पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता

  • नेपाल अहिले
  • श्रावण १२, २०७९
पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता

पोखरा १२, साउन । ‘कल्याण शेरचन स्मृति प्रतिष्ठान’ नेपालको आयोजनामा कास्कीको पोखरामा आजदेखि सर्वाधिक पुरस्कार राशिको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ । पोखरा सभागृहमा हुने  प्रतियोगिताको आज ११:३० बजे पोखरा महानगरका मेयर धनराज आचार्यले उद्घाटन गर्ने  कार्यक्रम तय भएको  प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालले जानकारी दिनुभयो।

‘लोकसंस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’ नारासहित तीन दिन संचालन हुने प्रतियोगिताको प्रबर्द्धकमा पोखरा महानगरपालिका रहेको छ । प्रतियोगितामा  देशभरबाट ४६ समूहको सहभागिता रहने संयोजक  दाहालले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने टोलीले रु ६ लाख, द्वितीय हुनेले रु चार लाख, तृतीय हुनेले रु दुई लाख तथा सान्त्वना हुने समूहले रु एक लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट गायक, गायिका र अनुशासित समूहलाई रु ५० हजारका दरले पुरस्कार प्रदान गरिने दाहालले जानकारी दिनुभयो। कार्यक्रमबाट रु ५५ लाख आम्दानी हुने आयोजक संस्थाले जनाएको छ ।

एक समूहमा महिला र पुरुष एक-एक गरी दुई जना रहने र समूहको वाद्यवादनलगायत टोलीको व्यवस्था आयोजकलेनै गनुपर्ने छ । लोकगायक, स्रष्टा र शिल्पी कल्याण शेरचनको स्मरणमा उहाँको जन्मजयन्तीका अवसरमा प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर गुरुङ‘ह्योल्मो’ले बताउनुभयो। “प्रतियोगिताको उद्देश्य पोखरामा नेपाली लोकबाजा सङ्ग्रहालय निर्माण गर्नु रहेको छ”, उहाँले भन्नुभयो ।

नेपाली लोकबाजाको संरक्षण, सम्बद्र्धन गर्न र शेरचनको प्रतिमा निर्माणको योजना प्रतिष्ठानले अघि सारेको छ । बचत रकमबाट लोकबाजा सङ्ग्रहालय स्थापना गरिने छ । कुना कन्दरामा गाइने नेपालीपन बोकेका मौलिक लय एवं भाकाका गीत सङ्कलन र गायनका साथै नेपाली लोकगीत, नृत्य र संस्कृतिको विकासमा योगदान पुर्याउनु भएका स्रष्टा शेरचनको २०६७ माघ २४ गते पोखरामा निधन भएको थियो ।

स्व शेरचनले १६ वर्षे उमेरमा मै पनि झिल्के हुँदो हो, अहिले पो बुढो भयो र….,सुखी ज्यानलाई गुँदरी काम्लो…, आहा कलिलो तामालाई सोध रामलाई…, ऐ भेना यो सला, ल्याइदेउ मलाई पछ्यौरी मलमललगायतका गीतहरु सङ्कलन गर्नुभएको थियो । शेरचन नेपाली गीत सङ्गीतको क्षेत्रमा फरक किसिमको स्वाद, शैली र विम्ब भित्र्याउन सफल हुनु भएको थियो ।

© 2026 All Rights Reserved | Nepal Ahile Media