nepal ahile circle final NEW

पोखराको बजारमा च्याङ्ग्रा : रोज्जाको मूल्य ५० हजार

पोखराको बजारमा च्याङ्ग्रा : रोज्जाको मूल्य ५० हजार

पोखरा, ११ असोज । १० वर्षअघि देखि बझाङका बमबहादुर बोहराको दसैं दैनिकी भेँडा च्याङ्ग्रामै वित्छ । उहाँको अनुभवमा जति भेँडा च्याङ्ग्रा ल्याए पनि पोखराबाट निरास भएर फर्कनुपर्ने अवस्था छैन । ‘पोखरामा भेँडा च्याङ्ग्रा झार्ने वित्तिकै गोठ रित्तिन्छ । कहिलेकाहीँ अलि दिन कुर्नुपर्छ,’ उहाँले भन्नुभयो , ‘अरु ठाउँमा खासै विक्रि हुँदैन । महंगो पर्ने भएकोले पोखरा नै उपयुक्त बजार हो ।’

दसैंले छपक्कै छोपिसकेको छ । अहिले पोखराको याम्दी क्षेत्रमा भेँडा च्याङ्ग्राको हुलैहुल भेटिन्छन् । पोखरामा च्याङ्ग्रा संस्कृति धेरै पूरानो हो । यो वर्ष उपल्लो नाका नखुलेका कारण तिब्बती भेडा च्याङ्ग्रा ल्याइएको छैन । नेपालका विभिन्न जिल्लाबाट आएको भेँडा च्याङ्ग्राको भाउ निकै महंगो छ ।

लेकमा पाइने जडिबुटी खाएर हुर्किएका भेँडा च्याङ्ग्राको मासु स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी हुने विश्वासले दसैंमा भेँडा च्याङ्ग्राको माग बढी हुन्छ । बोहराले ल्याएको हुलमा रोज्जा च्याङग्राको मुल्य ४५ हजार छ । यहाँबाट एउटै च्याङ्ग्राको मुल्य ५० हजारसम्म लिन्छन्, व्यवसायीले ।

मुस्ताङको कागबेनीदेखी च्याङग्रा ल्याएर याम्दीमा बिक्रिका लागि राखेका हेम्जाका झपट बहादुर थापाले रोजेर र जोखेर दुवै हिसावले च्याङ्ग्रा बेचिरहनुभएको छ  । ‘रोजेर ३८ हजार देखि ४६ हजार मुल्य सम्मका छन् । जोखेर १३ सय रुपैयाँ किलोको हिसाबले बेचेको छु,’ उहाँले भन्नुभयो, ‘जसले पहिले ल्यायो, उसैको छिटो विक्रि हुन्छ । ६० वटा ल्याएको थिएँ, २० वटा बेचिसकें ।’

याम्दी पुल वारि धेरैले भेडा च्याङ्ग्रा बेच्न थालिसकेका छन् । हेमजा र याम्दी क्षेत्रमा हिमाली जिल्ला मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, बझाङबाट बर्सेनी ल्याएर विक्रि हुन्छन् । मुस्ताङबाट झारिएका भेडा च्याङ्ग्रा आज आइपुग्छन् । देशका धेरै जिल्लाबाट भेडा च्याङ्ग्रा ल्याइएपनि वर्सेनी हुने मुल्य बृद्धीका कारण अधिकांश खरिद नगरी फर्किने गरेका छन् ।

बझाङबाट करिब २ सय ५० भेडा च्याङ्ग्रा पोखरा झारेका राजेन्द्रबहादुर थामी रोज्जा च्याङ्ग्राको मूल्य बढीमा ५० हजार रुपैयाँसम्म पर्ने बताउनुहुन्छ  । बझाङमा खरिद दर नै बढी भएकाले मुल्य बढेको उहाँले सुनाउनुभयो । ‘बझाङमै किन्दा एउटाको ४० हजार प¥यो । यहाँ ल्याउँदा महँगो त हुने नै भयो,’ उहाँले भन्नुभयो, ‘२ महिना अघिदेखि जम्मा गर्न प¥यो । पालिकालाई कर तिर्न प¥यो । अनि ल्याउँदा ट्रकको भाडा उस्तै महंगो छ ।’

गत वर्ष ३५ देखि ४७ हजार रुपैयाँसम्ममा च्याङग्रा बिक्री भएकोमा अहिले सामान्य ३२ हजारदेखि ५० हजारसम्म मुल्य पर्छ । दसैंमा मासुका लागि पोखरामा खसीबोका पनि उत्तिकै बिक्री हुन्छन् । भेडा च्याङ्ग्रा किन्न नसक्नेहरु खसीबोकामै रमाउँछन् । दसैंको बेलामा बढी मासु खपत हुने पोखरामा विशेषगरी दाङ, नवलपुर, तनहुँ, पाल्पा र स्याङ्जाबाट खसीबोका ल्याइने गरिन्छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्