पोखरा महानगरको उपप्रमुखसँग महिला कार्यक्रमलाई २ करोड बजेट

  • नेपाल अहिले
  • अषाढ ११, २०८०
पोखरा महानगरको उपप्रमुखसँग महिला कार्यक्रमलाई २ करोड बजेट

पोखरा महानगरपालिकाले उपप्रमुखसँग कार्यक्रमका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ का लागि आइतबार उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै उपप्रमुखसँग महिला कार्यक्रम कोषमा थप दुई करोड रुपैयाँ जम्मा हुने व्यवस्था गरिएको बताइन् । महिलाहरुलाई आर्थिक रुपमा सवल र सक्षम बनाउदै उद्यमशी बनाउने उदेश्यले यो कार्यक्रम सञ्चालन गरिदै आएको छ ।

विपन्न, एकल एवं लक्षित वर्गका महिलाहरुको उद्यमशीलता विकासका लागि उक्त कार्यक्रम प्रभावकारी भएको उल्लेख गदै चक्रीय कोषका रुपमा उद्यमशील महिला दिदीबहिनीहरुलाई व्यवसायिक योजनामा आधारित लगानी रकम उपलब्ध गराउन बजेटको ब्यवस्था गरिएको हो ।

महिलाहरुलाई उद्यमशीलतासँगै अन्य आयआर्जनमा सहयोग गर्ने र सुलभ ब्याजसहित फिर्ता गर्ने कोषलाई आगामी दिनमा स्वचालित, सुदृढ र प्रणालीवद्ध बनाइने समेत बजेटमा उल्लेख गरिएको उपप्रमुख गुरुङले बताइन् । उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालन कार्यविधि बनाएर सञ्चालित हुँदै आएको छ । आर्थिक वर्ष २०८९/८० सम्म उक्त कार्यक्रमका माध्यमबाट ६१९ जनालाई झण्डै ११ करोड रुपैयाँ लगानी भएको छ ।

लक्षित समुदायहरुमा दलित समुदाय, आदिवासी जनजाति, द्वन्द प्रभावित परिवारका महिला, अपाङ्ग महिला वा अपाङ्ग परिवार पाल्नुपर्ने महिला, मुस्लिम समुदायका महिला, एकल महिला, महिला समुह र महिलाद्धारा सञ्चालित सहकारीहरुलाई ऋण प्रवाह गर्ने गरिएको छ । त्यस्तै उपप्रमुखसँग महिला कार्यक्रम मार्फत कानुनी सचेतना र शैक्षिक सहजता कार्यक्रमसमेत सञ्चालन हुदै आएको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media