nepal ahile circle final NEW

पोखरा महानगरले गर्‍यो मापदण्ड विपरीत घर टहरा बनाउने ठेकेदारका सामाग्री जफत

पोखरा महानगरले गर्‍यो मापदण्ड विपरीत घर टहरा बनाउने ठेकेदारका सामाग्री जफत

पोखरा ०२, असोज। पोखरा महानगरपालिकाले अनुमति बेगर महानगर क्षेत्र भित्र निर्माण गरिने अवैध संरचनामा प्रयोग हुने निर्माण सामाग्री जफत गर्न थालेको छ । महानगरले सार्वजनिक सूचना नै जारी गरेर यस्तो अभियान थालेको हो ।

आइतबारबाट मापदण्ड विपरीत निर्माण भएका संरचनामा प्रयोग भएका सामाग्रीहरू जफत गर्न शुरु गरिएको महानगर नगर प्रहरीका  सई पुरुषोत्तम थापाले जानकारी दिनुभयो ।

‘हामीले फेवातालको ६५ मिटर मापदण्ड भित्र निर्माण नगर्न र भइरहेका निर्माण कार्य रोकी सामाग्री हटाउन शनिबार फिल्डमा नै पुगेर निर्देशन दिएका थियौ । उक्त निर्देशन उल्लङ्घन गर्दै निर्माण कार्यमा प्रयोग भएको कम्पनीको गाडी आइतबार बिहान नियन्त्रणमा लिएका छौँ ‘, थापाले भन्नुभयो ।

पोखरा महानगरपालिका -६ मा अदालत र महानगरको निर्देशन विपरीत नक्सा पास नै नगरी मापदण्ड मिचेर निर्माण भइरहेको दीपेन्द्र महर्जनको घरबाट फेवा रेडी मिक्स्चर प्रालिको ग १ क ४८२२ नम्बरको मिक्स्चर गाडी सामानसहित नियन्त्रणमा लिएको थापाले बताउनुभयो ।

‘हिजो मात्र मेयर सावको नेतृत्वमा हामी घरमै पुगेर निर्माण कार्य रोक्न अनुरोध गरेर आएका थियौ तर उहाँले मध्यरातमा निर्माण कार्यलाई तीव्रता दिएर तेस्रो तला ढलानको काम गर्न लाग्नुभएको रहेछ, हामीले उहाँलाई थप चेतावनी दिँदै गाडी नै नियन्त्रणमा लिएर राखेका छौँ’, थापाले नेपाल अहिलेसँग भन्नुभयो ।

फेवातालको मापदण्ड मात्र नभएर अनुमति बेगर महानगर भित्र निर्माण हुने जुनसुकै अवैध संरचनामा प्रयोग हुने निर्माण व्यवसायीका सामाग्री जफत गर्ने उहाँले बताउनुभयो । महानगरले सार्वजनिक सूचना जारी गरी  निर्माण व्यवसायीहरुलाई निर्माण कार्य सुरु गर्नु पुर्व मापदण्ड अनुसार भए नभएको  यकिन गरेर मात्र  कामगर्न निर्देशन गरेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्