अटोवेजको आयोजनामा पोखरामा जारी चित्रकला प्रदर्शनीमा अवलोकनकर्ताहरूको भिड

  • नेपाल अहिले
  • अषाढ १, २०७९
अटोवेजको आयोजनामा पोखरामा जारी चित्रकला प्रदर्शनीमा अवलोकनकर्ताहरूको भिड

पोखरा । पोखराको नयाँबजारस्थित अटोवेजको शोरुममा जारी रहेको चित्रकला प्रदर्शनीमा अवलोकनकर्ताहरूको भिड लाग्न थालेको छ । विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले कोरेका चित्रहरूको प्रदर्शनीमा अवलोकनकर्ताहरूको उल्लेखनीय सहभागिता भएको अटोवेजकी निर्देशक सन्ध्या पौडेलले जानकारी दिनुभयो ।

शुक्रबारबाट शुरु भएको प्रदर्शनीमा बुधवार दिउसोसम्म विभिन्न विद्यालयका ९४५ विद्यार्थी, अभिभावक,शिक्षक र सर्वसाधारणसहित  ५२८ जना गरेर १ हजार ४७३ जनाले  अवलोकन गरेको निर्देशक पौडेलले बताउनुभयो ।

प्रदर्शनीमा गण्डकी, धौलागिरि र बाग्मती प्रदेशका विद्यार्थीहरूले बनाएका १ हजार २५० वटा चित्रहरू मध्येबाट छनोट गरी १६५ वटा चित्रहरू समावेश गरिएका छन् ।

विद्यार्थीहरूले सवारी साधनलाई केन्द्रमा राखेर विभिन्न सन्देश दिने खालका चित्रहरू कोरेका छन् । प्रदर्शनीमा समावेश गरिएका मध्येबाट छानिएका उत्कृष्ट चित्रहरूलाई पुरस्कृत गरिने निर्देशक पौडेलले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक, प्रदर्शनीका अवलोकनकर्ता र चित्रकला विषयका शिक्षकहरूको मूल्याकंनका आधारमा उत्कृष्ट तीन चित्र पुरस्कृत गर्ने उहाँको भनाइ छ ।

प्रथम हुनेलाई १० हजार नगदसहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर, द्वितीय हुनेले ७ हजार नगदसहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर तथा तृतीय हुनेलाई २५ सय नगदसहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

यस क्षेत्रको टोयटा र आइसर गाडीहरूको आधिकारिक विक्रेता अटोवेज प्रालिले चित्रकला प्रदर्शनीको आयोजना गरेको हो । विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको आयोजकको भनाइ छ ।

एक साताका लागि आयोजना गरिएको प्रदर्शनी ३ गतेसम्म चल्नेछ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरू गर्दै आएको सो कम्पनीले गोविन्द कलावती फाउन्डेसन मार्फत गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्दै आएको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media