साविक लेखनाथका वडाध्यक्षको भेला, जग्गाको मुल्याङ्कन नबढेपछि कर पनि नबढ्ने

  • नेपाल अहिले
  • अषाढ १९, २०८०
साविक लेखनाथका वडाध्यक्षको भेला, जग्गाको मुल्याङ्कन नबढेपछि कर पनि नबढ्ने

पोखरा महानगरपालिका वडा नं. २६ देखी ३३ का वडाध्यक्षहरुको भेलाले यस क्षेत्रको जग्गाको मुल्याङ्कन नबढाउने सहमति गरेका छन् ।

वडा नं. २६ को कार्यालयमा सोमबार भेला भएका वडाध्यक्षहरुले मालपोत कार्यालय लेखनाथले आगामी आर्थिक बर्ष २०८०/८१ का लागि प्रस्ताव गरेको जग्गाको मुल्यांकन यथावत राख्ने सहमति गरेका हुन । मालपोत कार्यालय लेखनाथका प्रमुख नारायण ढकालले आर्थिक बर्ष २०८०/८१ का लागि लेखनाथ क्षेत्रका जग्गाहरुको वर्गीकरण र मुल्यांकनका विषयमा धारणा राखेपछि वडाध्यक्षहरुले जनतालाई मर्का पर्ने गरी मुल्यांकनमा संसोधन गर्न नहुने सुझाव दिएका थिए ।

यता पोखरा महानगरपालिकाको १३ औं नगरसभाले पनि सम्पत्ति तथा मालपोत कर प्रयोजनका लागि चालु आर्थिक वर्षको तुलनामा रोपनीमा ठाँउ हेरी केही बढाएर प्रस्ताव गरेको थियो । महानगरले मालपोतकै मुल्यांकनलाई सम्पत्तिकर र मालपोतकरका लागि आधार बनाउँदै आएको छ । लेखनाथ क्षेत्रका पोखरा महानगरका वडाध्यक्षहरुले जग्गाको मुल्यांकन नवढाउने सहमति गरेपछि महानगरलाई भने दबाब सिर्जना हुने भएको छ ।

मालपोत कार्यालय लेखनाथले जग्गाको मुल्याङ्कनको विषयमा वडाध्यक्षहरुसँग छलफल गर्नेगरी संयोजन गरिदिन आग्रह गरेकाले वडा नं. २६ मा सवै वडाध्यक्षहरु भेला भएको अध्यक्ष नरेन्द्र थापाले बताए । वडाध्यक्ष थापाले बैठक मालपोतकै मुल्यांकनमा केन्द्रित रहेको उल्लेख गर्दै, चालु आर्थिक बर्षको विकास निर्माण लगायतका कामका बिषयमा पनि सामान्य छलफल र समिक्षा भएको बताए । अध्यक्ष थापाले भने – “चालु आर्थिक बर्षको बिकास निर्माणमा वडाहरुले गरेका अभ्यास्, कामको गुणस्तर लगायतका बिषयमा अनुभव आदान प्रदान भयो ।”

यस्तै बहानामा सवै अध्यक्षहरु जुट्दा कामको सिकाई, अनुभव र अभ्यास गर्दा राम्रै हुने रहेछ, वडा नं. ३० का अध्यक्ष दुर्गा प्रसाद सुवेदीले भने- “लेखनाथ क्षेत्रको चिन्तन हुनु स्वभाविक हो ।” मालपोत कार्यालय लेखनाथका कार्यालय प्रमुख नारायण ढकालले जनप्रतिनिधिहरुको चाहना अनुसारनै मुल्यांकन र वर्गीकरण गरिने भएकाले बर्षको एकचोटी पुनमुल्यांकनका लागि छलफल गरिदै आएको बताए ।

छलफलमा वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापा, वडा नंं २७ का पूर्णकुमार गुरुङ्ग, वडा नं. २९ का अध्यक्ष श्रीप्रसाद गुरुङ्ग, वडा नं. ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदी, वडा नं. ३१ का अध्यक्ष ढकनाथ कंडेल, वडा नं. ३२ का अध्यक्ष अक्कल बहादुर कार्की, वडा नं. ३३ का अध्यक्ष रामचन्द्र अधिकारीको सहभागिता रहेको थियो भने वडा नं. २८ का वडाध्यक्ष भने कामविशेषले अनुपस्थित भएका थिए ।

© 2026 All Rights Reserved | Nepal Ahile Media