nepal ahile circle final NEW

असल रचनाले नै भाषा साहित्यको श्रीवृद्धि हुने हो

असल रचनाले नै भाषा साहित्यको श्रीवृद्धि हुने हो

जस्तो, अनायसै ओठमा बास खोज्दै आउँछन् । तिनलाई अतिथि बनेर कुनै साँझ भई आउनुपर्दैन । समयको साथ भए उत्तम । मौसमले माहोल बनाए झनै खूब । हृदयमा केही उठोस् र ओठमा गुनगुन गर्दै शब्दहरू नाच्न थाल्छन् भने त्यो गीत हो । गीत हुनका लागि यी अनिवार्य छन् । होइन भने ती चिज अर्थोक नै होलान् तर गीत चैँ होइन ।

गीतको कुरा गर्नुअघि संगीतको कुरा अनिवार्य मान्छ शास्त्रले । संगीतको उत्पत्ति भाषाभन्दा पनि पुरानो मानिन्छ । भाषा बुझ्न दोभाषे चाहिन्छ । भाषा पनि विभिन्न हुन्छन् । संगीत पनि विभिन्न हुन्छन् । तर संगीत बुझ्नलाई कुनै अनुवादक चाहिँदैन । वेद स्वयम् संगीतले सम्पृक्त छ । संगीतलाई कदर नगरेको सायदै कुनै सभ्यता होला । सभ्यताले आफू उज्यालिएको घोषणा पनि संगीतकै माध्यमबाट गरेको हुन्छ । इतिहासमा पनि कमै त्यस्ता शासक भए होलान् जो संगीतका पारखी बनेनन् । राजा प्रताप मल्लले त आफूँलाई संगीतार्णवपारग भनेका थिए अनि नृत्यनाथको स्थापनाको अवसरमा राजा हुनुको अहमतालाई त्यागेर सारा प्रजासामु नृत्य समेत गरेका थिए । उनी यतिमै सन्तुष्ट भएनन् एउटा हातमा वीणा लिएर बजाइरहेको आफ्नै शालिक बनाइ हनुमान ढोकामा स्थापितै गरिदिए ।

हाम्रो सभ्यताको सारा लय नै संगीतबाट चलेको छ । हाम्रो चाडपर्व, जात्रा, मांगलिक कार्य र रहनसहन समेत संगीतमा आबद्ध छ । बाजा, गीत र नाचको संयोजनले संगीत बन्दछ । गीतलाई परख गर्न संगीतको आलोकमा हेर्नुपर्छ । अब्बल कोटीका गीतमा शब्दहरू सरिता बनेर बगेका हुन्छन् ।गीत रचना पनि शब्दकै साधना हो । शब्दका पङ्क्ति सुर, ताल र लयमा जति जम्न सक्दछन् त्यति नै मात्रामा गीतसंगीतले रञ्जकता पैदा गर्न सक्दछ । रञ्जकता पैदा गर्न नसक्ने गीतसंगीत व्यर्थ हो । त्यसैले संगीत संरचनाको मामिलामा गीतको रचना संवेदनशील पाटो हो । संवेदना छैन, मनोहरता छैन भने त्यस्तो गीत शब्दको चाङ मात्रै हो ।र त्यो गीतकारको शाब्दिक स्वाङ मात्र हो ।

गीतसंगीतको रचना अविरल छ । यो अविरल रहन्छ नै । तर गहन, मूल्यवान् र दीर्घजीवी रचनाहरू भने दुर्लभ हुन्छन् । संगीतमा गीत बीज स्वरूपमा रहेको हुन्छ । बीज भनेको मन्त्र स्वरूप हो । त्यही भएर एउटा अब्बल गीतले मनलाई त्राण दिने क्षमता राख्दछ । बीज असल भयो भने संगीतको फसल पनि उत्तम हुन्छ । शब्दलाई छोडेर गायकीलाई मात्रै महत्त्व दिने कामले बलिया गीतहरूको रचनालाई प्रेरणा मिल्दैन । स्तरीय संगीतको लागि साधनाले खारिएको शब्द सञ्चयनको आवश्यकता पर्दछ । साहित्यका अरू विधा जस्तै गीत लेखन पनि एउटा साधना हो भन्ने मर्म बोकेका साधकहरू सीमित छन् । तीमध्येका एक हुन् शिव पलाँस ।

