतेसम्म नाप जाँच गरेको पौडेल नेतृत्वको टोलीले झन्डै एक महिनापछि आज शनिबार मेयर धनराज आचार्य, उपमेयर मन्जुदेवि गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझ्दै मेयर आचार्यले प्रतिवेदनको राय र निष्कर्षका आधारमा सरोकारवालाहरूसँग समन्वय गरी अतिक्रमित संरचनाहरू हटाउनेदेखि फिर्केखोलालाई पुरानै अवस्थामा फर्काउनेसम्मका कार्यहरू गर्न महानगर लागिपर्ने बताए ।” महानगरले फिर्के खोलाको संरक्षण, सम्बर्धन र सौन्दर्यीकरणसहित फिर्के कोरिडोरको विकास कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।

उपमेयर मन्जुदेवी गुरुङले फिर्केखोला मिचेर बनेका संरचना हटाउने कार्यमा सबैको साथ, समर्थन र सहयोगको खाँचो रहेको बताइन । फिर्केखोलाको संरक्षण गर्ने महानगरको अभियानमा सबै जनप्रतिनिधि, राजनीतिक दल, सङ्घ संस्था र आम पोखरेलीहरुको साथ र सहयोग रहने विश्वास आफूले लिएको उनको भनाई थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले प्रतिवेदनमा उल्लेख भएका विषयवस्तुहरूको कार्यान्वयनका लागि पोखरा महानगरपालिका तयार रहेको बताउँदै प्रतिवेदन तयार पर्ने कार्यमा खटिने कर्मचारीहरूको प्रशंसा गरे ।

फिर्केखोलाको सिमानासँग जोडिएका वडाका अध्यक्षहरू दिवसमान प्रधानाङ्ग, देवकृष्ण पराजुली, विष्णु प्रसाद बराल, विष्णु बहादुर भट्टराई,, राममोहन आचार्य,, रुद्रनाथ बराल, राधिका कुमारी शाही योगी र शिवप्रसाद तिमिल्सीना लगायतले कार्यक्रममा उपस्थित भएर प्रतिवेदनमा हस्ताक्षर गरेका थिए ।

पोखरा महानगरपालिकाको वडा नं.१८, २, ४, ५, ७, ८ ,६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ ८ किलोमिटर रहेको छ । फिर्केखोलाको प्राविधिक नापजाँचपछि खोला घरको पश्चिम तर्फ ३०३ र पूर्वतर्फ २८५ वटा गरी ५८८ सिमा स्तम्भहरू गाडिएका छन् । प्रतिवेदन अनुसार फिर्केखोलामाथि २५ वटा पुल तथा कल्भर्टहरू रहेका छन् ।

यसअघि पनि पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसीको पालामा महानगरका इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा फिर्केखोलाको सीमाङ्कन गरिएको थियो । मेयर जिसीले फिर्केखोलाका दुवै किनारमा पैदल मार्ग बनाउने भन्दै २०७५ असार १ गते उद्घाटन कार्यक्रम राखेका थिए । उद्घाटन कार्यक्रममा मेयर जिसी आफैँले डोजर चलाउँदा पत्रकारसहित ५ जना घाइते भएका थिए । सो कार्य त्यो भन्दा अघि बढ्न सकेन ।

फिर्केखोलालाई लिएर बेलाबेलामा रेखाङ्कन तथा सीमाङ्कन गरिएता पनि अतिक्रमण हटाउन र फिर्केलाई पुरानै अवस्थामा फर्काउने गरी कदम चाल्न पोखरा महानगरले सकेको छैन ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्