कास्की कप ह्याण्डबलमा गण्डकी बोर्डिङ र पोखरा एकेडेमीलाई उपाधि

  • नेपाल अहिले
  • फागुन ३, २०७९
कास्की कप ह्याण्डबलमा गण्डकी बोर्डिङ र पोखरा एकेडेमीलाई उपाधि

नवौँ कास्की तथा छैटौँ एकता कप विद्यालय स्तरीय छात्रा ह्याण्डबल प्रतियोगिता २०७९ मा छात्रातर्फ साविक विजेता गण्डकी बोर्डिङ स्कुल र छात्रतर्फ पोखरा एकेडेमीले उपाधि जितेका छन् । प्रतियोगिताको बुधबार पोखरामा भएको फाइनल खेलमा गण्डकीले सरस्वती विद्या आश्रमलाई र छात्रतर्फको फाइनल खेलमा पोखरा एकेडेमी एले ज्ञान ज्योति विद्याकुन्जलाई पराजित गर्दै उपाधि जितेका हुन् ।

पोखरा रंगशालाको कभर्ड हलमा बुधबार भएको छात्रातर्फको फाइनल खेलमा गण्डकीले सरस्वती बिद्या आश्रमलाई ५-३ को गोल अन्तरले पराजित गर्दा छात्रतर्फको फाइनल खेलमा पोखरा एकेडेमीले ज्ञान ज्योतिविद्या कुन्जलाई १०-७ को गोल अन्तरले पराजित गरेको हो । गण्डकीको जितमा एलिजा कार्कीले दुई, आयुषा भुजेल, श्रृया श्रेष्ठ र पुर्णिमा क्षेत्रीले एक एक गोलको योगदान दिए । सरस्वतीको तर्फबाट कुशुम बाँनियाले दुई र स्वयता बोहोराले एक गोल गरिन ।

छात्रतर्फ पोखरा एकेडेमीको जितमा विश्वास गायकले ५, आश्रीत बस्नेत र निरज गुरुङले दुई-दुई गोल गरे भने ज्याम्स छन्त्यालले एक गोल गरे । ज्ञानकुन्जका विवेक थापाले ह्याट्रिक, सन्देस सुनारले २ तथा सुमित पुन र जेतेन्द्र बुढाथोकीले एक-एक गोल गरे । प्रतियोगितामा छात्रातर्फ सरस्वती बिद्या आश्रमकी करीस्मा बोहोरा उत्कृष्ट खेलाडी घोषित भइन् भने सोही विधामा छात्रतर्फ पोखरा एकेडेमीका विश्वास गायक उत्कृष्ट खेलाडी घोषित भए ।

छात्रातर्फ ८ गोल सहित सर्वाधिक गोलकर्ताको उपाधि सरस्वती विद्याश्रमकी स्वेता बोहोराले पाउँदा छात्रतर्फ १० गोल गरेका गण्डकीका मनिस कुमार कुस्वाहा सर्वाधिक गोलकर्ता बने । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट गोलरक्षकको उपाधि छात्रातर्फ सरस्वती विद्या आश्रमकी अर्पना पुन र छात्रतर्फ पोखरा एकेडेमीका सोवित गुरुङले प्राप्त गरे । प्रतियोगितामा छात्र तथा छात्रातर्फका विजेताले जनही १० हजार, उपविजेताले ५ र तेश्रो हुनेले ३ हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद सहित ट्रफी प्रदान गरिएको छ ।

विजयी खेलाडीहरुलाई एकता बुक्स एण्ड डिष्ट्रिव्यूटर्स प्रा.लि.का क्षेत्रिय निर्देशक संजयकान्त अधिकारी, एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्का, संघका सल्लाहकार एवं पूर्व खेलाडी राम गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, गण्डकी स्कुलका प्राचार्य विरेन्द्र खड्का, पूर्व राष्ट्रिय खेलाडी शान्ति थापा, कास्की जिल्ला वक्सिङ संघका अध्इक्ष क्या.मोतीलाल गुरुङ, संघका अध्यक्ष चित्र थापालगायतले पुरस्कार वितरण गरेका थिए ।

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ आयोजना भएकोे उक्त खेलले विद्यालयस्तरबाटै ह्याण्डबल खेलको विकास गर्ने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष चित्र थापाले बताए । उक्त प्रतियोगिताअन्तर्गत छात्रतर्फ १३ र छात्रातर्फ ८ टिमको सहभागिता रहेको आयोजक कास्की जिल्ला ह्याण्डबल संघले जनाएको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media