nepal ahile circle final NEW

चिया बेचेरै मासिक ९० हजार कमाउँछिन् स्नातक पढ्दै गरेकी विपना

चिया बेचेरै मासिक ९० हजार कमाउँछिन् स्नातक पढ्दै गरेकी विपना

रेसुङ्गा, ३ पुस ।गुल्मीको मुसिकोट नगरपालिका –२ की विपना महत २० वर्ष पुगिन् । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यही उमेरका युवायुवती भर्खरै शहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । उनले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक रु ९० हजार कमाउँदै आएकी छिन् ।

बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने विपनाले दैनिक दुई सय कप चिया बेच्छिन् । बजारमा चियाको मूल्य रु २५ भए पनि विपनाले एक कप चिया रु २० का दरले बेचेको बताउँछिन् । “चिया बेचेर दैनिक रु तीन हजारका दरले मासिक रु ९० हजार कमाइ हुन्छ”, उनले भनिन्, “घरखर्च सबै कटाएर रु ६० हजार बचत गर्दैआएकी छु । ” विपनाले दैनिक रु चारदेखि पाँच हजारसम्म कमाइ गरे पनि मासिकरूपमा औसत कमाइ रु तीन हजार भएको बताइन् ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) पछि उनी पढ्नका लागि तम्घास आइन् । रेसुङ्गा बहुमुखी क्याम्पसबाट प्लस टु सक्काइन् । त्यसपछि फुर्सदमा भएको समयमा के गर्ने होला भनेर सोचमा परेको बताइन् । उनको सोच जागिरभन्दा पनि आफैँले केही गरौँ भन्ने भयो । यसपछि चिसो तम्घासमा तातो चिया बेच्ने काम शुरु गरिन् । मामाघरमै चिया पकाउने थर्मसभरि चिया राखेर गिलासहित बजार डुलेर चिया बेच्ने राम्रो भएमा निरन्तरता दिने होइन भने छाड्ने भनेर थालनी गरेको बताइन् । तम्घास बजारमा डुल्दा चिया अधिकतम मात्रामा बिक्री भएर आम्दानी हुन थालेपछि विगत एक वर्षदेखि उनले निरन्तर चिया बेचिरहेकि छिन् ।

अनुभव सङ्गाल्ने भनेर चिया बेच्न शुरु गरेको उनको भनाइ छ । “अनुभव हुन्छ भनेर बजारमा चिया बेच्दा फाइदा हुन थाल्यो अनि निरन्तरता दिएँ”, उनले भनिन्, “मलाई लाज र डर भन्ने त कहिल्यै कसैसँग लागेन ।” तम्घास बजारमै दुई सयभन्दा बढी कप चिया बिक्री भएर मनग्य आम्दानी भएपछि यसैलाई दीर्घकालीनरूपमा निरन्तरता दिने उनको सोच छ ।

आमाबुवा र आफन्त आफ्नो कर्मबाट खुसी भएको उनले बताइन् । बिहान ६ बजे बजारमा चिया बेच्न निस्कने र फर्किएर खाना खाएपछि १२ बजे निस्कने उनले बताइन् । तम्घास बजारमा चिया बिक्री राम्रो हुनेगरेको उनले सुनाइन् । अहिले तम्घासमा हुने सार्वजनिक कार्यक्रममा पनि उनलाई चिया बेच्न भ्याइनभ्याइ छ । कार्यक्रम आयोजकले आफ्ना पाहुनालाई विपनामार्फत चिया खुवाउने गरेका छन् ।

उपल्लो तम्घासमा रहेको मामाघरमा उनी बस्दै आएकी छिन् । बिरामी हजुरआमाको हेरचाह पनि गरिरहेकि छिन् । विपनाका बुवा हरिबहादुर कृषक हुन् । आमा कोपिला गाउँकै विद्यालयमा शिक्षिका छिन् । चिया बेचेर तम्घास बजार डुल्दा अहिलेसम्म कसैले नराम्रो नभनेको उनले सुनाइन् ।

विपना आफूजस्ता भर्खरैका युवायुवतीलाई आफ्नै गाउँठाउँमा केही रोजगार वा व्यवसाय गर्न सुझाव दिन्छिन् । कामका लागि लजाउने वा डराउने बानी राख्नै नहुने उनको सुझाव छ । लाज र डरले जिन्दगीमा अगाडि बढ्न नसकिने उनको तर्क छ । विपना अहिले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत छिन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्