पलाँसको गीतकारिता एउटा सौम्य बहावयुक्त नदी जस्तो छ । न त सफलता वा लोकप्रियताको क्षणमा यी उरालिँदै हिँडेका छन् न त अप्रचारको समयमा यिनले आफूँलाई खुम्च्याउँदै बसेका छन् । उनमा तत्काल चर्चामा आइहालूँ भन्ने भावना कत्ति पनि छैन । बरु एउटा राम्रो गीत रचनाको लागि जुगै खर्चिन समेत तयार भई बसेका वृक्ष हुन् उनी । शान्त सागरजस्तो निरन्तर गीतकाव्यमा साधनारत साधकको नाम हो शिव पलाँस ।

कुनै पनि पेशा वा कर्म आफैँमा महान् वा सम्मानयोग्य हुँदैन । कर्म गर्नेले नै त्यसलाई उचाइ दिने हो । आफूले गरेको कामलाई कर्मीले जति महत्त्व र सम्मान दिन्छ त्यसबाट त्यति नै गरिमा मिल्ने हो । पलाँस हाल अमेरिकामा छन् । नेपालमा रहँदा मैले पनि उनीसँग सङ्गत गर्न पाएँ । गीतिकाव्यप्रति उनको गुरुत्वपूर्ण अनुराग देख्दा उनी वास्तवमै एक संवेदनशील गीतकार एवं साधक हुन् भन्ने छनक मैले पाएको हुँ । लाग्दथ्यो उनी सधैँ एक कालजयी गीत रचनाका लागि साधनारत छन् । सदैव त्यसको खोजीमा छन् ।

अहिले धेरै किसिमका गीत रचनाहरू बजारमा आइरहेका छन् । गीत रचना हल्काफुल्का काम होइन । यो पनि शब्द साधनाकै एउटा अंग हो । आफ्नो उमेरमा ‘माया गर्नुको अर्थ’‘सुनको जलप लगाएको’‘आगो भन्ने जान्दाजान्दै’ लगायतका विशिष्ट गीतहरूको रचना पलाँसले गरे । विभिन्न माध्यमबाट गीतहरू सुनिए पनि पुस्तक सञ्चयनको अभावमा आफूले रचना गरेका काव्यहरू नहराए पनि कता कता हराएजस्तो लाग्ने रहेछ ।नजान्नेहरूले झन् एउटाले रचेको गीतलाई अर्काकै रचना भनेर कु प्रचार समेत गर्ने रहेछन् । कयौँ पटक आफूले रचेको गीत अर्कै गीतकारको नाउँमा बजेको सुनेर पलाँस स्वयम् दिक्क हुनुपर्ने स्थिति यद्यपि अझै पनि छ । यसैले पनि आफ्ना गीतहरूलाई संकलन गरेर एउटा पुस्तक बनाऊँ भन्ने भाव गीतकार पलाँसमा आएको हुनुपर्छ ।यसै मेलोमा उनले आफ्ना गीतहरूको सञ्चय पुस्तक‘माया गर्नुको अर्थ’ शीर्षकमा बजारमा ल्याएका छन् ।यसले अरू गीतकारहरूलाई पनि पक्का प्रेरणा दिनेछ ।

‘माया गर्नुको अर्थ’ उनको बलियो गितीहस्ताक्षर हो । बीबी अनुरागीको संगीत अनि शिशिर योगीको आवाजमा यो गीत धेरै श्रोताहरूले सुनेका छन् तर यसका रचनाकार शिव पलाँस हुन् भनेर कमैलाई मात्र सम्झेका होलान् । नसम्झेकोमा पनि उनलाई कुनै गुनासो छैन । माया र विवाह फरक कुरा हुन् भन्ने दर्शन बोकेको यो गीत समकालको एक कालजयी रचना हो भन्नुमा अत्युक्ति हुँदैन ।
गीत मानवीय भावनाको अभिव्यक्ति त हुँदै हो तर गीतकारले त्यसको कोरा व्याख्या गर्ने मात्र होइन बरु एउटा गीतमा एउटा सिङ्गो दर्शन अटाउन सक्नुपर्छ भन्ने मान्यतामा छन् गीतकार पलाँस । उनको यही सुविचारित साधनाले नै उनका गीतलाई अमर बनाएको छ ।बिचार दृष्टिले समेत बलिया उनका सबैजसो गीतमा त्यसको छनक पाइन्छ । मानवीय भावना र संवेदनालाई शब्दले प्रकट गर्दा दार्शनिक रंग दिने कोशिस गीतकारले हरेक गीतमा गरेको पाइन्छ ।
‘कोर्रा हान्यौ कयौँ चोटि नदुखेझैँ गरेँ
नदुखेझैँ गरे पनि दुखाइले मरेँ ।’

