nepal ahile circle final NEW

कलामार्फत गाईको अस्तित्वको चिन्ता गर्दै कलाकार सिंह

कलामार्फत गाईको अस्तित्वको चिन्ता गर्दै कलाकार सिंह

पोखरा । पोखराको चिप्लेढुङ्गास्थित घामपानी मार्केटको नगेन आर्ट एकेडेमीमा लस्करै गाईका विभिन्न स्वरुप कलात्मक रुपमा सजाइएका छन् । गाईजात्रा एवं कृष्ण जन्माष्टमीको अवसरमा एकेडेमी र विश्व हिन्दू युवा सङ्घको सयुंक्त आयोजनामा विश्व कलायात्री नगेन सिंहको ११औँ एकल चित्रकला प्रदर्शनीमा ‘गाई’ शीर्षकमा २१ चित्र राखिएका छन् । सङ्कटमा पर्दै गएको गाईको अस्तित्वलाई त्यहाँ चित्रण गरिएको छ ।

प्रदर्शनीमा आउने जो कोहीलाई पनि ती चित्रहरुले भावुक बनाउँछ । एउटा चित्रमा गाईलाई विशेषतः तिहारमा सेतो ढाप लगाउने प्रचलनलाई चित्रण गरिएको छ । गाईको त्यो सेता ढब्बालाई समाजमा बढ्दै गएको हेलाभावका कारण रातो बन्दै गएको कलाकारले देखाउन खोजेका छन् ।

त्यस्तै अर्को चित्रमा उल्टो इन्द्रेणीजस्तो बनाएर राष्ट्रिय जनावर गाईको अस्तित्व सङ्कटमा परेको चित्रण गरिएको छ । प्रत्येक कलामार्फत गाईको अस्त्वि सङ्कटमा परेको देखाउन खोजिएको छ । गाईको दूधदेखि गहुँत गोबर सबै आवश्यक मान्निछ । मानिसको जन्मदेखि मृत्युसम्मको संस्कारमा गाईको दूध, दही, गहुँत र गोबर आवश्यक पर्छ । गाईको संरक्षण व्यक्ति, समाज र राष्ट्रको प्राथमिकतामा पर्न नसकेको कलाकार सिंह बताउनुहुन्छ ।

विश्व हिन्दू महासङ्घका सल्लाहकार एवं पूर्ववरिष्ठ उपाध्यक्ष वेदनिधि शर्मा गाई शीर्षकको कला प्रदर्शनीले हिन्दू धर्मको संरक्षणमा टेवा पुग्नुका साथै गाईको महत्वलाई थप उजागर गर्ने बताउनुहुन्छ । हिन्दू धर्ममा आमाको रुपमा पूजा गरिने गाईलाई जीवित देवीका रुपमासमेत लिने गरिएको छ । प्रत्येक वर्ष लक्ष्मीपूजामा गाईको पूजा गर्नुका विभिन्न परिकार खुवाउने चलन छ । गाईकै गोवरले घर पोत्ने र गहुँत छर्किएर चोख्याउने गरिन्छ ।

आयुर्वेद विज्ञानका अनुसार गाईको दूध, गहुँत तथा गोबरमा विभिन्न औषधीय गुण हुन्छ । हिन्दू संस्कृतिमा जीवनको अन्त्यावस्थामा गाईदान गर्ने तथा बैतर्णी गरेमा स्वर्गलोक प्राप्त हुने जनविश्वास छ । कृषि प्रणालीमा पनि गाईको उत्तिकै महत्व छ । गाईको मलले कृषि उत्पादन बढ्छ ।

प्राचीनकालमा ऋषिमुनिले योगाभ्यास, ध्यान तथा तपस्याका साथै स्वस्थ हुनका लागि गाईको दूध र गहुँत सेवन गर्ने गरेको पाइन्छ । प्रदर्शनीकै अर्को चित्रमा बाच्छालाई दूध चुसाउँदै गरेको गाई आगामी दिनको गन्तव्य र अस्तित्व के हुने हो भन्ने देखाउन खोजिएको छ । “हाम्रा संस्कार एवं संस्कृतिसँगै कृषि प्रणालीमा जोडिएको गाईका यिनै महत्वलाई उजागर गरी समाजमा चेतना फैलाउन कला प्रदर्शनी गरिएको हो”, नगेन आर्ट एकेडेमीका सञ्चालक ज्योति हमालले भन्नुभयो ।

प्रदर्शनी अवलोकन गर्न आउने प्रत्येकलाई चित्रले सङ्कटमा पर्दै गएको गाईबारे एकपटक सोच्न बाध्य बनाउने गरेको पाइएको उहाँले बताउनुभयो । “प्रदर्शनीले गाईको संरक्षणमा लाग्न प्रेरित गर्ने अपेक्षा गरेका छौँ”, हमालले भन्नुभयो ।

प्रदर्शनीले गाईको संरक्षणमा लाग्न कुनै न कुनैरुपमा टेवा पुग्ने कलाकार एवं पुन आर्ट ग्यालरी पोखराका सञ्चालक तीलक पुन बताउनुहुन्छ । कलाका माध्यमबाट समाजका हरेक गतिविधिमा योगदान गर्न सकिने भए पनि कला क्षेत्र अझै राज्यको प्राथमिकतामा पर्न नसकेको उहाँको भनाइ छ ।

सिंहले पानी रङको सहरका रुपमा पहिचान बनाएको पोखरामा गरिएको गाई शीर्षकको प्रदर्शनीमा भने अल्कोहल कलर (रक्सी रङ)को नयाँ प्रयोग गर्नुभएको छ । यही भदौ ६ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा कलाप्रेमीका साथै कलाका अध्येयता पुग्ने गरेका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ सदस्य सिंहले यसअघि १० वटा चित्रकला प्रदर्शनीका साथै दर्जनौँ सामूहिक कला प्रदर्शनी गरिसक्नुभएको छ । कलाकार सिंहको जीवनीमा आधारित वीरेन्द्र हमाल निर्देशित नग्न तृष्ण नाटक समेत २०६४ सालमा मञ्चन भइसकेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्