nepal ahile circle final NEW

तीन महिनामै भयो ५० करोडको प्लाइउड विदेश निर्यात

तीन महिनामै भयो ५० करोडको प्लाइउड विदेश निर्यात

पछिल्लो तीन महिनामा मात्रै नेपालले रु ५० करोडको प्लाइउड विदेश निर्यात गरेको छ ।

नेपालबाट प्लाइउड भारतसहित विभिन्न देशमा निर्यात हुँदै आएको छ । नेपाल भेनियर उत्पादक सङ्घ झापाका सचिव दिनेश चापागाईँका अनुसार नेपालमा ७९ वटा प्लाइउड उद्योग दर्ता रहेका छन् । तीमध्ये सञ्चालनमा रहेका ६३ वटा उद्योगले उत्पादन गरेको प्लाइउड भारतसहित विभिन्न देशमा निर्यात हुँदै आएको सचिव चापागाईँले बताउनुभयो ।

मुलुकमै सबैभन्दा धेरै प्लाइउड उद्योग झापामा छन् । झापामा मात्रै १६ उद्योग सञ्चालनमा रहेको सचिव चापागाईँले बताउनुभयो । त्यस्तै मोरङ र सुनसरीमा १४ उद्योग सञ्चालनमा रहेको र देशभर ६३ प्लाइउड उद्योगले प्लाइ उत्पादन गर्ने गरेको उहाँको भनाइ छ । नेपालमा खपत पर्याप्त भएर पनि जेठ, असार र साउन महिनामा मात्रै रु ५० करोड बराबरको प्लाइ विदेश निर्यात गरेको उहाँको भनाइ छ ।

विशेषगरी नेपालमा उत्पादित प्लाइ भारतको महाराष्ट्र, कर्नाटक, राजस्थान, जयपुर, बैङ्लोर, उत्तर प्रदेशमा धेरै खपत हुने गरेको नेपाल भेनियर उत्पादक सङ्घ झापाले जनाएको छ । प्लाइ काठबाट तयार पारिन्छ । यसलाई विशेषगरी फर्निचर, कोठाको पार्टेसन, सजावटका सामग्री र झ्यालढोका बनाउनसमेत प्रयोग गरिँदै आएको छ ।

हाल काठमा आधारित वस्तुको माग विदेशमा पनि बढिरहेका बेला प्लाइउडले विदेशी मुद्रा आर्जनमा सहयोगी भूमिका निर्वाह गरेकाले प्लाइउडमा आधारित उद्योगलाई राज्यले सहगोग पुर्याउनुपर्ने नेपाल भेनियर उत्पादक सङ्घ झापाका अध्यक्ष दीपक पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्