nepal ahile circle final NEW

पोखरामा जागिर दिएको पहिलो घण्टामै किशोरीमाथि बलात्कार प्रयास, फेन्सी सञ्चालक पक्राउ

पोखरामा जागिर दिएको पहिलो घण्टामै किशोरीमाथि बलात्कार प्रयास, फेन्सी सञ्चालक पक्राउ

पोखरा । पोखरामा एक किशोरीमाथि बलात्कार प्रयासको आरोपमा  फेन्सी सञ्चालक पक्राउ परेका छन् ।

फेन्सीमा जागिर दिलाएको पहिलो दिन नै किशोरीमाथि बलात्कार गर्न खोजेको आरोपमा शिला फेन्सी स्टोर्स, चिप्लेढुंगाका सञ्चालक छविलाल गौतम पक्राउ परेका हुन्।

गौतमलाई बुधबार नियन्त्रणमा लिई यौनजन्य दुर्व्यवहार मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले बताउनुभयो ।

डिएसपी तिवारीका अनुसार पीडित किशोरीको परिवारको उजुरीका आधारमा गौतमलाई बुधबार बिहान पक्राउ गरिएको हो ।

‘पीडितकी आमाले किटानी जाहेरी दिएपछि आरोपितलाई पक्राउ गरेका छौँ , पीडित बालिकाको स्वास्थ्य परीक्षण गराई परिवारको जिम्मा लगाइसकेका छौँ । आरोपित माथि यौनजन्य दुर्व्यवहार मुद्दामा कारबाही प्रक्रिया अघि बढेको छ’, डिएसपी तिवारीले नेपाल अहिलेसँग भन्नुभयो ।

कसरी भयो घटना ?

स्याङ्जा जिल्ला स्थायी घर भई हाल पोखरामा परिवारसँग बस्दै आएकी १५ वर्षीया किशोरी पढाइ नभएकोले खाली बस्न भन्दा जागिर गर्ने सोचमा पुगिन । आफ्नो जागिर गर्ने इच्छा अनुसार जागिर खोजिदिन दाइ नाता पर्नेलाई उनले अनुरोध गरिन ।

काम खोज्ने क्रममा उनी चिप्लेढुंगामा सेल लगाएर सामान बिक्री गर्ने पसलमा पुगिन् । पसल सञ्चालकले किशोरीलाई आफ्नो पसलमा सेलमा सामान बिक्री गर्नुपर्ने भएको र अलि टाठो बाठो मान्छे मात्र राख्ने भनेपछि उनले त्यहाँ काम पाइनन् । तर उनै पसलेले नजिकैको एक फेन्सीमा कामदार खोजेको छ भन्ने आफूले सुनेको छु भन्दै शिला फेन्सी स्टोर्समा जान सुझाए ।

जागिर गर्ने अठोट लिएकी किशोरी हरेस नखाई उनैले देखाइदिएको शिला फेन्सी स्टोर्समा पुगिन् । फेन्सीका सञ्चालक छविलाल गौतमले बिहान ८ बजेदेखि बेलुकी साढे ७ बजेसम्म काम गर्ने शर्तमा जागिर दिलाए र, दुई दिनपछि असार १५ गतेको बिहानैबाट काममा आउन भने । सञ्चालक गौतमले काम बिहानैबाट गर्नुपर्ने भएकाले खाना बोकेर नै आउनुपर्ने बताएका थिए ।

सोही अनुरूप किशोरी असार १५ गते बिहानै जागिरमा पुगिन् । आफ्नो जागिरको पहिलो दिन भएकाले किशोरी सञ्चालक गौतमले भनेको समय अगावै फेन्सी स्टोर्समा पुगिन् । पसलमा बसिरहेका गौतमले काम सिकाउन भन्दै बिहान ८ :३० बजेको समयमा आफूतिर बोलाए । उनले बाटोको छेउमा रहेको उक्त पसलको तल्लो तलाबाट माथिल्लो तलामा किशोरीलाई लग्ने सोच बनाए । सोहीअनुरूप उनले किशोरीलाई माथिल्लो तला देखाउने भनि लिएर गए । पहिलो तलाबाट माथिल्लो तलामा जाने क्रममा उनले किशोरीको काँधमा हात राखेर अघि बढे ।

शुरुमै उसको व्यवहारबाट अत्तालिएकी किशोरीलाई भर्‍याङको बिचतिरको अँध्यारो स्थानमा पुर्‍याएर गौतमले एक्कासि चुम्बन गर्न थाले । उनी त्यतिमा मात्र रोकिएनन्, गौतमले किशोरीलाई भित्तामा च्यापेर गोप्य अङ्गतिर हात बढाउन थाले । किशोरीले प्रतिवाद गरेर कराउन थालेपछि आजकलको जमानामा यस्तो कुरा सामान्य हो भन्दै फकाउने प्रयत्न गरे ।

उनी त्यहाँबाट रुँदै निस्किएर आफ्नो परिवारकोमा पुगिन् । त्यहाँ भएका परिवारका सदस्यलाई घटना विवरण सुनाइन । लगत्तै आपसी छलफल पछि परिवार जिल्ला प्रहरी कार्यालय कास्कीमा पुग्यो । र , आमाको नामबाट किटानी जाहेरी दर्ज भयो ।

घटनाबारे बोल्ने किशोरीको साहस र परिवारको किटानी जाहेरी पश्चात् पीडक गौतम घटना घटाएको दुई घण्टामै पक्राउ परे ।

(पिडीत किशोरीको उपस्थितिमा ,परिवार र आफन्त समेतले दिएको घटना विवरण )

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्