nepal ahile circle final NEW

सबैको सहकार्यमा सामाजिक कुरीति र विकृतिलाई निर्मूल गर्नुछ : प्रधानमन्त्री देउवा

सबैको सहकार्यमा सामाजिक कुरीति र विकृतिलाई निर्मूल गर्नुछ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सेवा दिवसको मर्म सामाजिक रूपान्तरण, समाजको विकास र समाजमा रहेका सामाजिक कुरीति र विकृतिलाई निर्मूल गर्नुमा निहित रहेको उल्लेख गरेका छन् ।
उनले ४२ औँ सामाजिक सेवा दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली एवं सामाजिक सेवामा लागेका सम्पूर्ण व्यक्ति तथा सङ्घ संस्थालाई शुभकामना व्यक्त गर्दै सो कुरा उल्लेख गरेका हुन् । ‘सर्वजन हिताय, सर्वजन सुखाय’ भन्ने पूर्वीय दर्शनको सार नै सामाजिक सेवाभाव रहेको पाइन्छ । आजको विश्व परिवेशमा हुँदा खाने र हुनेखानेका बीचको खाडल दिनप्रतिदिन बढ्दै गएको तथ्यलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसङ्घ र सदस्य राष्ट्रहरुले सामूहिक प्रतिबद्धताको दस्तावेज दिगो विकास लक्ष्यमा हस्ताक्षर गरेका छन् । यसको मूल सिद्धान्त कोही पनि नछुटुन् भन्ने रहेको प्रधानमन्त्री देउवाले बताएका छन् ।

दिगो विकास लक्ष्यमा साझेदारीको सवाललाई प्राथमिकताका साथ अगाडि सारिएको अवस्थामा यस वर्षको सामाजिक सेवा दिवस राष्ट्र निर्माणमा विकासका लागि साझेदारी गर्न सफल हुने उनले विश्वास लिएका छन् ।

भौतिक विकास र मानवीय विकास सरकारको एकल प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यसका लागि नागरिक तहसम्मको प्रतिबद्धता, सहकार्य र समर्पणभाव आवश्यक हुने बताएका छन् । उनले गरिबी निवारण, सामाजिक न्याय, समानता, समता, मानव अधिकारजस्ता आवधारणालाई आत्ससात् गर्दै देशको सामाजिक विकास र रूपान्तरणमा प्रत्यक्ष वा परोक्षरूपमा सहभागी हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रयासको प्रशंसासमेत गरेका छन् ।

आगामी दिनमा सङ्घ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा समाज रूपान्तरणका कार्यक्रमलाई राष्ट्रिय प्राथमिकता अनुकूल बनाउँदै राष्ट्र निर्माणमा नेपाल सरकारसँग सहकार्यका लागि पनि प्रधानमन्त्री देउवाले आह्वान गरेका छन् ।

समाज सेवामा संलग्न विभिन्न व्यक्ति, विचारक संस्थासँग साझेदारी गर्दै सभ्य र मर्यादित समाज निर्माणमा लाग्न उनले सम्पूर्ण समाजसेवी व्यक्ति तथा संस्थालाई आह्वान गर्दै मानवीय सेवा भावले गरिने कार्यका लागि आवश्यक पर्ने सहयोग गर्न नेपाल सरकार सदैव तत्पर रहेको बताएका छन् । रासस

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्