nepal ahile circle final NEW

दुई पटक अलप भएर दरबारमा बस्न नरुचाएकी महारानी

दुई पटक अलप भएर दरबारमा बस्न नरुचाएकी महारानी

रामेछाप । खाँडादेवी गाउँपालिकामा रहेको धार्मिक तथा ऐतिहासिक शक्ति पीठ खाँडादेवी मन्दिर परिसरमा विभिन्न संरचनाको निर्माण कार्य सम्पन्न भएको छ । खाँडादेवी मन्दिर परिसरमा शहरी विकास मन्त्रालयको बजेटमा पुरातात्त्विक हिसाबले संरचना निर्माण गरिएको हो । मन्दिरको बाहिर पर्खाल निर्माण र ढुङ्गा बिछ्याउने लगायतको काम भएको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले जानकारी दिए । । न्यु खाँडादेवी निर्माण सेवाले ४० लाख रुपियाँमा ठेक्का सम्झौता गरी काम गरेको हो ।

खाँडादेवीलाई ऐतिहासिक र धार्मिक महत्वको शक्ति पीठ मानिन्छ । विसं १५१५ माघ १५ गते खाँडादेवीको शिला फेला परेको बताइन्छ । विसं १५७३ मा चढाइएको घण्ट अहिले पनि मन्दिरमा रहेको छ ।
यो मन्दिरको अर्को विशेषता यहाँ तामाङ समुदायका पुजारी छन् । उनीहरूले हिन्दूधर्म मान्दछन् ।

नेपाल एकीकरण गर्ने क्रममा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढीपछि खाँडादेवीमा सहायक गढीका रूपमा किल्ला बनाएका थिए । अङ्ग्रेजसँगको लडाइँ जित्न पृथ्वीनारायण शाहले खाँडादेवीसँग आशीर्वाद लिएको जनश्रुति पाइन्छ ।

खाँडादेवीलाई दरबार लैजान तीन पटक सम्म प्रयास गर्दा पनि असफल भएपछि दरबारबाट नै पूजा सामग्री पठाएर विशेष पूजाको व्यवस्था मिलाइएको बताइन्छ । दरबारमा शिला लैजान खोज्दा तीन पटकसम्म बाटैबाट अलप भएर खाँडादेवीमा नै आएपछि पृथ्वीनारायण शाहले त्यही बेलादेखि कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा र खाँडादेवीलाई हाँस र बोका बलिदिनू भनी आदेश दिएका र वडा दशैँमा सो बलिदिने गरिएको पुजारीहरूको भनाइ छ ।

पछिसम्मपनि दरबारबाट दशैँमा पूजा सामग्री आउने खाँडादेवी मन्दिरमा अहिले भने स्थानीय प्रशासनले पूजा सामग्री पठाउने गरेको छ । बडादशैँको नौरथ लागेपछि यो मन्दिरमा दैनिक ठूलो संख्यामा पञ्चबली हुने गरेको छ । अघिपछि पनि पञ्चबली लिएर दर्शनार्थीहरु नियमित आउने मन्दिरका पुजारी समसेर बहादुर तामाङले बताए ।

विशेष चाडबाडबाहेक पनि शनिबार र बिदाको दिन मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने तामाङ बताउँछन् । रामेछाप बाहेक दोलखा, ओखलढुङ्गा, सिन्धुली, काभ्रे तथा तराई र पूर्वका जिल्लाबाट मात्र होइन भारतबाट समेत मन्दिरमा दर्शनार्थी आउने गर्दछन् । पछिल्लो समय सडक सञ्जालनिर्माणसँगै काठमाडौंबाट आउने दर्शनार्थीको सङ्ख्या निक्कै बढेको पुजारी तामाङले बताए । साउनमा दर्शनार्थी केही पातलिएका भएपनि भदौ लाग्नेबित्तिकै मन्दिरमा दर्शन गर्नेको भीड बढ्ने उनले बताए । ‘दशैँलागेपछि त बिहानदेखि बेलुका सम्म भीड हुन्छ’, उनले भने ।

काठमाडौंबाट आउने दर्शनार्थीले बीपी मार्गको झाँगाझोली रातमाटा कट्नेबित्तिकै सुनकोशीमा रहेको सित्खाको पुल तरेर खाँडादेवी पुग्न सक्छन । मन्दिरको नजिकै सम्मपिच बाटो छ । मन्दिरसम्म पुग्न भने केही कच्ची सडकको यात्रा गर्नुपर्दछ । रामेछापको सदरमुकाम मन्थलीबाट पनि सजिलै खाँडादेवी पुगिन्छ । मन्थलीबाट एक घण्टामा खाँडादेवी मन्दिर पुग्न सकिन्छ । मन्दिर पुग्न अलिकति अप्ठेरो कच्ची सडक भएपनि मन्थलीबाट जाँदापनि बाँकी पक्की सडक छ ।