अनुभूतिको गहिराइमा स्वाद वा स्पर्शमात्र हुन्छ । शब्दको बिलकुल अभाव हुन्छ । शब्द त्यति सस्तो हुने भए हर कोही गीतकार हुन्थ्यो होला । शब्दको सर्वथा अभावमा पनि भावयुक्त शब्दको सन्धान गर्न सक्ने क्षमता एउटा सिपालु गीतकारमा मात्रै हुन्छ । गीतकार पलाँस मानवीय संवेदनालाई शब्द शिल्पमार्फत प्रकट गर्न सिपालु छन् ।पलाँसको गीतको अर्को खासियत भनेको गीतमा अनावश्यक शब्दहरूको प्रयोग नहुनु हो । उनका गीतमा शब्दहरूको जबरजस्ती घुसपैठ छैन ।गीत बनाउनकै लागि गीतमा जबरजस्त शब्दहरू भर्नुपर्छ भन्ने मान्यताबाट पलाँस कोशौँ टाढा छन् । गीतका सन्दर्भमा कस्तो शब्दको प्रयोग गर्ने भन्दा पनि कस्तो शब्दको प्रयोग गर्नु हुँदैन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । यस्तो महत्त्वलाई गीतकार पलाँसले कुशलतापूर्वक अंगिकार गरेको देखिन्छ । साथै, सबै गीतहरू उत्कृष्ट हुन्छन् भन्ने हुँदैन तर गीतका लागि रचनाकारले कस्ता शब्दको प्रयोग गर्नु हुँदैन भन्ने ख्याल अवश्यै गर्नुपर्दछ । गीतकार पलाँस यस मानेमा चनाखो देखिन्छन् ।
‘मान्छेसँग ठोकिएर मान्छे लडेको छ
एउटालाई कुल्ची अर्को अघि बढेको छ’

सामाजिक परिवेशलाई बोध गर्ने र उत्तिकै गहनताका साथ गीतकाव्यमा उतार्ने कुशलता पलाँसमा रहेको देखिन्छ । गीतकार भनेको केवल मनका भावनालाई शब्द रूप दिने कलाकार मात्र होइन । उसले समाज, सामाजिक सन्दर्भ र परिवेशलाई नजिकबाट नियालेको हुनुपर्छ । सामाजिक आयामलाई ठिकठिकसँग दृष्टि दिने क्षमता पनि कुशल गीतकारका लक्षण हुन् । गीतकार पलाँस आफ्नो समयको समाज एवं सामाजिक सम्बन्धप्रति सचेत देखिन्छन् ।

पुस्तक सञ्चयनमा पलाँसका ६ दर्जनभन्दा बढी गीतहरू अटाएका छन् । माया(प्रेम, मिलन बिछोड, देशभक्ति, उत्प्रेरणा, जीवन दर्शन, नारी व्यथा, समाज संस्कृति आदि अनेक सन्दर्भ र आयाममा उनका गीतहरू फैलिएका छन् । समग्रमा शिव पलाँसका गीतका शब्दहरू कालजयी छन् र समकालमा तिनले मानवीय मूल्यको अर्थ खोजी रहेको भेटिन्छ ।

असल रचनाले नै भाषा साहित्यको श्रीवृद्धि हुने हो । असल रचनालाई असल पारखीहरूको साथ हुनुपर्दछ । एउटा राम्रो गीतबाट गायन करियर शुरु गरौँ भन्ने भावना भएकाहरूका लागि शिव पलाँसका गीतहरू उपयुक्त छनौट बन्न सक्छ । धेरै गीत गाइयो तर सुगम संगीतको दुनियाँमा एउटा असल गीतमा स्वर भरौँ भन्ने चाहना भएका गायकका लागि पनि पलाँसका सञ्चयनमा समेटिएका गीतहरू उचित रोजाइ हुन सक्छ । हुन त हिरा चिन्ने खुबी जो कोहीसँग हुँदैन । तर अरूले चिनेनन् भन्दैमा हिराले आफ्नो गुण पनि त्याग्दैन । समकालीन गीत लेखनमा हिरा झैँ चम्किला रत्न मित्र एवं गीतकार शिव पलाँसलाई आगामी दिनमा गीत लेखनमा थप प्रेरणा मिलोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्