भारतको विहार र उत्तर प्रदेशमा हिटवेभबाट ९६ जनाको मृत्यु

  • नेपाल अहिले
  • अषाढ ४, २०८०
भारतको विहार र उत्तर प्रदेशमा हिटवेभबाट ९६ जनाको मृत्यु

भारतको विहार र उत्तर प्रदेश राज्यमा हिटवेभबाट ९६ जनाको मृत्यु भएको छ ।

मनसुन शुरु हुनुपूर्व अत्यधिक गर्मी बढ्दा उत्तर प्रदेशमा ५४ तथा विहारमा ४२ जनाको पछिल्लो तीन दिनमा मृत्यु भएको हो । मृत्यु हुनेहरुमा उत्तर प्रदेशको बल्लिया जिल्लाका रहेका छन् । त्यहाँको जिल्ला अस्पतालमा पछिल्ला दिनमा ३ सय भन्दा बढी बिरामी भर्ना भएपछि स्वास्थ्यकर्मीलाई बिदा लिन मनाही गरिएको छ । बल्लियाको तापक्रम आइतबार ४३ डिग्री पुगेको थियो । सापेक्षिक आद्रता पनि २५ प्रतिशत पुग्दा हिटवेभको जोखिम अझ बढेको बताइएको छ ।

यता विहारको पट्नामा पनि तापक्रमले ४४ डिग्री सेल्सियस नाघेपछि हिट्वेभबाट सयौँ बिरामी भएका छन् । विहारमा मृत्यु भएका ४२ मध्ये ३५ जनाको दुईवटा अस्पतालमै मृत्यु भएको जनाइएको छ । हिट्वेभ आजसम्म जारी रहने त्यहाँको मौसम विभागले जानकारी दिएको छ ।

तातो हावा तथा लूबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने जस्ता समस्या देखिन सक्छ । त्यसबाट वच्न घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, पानी तथा झोल पदार्थ (जूस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने जस्ता उपाय अपनाउन सकिन्छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media