nepal ahile circle final NEW

पोखरा विमानस्थलमा ३ यात्रु बोकेर आएको भुटानी विमान ४२ यात्रु लिएर फर्कियो

पोखरा विमानस्थलमा ३ यात्रु बोकेर आएको भुटानी विमान ४२ यात्रु लिएर फर्कियो

पोखरा । भुटानको पारो विमानस्थलबाट आज बिहान उडेको रोयल भुटान एयरलाइन्सको ड्रुक विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६:४० बजे ल्यान्ड भयो । पोखरा उडान गर्न अनुमति प्राप्त गरेको १५० सिट क्षमतायुक्त उक्त विमानले शनिबार बिहान ५ :५५ बजे उडान भरेको थियो ।

विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली, अमेरिकी र भियतनामी गरी ३ जना यात्रु अवतरण गरेको पोखरा विमानस्थल प्रमुख देवेन्द्रलाल कर्णले जानकारी दिए।  ड्रुक एयरको उक्त विमान झन्डै एक घण्टा ३० मिनेटपछि ४२ जना यात्रु लिएर भुटानका लागि प्रस्थान गरेको छ । विमानमा यात्रा गर्नेमा प्रायजसो अमेरिकी पर्यटक रहेको कर्णले बताए ।

यो उडान नै पहिलो व्यवसायीक अन्तर्राष्ट्रिय उडान भएको कर्णले बताए । चार्टर उडान भएता पनि विमानस्थलले लिनुपर्ने राजश्व रकमसहित को शुल्क लिएर उडान गरिएको कारण यो व्यावसायिक उडान नै भएको उनले बताए । यसै उडानको रिपोर्टका आधारमा भुटानबाट नियमित उडान गर्न ड्रुक एयर सकारात्मक रहेको कर्णले बताए ।

भुटानबाट पोखरा आएका पर्यटक र पोखराबाट भुटान फर्किएका पर्यटकलाई गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्र बहादुर थापा, पोखराका मेयर धनराज आचार्य र पोखरेली पर्यटन व्यवसायीहरूले स्वागत तथा बिदाइ गरेका थिए ।

पोखराका मेयर धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमै सीमित हुन् नहुने भन्दै विमान चार्टर्ड गरेर आउने क्रम थपिएमा अहिले देखिएको निराशा हट्दै जाने बताए । यद्यपि छिटो भन्दा छिटो नियमित अन्तर्राष्ट्रिय उडान गर्ने तर्फ सबैको ध्यान जान जरुरी रहेको उनले बताए ।

झन्डै ८ महिना अघिदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यस अघि गत असार ६ गते पहिलो पटक चीनको सिचुवान एयरलाइन्सले पहिलो चार्टर उडान भरेको थियो । उक्त उडान मार्फत चीनको छेन्दुक सहरबाट ३५ जना चिनियाँ पर्यटकको टोली पोखरामा भएको ड्रागन बोट फेस्टिभलमा सहभागी हुन आइपुगेको थियो।

करिब २३ अर्ब ऋण लगानीमा सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अङ्ग्रेजी नयाँ वर्षको अवसरमा १ जनवरी २०२३ मा आन्तरिक उडान मार्फत उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्