महामारीको लागि पूर्ण तयारीमा रहन जिसस कास्कीका प्रमुख पौडेलको आग्रह

  • नेपाल अहिले
  • अषाढ ११, २०८०
महामारीको लागि पूर्ण तयारीमा रहन जिसस कास्कीका प्रमुख पौडेलको आग्रह

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सम्भावित महामारीको क्षतिलाइ न्यूनीकरण गर्न पूर्ण तयारी अबस्थामा रहन कास्कीस्थित सरकारी निकायहरूलाइ आग्रह गर्नुभएको छ ।

पौडेलले द्रुत प्रतिकार्य समूह परिचालन सम्बन्धि जिल्ला स्तरीय महामारीको बहुनिकाय समन्वय बैठकको अध्यक्षता गर्दै महामारीको कुनै समय नहुने र सम्भावित क्षति कम गर्न पूर्ण तयारी आवश्यक भएकोले महामारी पछि मात्रै समाधानका उपाय खोज्ने प्रथाको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

उनले प्रकोप र जनस्वास्थसँग सम्बन्धित विषय जनताको जीवनसङ्ग प्रत्यक्ष सरोकार राख्ने हुँदा जीवन सुरक्षा पहिलो शर्तको रूपमा लिन आग्रह गरे । पौडेलले जिल्लाका विभिन्न स्थानमा पशुमा लम्की स्किन रोगको महामारीका कारण कृषि उद्धमीहरूले आर्थिक नोक्सानी व्यहोर्नु परेकोले समयमै नियन्त्रणमा लिने व्यवस्था तत्काल मिलाउन स्थानीय तह सहित प्रदेश र संघीय सरकारलाई आग्रह गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले महामारीको सामनाका लागि स्पस्ट योजना र कार्यान्वयनको रूपरेखा सहित तयारी अबस्थामा रहन जिल्ला स्थित सरोकारवाला निकायहरूलाई आग्रह गरे । कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले कास्कीमा देखिएका स्वास्थसँग सम्बन्धित महामारीहरूका बारेमा चर्चा गर्दै महामारीबाट कम क्षति हुनेगरी वैज्ञानिक तयारी हुनुपर्ने उल्लेख गरे ।

जिल्ला स्वास्थ कार्यालय कास्कीका प्रमुख बद्री आचार्यले तयारी र योजनाको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा कास्कीका पाँच वटै स्थानीय तहका स्वास्थ शाखा प्रमुख , र सरोकारवाला निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

© 2026 All Rights Reserved | Nepal Ahile Media