पृथ्वी राजमार्गको राइट अफ वे भित्रका संरचना हटाउने अभियान मङ्गलबार पनि जारी रहने

  • नेपाल अहिले
  • अषाढ २५, २०८०
पृथ्वी राजमार्गको राइट अफ वे भित्रका संरचना हटाउने अभियान मङ्गलबार पनि जारी रहने

पोखरा-मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत पोखरा पृथ्वीचोकदेखि कोत्रेसम्मको पृथ्वी राजमार्गको दायाँ बायाँ राइट अफ वे भित्र रहेका निर्मित संरचना तथा सवारी साधनहरू लगायत अन्य सामाग्रीहरू हटाउने कार्य अन्तर्गत पहिलो चरणमा पृथ्वीचोक देखि विजयपुरसम्मको क्षेत्र खाली गराउने कार्य भोलि मङ्गलबार पनि जारी हुने भएको छ ।

महानगरले आज मापदण्ड भित्र रहेका संरचना हटाएको छ भने लामो समयदेखि डम्प गरेर राखिएका पुराना सवारी साधन तथा ग्यारेजहरू समेत विस्थापन गरेको छ । ती सवारी साधन हटाउनका लागि महानगरपालिकाले गरेको आग्रहलाई अटेर गरेपछि केही सवारीहरू महानगरले नियन्त्रणमा लिएको थियो ।

पृथ्वी राजमार्ग एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा विस्तार गरी चार लेनको बनाउन लागिएको हो । सडक आयोजनाको मापदण्ड अन्तर्गत पोखरा खण्ड ४६ मिटर चौडाइको हुनेछ । सडककोबीच भागबाट २३/२३ मिटर दायाँ बायाँका संरचनामा डोजर चलाइएको हो ।

महानगरले पटक पटक सडकको राइट अफ वे खाली गर्न सूचना दिएको थियो । सडक मापदण्डभित्र पर्ने स्थायी संरचना भने मुआब्जा वितरणपछि भत्काउन थालिनेछ । आयोजना अन्तर्गत पोखरा महानगरभित्र १७० घर भत्काउनु पर्नेछ । जसमा हालसम्म ११२ वटा घर एवं भौतिक संरचनाको मुआब्जा वितरण सकिएकोमा ८४ जनाले मुआब्जा बुझेका छन् ।

सेती नदीमा हाल भएको पुलभन्दा माथि र तल २–२ लेनको दुइटा पुल बनाउन १ अर्ब ७ करोड रुपैयाँमा नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सनले ठेक्का पाएको छ भने, सेती पुलबाहेक राजमार्गको पश्चिम खण्डमा ४ वटा ठुला र १२ वटा साना पुल बन्नेछन् ।

© 2026 All Rights Reserved | Nepal Ahile Media