शिवपुराणको हिमवत खण्डमा रोशीखोला र सुनकोशी नदीको सङ्गम कुशेश्वरमा देवीले शुम्भ र निशुम्भ नामका राक्षसलाई वध गरी दुर्गा नदीमा खड्ग पखाली खाँडादेवीमा खड्ग गाडेर कालिन्चोकमा अन्त ध्र्यान भएको उल्लेख छ । त्यसैले खाँडादेवीको महिमा शिवपुराणमा नै उल्लेख छ ।

खाँडादेवीको उत्पत्तिका सम्बन्धमा विभिन्न किम्बदन्ती छन् । सो मन्दिरका पुजारी अम्बरबहादुर तामाङको जीउमा देवी चढ्दा विसं १५१५ माघ १५ गते मंगलबारका दिन खाँडादेवीको शिला उत्पत्ति भएको बताउँछन् ।
सिन्धुलीगढीको लडाइँमा खाँडादेवीसँग बल पुकार गरेर विजयप्राप्त गरेपछि पृथ्वीनारायण शाहले खाँडादेवीको शिलालाई राजधानीमा लगी राख्ने योजना राजाले बनाएका थिए । शिला ल्याउनकालागि राजाले सेनालाई आदेश दिए । सेनाले कतै पनि नबिसाई लगेको शिलालाई साँगामा र्पुयाएर बिसाउँदा अलप भयो ।

तेस्रोपटक भक्तपुरको खोपी ढुंगामा र्पुयाएर बिसाउँदा शिला फेरि पनि अलप भयो । कसै गरेपनि शिला लैजान नसकेपछि पृथ्वीनारायण शाहले त्यही बेलादेखि कमला माईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा र खाँडादेवीलाई हाँस र बोका बलीदिन भनी आदेश दिएका थिए भन्ने जनश्रुति छ ।

रामेछाप गेलुका सनमानपहरी र दुमनापहरीको कोखबाट सुकमायापहरी भन्ने बत्तीस लक्षणयुक्त कन्या जन्मेकी थिइन् । उनलाई रानी बनाउन राजाले दरबारमा लगेछन् । दरबारमा सुकुमाया खुसी नभएपछि राजाले उनलाई गेलुमा नै फर्काइ दिएछन् ।

गेलु आउने क्रममा खाँडादेवी आइपुगेपछि सुकमाया अलप भइन् । तीतेपातीको छाप्रो बनाएर मान्छेदेखि अदृश्य भएर बसिन् । तीनकन्या खाँडादेवीहुन् भन्ने जनश्रुति छ । त्यसैले यी देवीलाई खाँडादेवी महारानी भनेर पुकारिन्छ ।
अहिले पनि दसैँका बेला छानो स्वरूप मन्दिरमा तीतेपाती चढाइने गरिन्छ । पहरी जातिले अहिले पनि खाँडादेवीलाई आफ्नो चेलीको रूपमा पूजा गर्दछन् ।

गेलुकापहरी अहिले पनि बडादशैैंको फूलपातीका दिन खाँडादेवीलाई केरा, उखु, अदुवाको बोट, माछा, छोकडा, जिर्मा, छ्याङ, राँगा, बोका, कुखुरा, हाँस, परेवातथाकुमारीको सामग्रीहरू ऐना चुरा, धागो, सिन्दूर, टिका चढाउने गर्दछन् । पहिला खाँडादेवी मन्दिरमा नै आएर पूजा गर्ने पहरीले अहिले गेलुमा नै खाँडादेवीको मन्दिर स्थापना गरी पूजा गर्ने गरेका छन् ।

गेलुका लालबहादुर पहरीले खाँडादेवीमा विक्रम संवत् १९९१ मा नियमित पूजा व्यवस्थापनको माग राख्दै तत्कालीन सरकारसँग विन्तीपत्र हालेको लेखोट पाइन्छ । मन्दिर नजिकैका तामाङहरूले पूजा गर्ने र संकलित भेटी बाँडेर लिने गर्दै आएकोमा स्थानीय पुजारी शेरबहादुर तामाङको सक्रियतामा खाँडादेवी विकास कोष बनेपछि कोषले संकलित भेटीको रेकर्ड राख्नुको साथै पुजारी व्यवस्थापनको काम गर्दै आएको छ । कोषकै पहलमा पुरातत्त्व विभागले नयाँमन्दिर निर्माण गर्नुका साथै विभिन्ननयाँ संरचना निर्माण भएका छन् ।

खाँडादेवीको आसपासमा तीन देवीहरू रहेका छन्। सिद्धदेवी, सिद्धकाली र सिरदेवी । खाँडादेवीको केहीतल दुर्गा नदीको रूपमा पुजिने कुण्ड छ । जहाँको जलले दिनहुँ खाँडादेवीलाई नुहाउने गरिन्छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्