nepal ahile circle final NEW

आजबाट उज्यालो पोखरा घोषणा

आजबाट उज्यालो पोखरा घोषणा

पोखरा । पोखराका मुख्य चोक तथा सडकमा जडान भएका हाइ मास्ट लाइट र स्मार्ट लाइट बाल्न सुरु गरिएको छ । पोखरा महानगरभित्रका २३ मुख्य चोकका हाइ मास्ट लाइट तथा ६० किलोमिटर सडक क्षेत्रका दुई हजार सात वटा स्मार्ट लाइट आइतबारबाट बाल्न थालिएको हो ।

उज्यालो पोखरा अभियान अन्तर्गत पहिलो चरणमा जडान भएका लाइटको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । कुल १४ करोड ६५ लाख रुपैयाँ लागतमा जडान भएको योजनामा प्राधिकरण र महानगरको ५०/५० प्रतिशत लागत साझेदारीमा रहेको छ ।

पोखरा क्षेत्रका मुख्य चोकमा जडान भएका प्रत्येक हाइ मास्ट लाइटमा दुई-दुई सय वाट पावरका आठ-आठ वटा बत्ती रहेको र प्रत्येक पोलको उचाई १६ मिटर भएको प्राधिकरणअन्तर्गत राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाका प्रमुख प्रमोद रिजालले जानकारी दिए।

स्मार्ट लाइटमा १२० र ९० वाटका बत्ती प्रयोग गरिएको र बत्ती जडान गर्नका लागि चार सय ३९ वटा नयाँ पोल जडान गरिएको उनले बताए । रिजालका अनुसार जडान गरिएका लाइटको सरदार आयु ५० हजार घण्टा अर्थात झण्डै ११ वर्ष रहेको छ । सम्झौता अनुसार निर्माण पूरा भएको ५ वर्षसम्म ठेकेदार कम्पनी टपसन इनर्जी प्रालिले नै मर्मत सम्भार गर्नेछ ।

स्वचालित प्रविधिमा आधारित लाइटको चहकिलोपना स्वचालित रूपमा घटबढ भई सूर्यास्तसँगै बल्ने तथा सूर्योदयसँगै निभ्ने गर्दछ । बत्ती बाल्ने, निभाउने र चहकिलोपनालाई घटबढ गराउने काम मोबाइलकै माध्यमबाट समेत गर्न मिल्ने रिजालले बताए । लाइटमा समस्या आएर पर्याप्त उज्यालो नदिएमा अथवा बिग्रिएको खण्डमा प्राधिकरणको सर्भरमा तत्कालै सूचना प्राप्त हुने उनले बताए ।

पोखरा महानगरका मेयर धनराज आचार्यले उज्यालो पोखरा अभियान अन्तर्गत पहिलो चरणमा मुख्य सहरी क्षेत्रमा लाइटहरू जडान गरिएको बताए । दोस्रो चरणमा समग्र पोखरा क्षेत्रको सडक उज्यालो हुने गरी लाइट जडान हुने मेयर आचार्यले बताए । मेयर आचार्यले हाइ मास्ट र स्मार्ट लाइट यस अघि देशका अन्य भागमा जडान भएको भए पनि यति ठूलो सङ्ख्यामा भने पहिलो पटक पोखरा मै जडान भएको दाबी गरे ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशै भरीका सहरहरू उज्यालो बनाउने अभियान अन्तर्गत पोखरा महानगरसँगको साझेदारीमा पहिलो चरणको कार्यक्रम सम्पन्न भई सुचारु भएको बताए । दोस्रो चरणको कार्यक्रम अघि बढाउन प्राधिकरण तयार रहेको बताउँदै उनले उज्यालो पोखरा बनाउने अभियानमा महानगर निरन्तर लाग्ने विश्वास व्यक्त गरे ।

प्राधिकरण देश नै उज्यालो बनाउने अभियानमा रहेको उल्लेख गर्दै घिसिङले कुनै पालिकाले साझेदारीमा काम गर्न चाहेमा प्राधिकरण लगानी गर्न तयार रहेको बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्