nepal ahile circle final NEW

नेपाली कागजको बजारमा माग धेरै, उत्पादन कम

नेपाली कागजको बजारमा माग धेरै, उत्पादन कम

गोरखा, १७ पुष । गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ । गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा मागअनुसार नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव हुँदै आएको हो ।

कागज उत्पादनका लागि आवश्यक पर्ने लोक्ता जङ्गलबाट खोजेर ल्याउनुपर्ने भए पनि आवश्यकताका आधारमा कच्चा पर्दाथ आयात गर्न नसकिएको उद्योगका सञ्चालक पासाङनिमा शेर्पाले बताए । “जङ्गलमा त खोजेजति लोक्ता पाइन्छ”, उनले भने, “तर जङ्गलमा गएर झिक्ने, सुकाउने र यहाँसम्म ल्याउने मान्छे नै पाउन गाह्रो छ ।”

नेपाल आज | भूकम्पका कारण पूर्णविराम लागेको नेपाली हाते कागज उद्योग पुनः सञ्चालनमा

शेर्पाले घरेलु कार्यालयमा उद्योग दर्ता गरी नेपाली कागज उत्पादन गरेको झण्डै पाँच वर्ष भइसकेको छ । “बजारमा जति उत्पादन गरे पनि बिक्रीका लागि कुनै समस्या छैन”, शेर्पाले भने, “बरु कागज उत्पादनका लागि सधैँ कच्चा पर्दाथको अभाव हुने गरेको छ ।” जङ्गलबाट झिकेर ल्याएको लोक्ता उद्योगले प्रतिक्विन्टल रु १५ हजारमा खरिद गर्ने गरेको शेर्पा बताउँछन् । एक क्विन्टल कच्चा पर्दाथबाट दुई हजार थान २०–३० साइजको कागज उत्पादन हुने शेर्पाले जानकारी दिए ।

उद्योगमा अहिले परिवारका तीन सदस्यसहित १० जनाले रोजगारी पाएका छन् । शेर्पाले करिब रु आठ लाखको लागतमा उद्योग सञ्चालन गरेको बताए । “उद्योगका लागि दक्ष कामदारलाई खाने–बस्ने सुविधासहित रु १० हजारदेखि १५ हजार तलब दिने गरेको छु”, शेर्पाले भने, “चर्को घाम लागेको दिन एक जना कामदारले दैनिक दुई सय पन्ना कागज उत्पादन गर्न सक्छ ।”

उद्योगले उत्पादन गरेको कागज काठमाडौँमा बिक्री हुने गरेको उनको भनाइ छ । “उद्योगमा १० ग्राम, २० ग्राम, ३० ग्राम र ४० ग्राम तौलका कागज उत्पादन हुने गर्दछ”, उनले भने, “बीस ग्राम कागजको प्रतिपन्ना रु २० र ४० ग्राम कागजको प्रतिपन्ना रु ४० मा नै ठूला उद्योगले खरिद गरेर लैजान्छन् ।”

राम्रोसँग उद्योग चल्दा मासिक रु चार लाखसम्म उद्योगमा आम्दानी हुने गरेको शेर्पाले बताए । उद्योगले मागअनुसार कागज उत्पादन गर्दै आइरहेको सञ्चालक शेर्पाको भनाइ छ । उनले उद्योगका लागि चाहिने कच्चा पर्दाथ वन कार्यालयको अनुमति लिएर उत्तरी गोरखाको लाप्राक, लापु, मान्वु, खरिबोटलगायतका क्षेत्रबाट सङ्कलन गरी ल्याउने गरिएको जानकारी दिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्