nepal ahile circle final NEW

माछामासु, लसुन र प्याज केही नखाने गाउँ

माछामासु, लसुन र प्याज केही नखाने गाउँ

नेपाल अहिले, १७ कार्तिक ।  पर्वतको जलजला गाउँपालिकाभित्र प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र सामाजिक महत्वका ठाउँ धेरै रहेका छन् । तर, ती गन्तव्यको सही पहिचान र उचित प्रचारप्रसार गर्न नसक्दा ओझेलमा परेका छन् ।

यहाँको माछामासु नखाने गाउँको बारेमा धेरैलाई ज्ञान नहुन सक्छ । माछा, मासु नखाने उपल्लो नाङलिवाङ गाउँले धार्मिक तथा सांस्कृतिक पर्यटक भित्र्याउन सक्ने प्रचुर सम्भावना बोकेको छ । यो गाउँका ४५ घरधुरीले माछा, मासु खान मात्र होइन पालेका समेत छैनन् । त्यति मात्र नभएर उनीहरुले लसुन र प्याज खान त परै जाओस् खेतीसमेत गरेका छैनन् ।

पहिले ऋषिमुनीहरुले तपस्या गर्ने स्थल भएकाले यस गाउँलाई शालिग्रामधाम भनेर पनि चिन्निछ । धार्मिक तथा सांस्कृतिक महत्व जोडिएकाले धेरै वर्षअघिदेखि मासुविनाको सात्विक भोजन गर्दै आएको गाउँलेको भनाइ छ । अन्यत्र ठाउँबाट विवाहबारी गरी यस ठाउँमा आएका बुहारीहरुले माछा, मासुदेखि प्याज लसुन सबै त्याग्नुपर्ने हुन्छ । आधुनिकतासँगै हुर्केका पछिल्लो पुस्ताका युवालेसमेत यस परम्परागत मूल्य र मान्यतालाई आत्मसात् गर्दै आएका छन् ।

स्थानीय हिन्दू धर्मभित्रको वैष्णव सम्प्रदायसँग नजिक छन् । “हिन्दू धर्म, संस्कृति र परम्परालाई नजिकबाट बुझ्न र अध्यन गर्न चाहनेहरुका लागि यस माछा मासु नखाने गाउँ धार्मिक पर्यटकीय गन्तब्य बन्न सक्ने देखिन्छ”, स्थानीय अग्रज डण्डपाणि उपाध्यायले भन्नुभयो ।

जलजला गाउँपालिकाले पर्यटकीय सम्भावना बोकेका गन्तव्यलाई राष्ट्रियरुपमा चिनाउन म्याराथन दौड प्रतियोगिता राख्ने योजना बनाएको छ । “हाम्रोमा पर्यटकीय नयाँ गन्तव्य धेरै छन्, तर त्यसको प्रचार गर्न सकिरहेका छैनौँ”, गाउँपालिकाका अध्यक्ष राजु आचार्यले भन्नुभयो, “पर्यटनलाई सघाउन नेपालभरिका खेलाडीहरु ल्याएर म्याराथन दौड गर्दैछौँ, यसले राष्ट्रिय स्तरमै प्रचारप्रसारमा सहयोग पुग्छ भन्ने विश्वास छ ।”

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्