पोखरामा लक्ष्य व्याण्डको सांगीतिक धुन सुन्दै यःमरी खान पाइने

पोखरामा लक्ष्य व्याण्डको सांगीतिक धुन सुन्दै यःमरी खान पाइने

पोखरा । पोखरामा भोली पुष ९ गते सोमबार यःमरी सांस्कृतिक महोत्सव तथा यःमरी बनाउने प्रतियोगिता हुने भएको छ । महोत्सव पोखराको ऐतिहासिक महत्व बोकेको ठाउँ गणेशटोलमा हुनेछ । यःमरी पुन्हि अर्थात यमरी पूर्णिमाको अवसरमा चौथों संस्करणको यो कार्यक्रमको आयोजना हुन लागेको हो ।

पोखरा महानगरपालिका वडा नं ४ को आयोजना तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा हुने एक दिने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए । उनका अनुसार महोत्सव उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नेछन् ।

महोत्सव पोखराको पुरानो बजार गणेशटोल मन्दिर देखि नालामुखसम्मको सडकमा नै आयोजना गरिनेछ ।

महोत्सवमा आयोजित यःमरी बनाउने प्रतियोगितामा कम्तिमा २० टीमले भाग लिने उनले बताए । उनीहरुले यःमरी बनाएको प्रत्यक्ष हेर्ने अवसर समेत त्यहाँ पुग्ने दर्शकले पाउनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोश्रो हुनेलाई ७ हजार, तेश्रो हुनेलाई ५ हजार र सान्त्वना ३ हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

नेवाः मिसा पुचः कास्कीकी अध्यक्ष संगीता बज्राचार्यका अनुसार महोत्सवमा यःमरीसहित नेपाली पिज्जा, समयबजी, सेलरोटी, अचार लगायतका परिकारहरुको स्टल रहनेछन् । त्यसबाहेक स्थानियले घरमानै उत्पादन गरेर बजार नपाएका मोजा, गलबन्दीलगायत जुत्ता, चप्पल तथा कपडाका स्टल समेत त्यहाँ रहने छन् । कास्कीमा ३८ वटा मिसा पुचः रहेको जनाएकी  बज्राचार्यले संस्कृतिको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्नको लागि कार्यक्रम गरिदै आएको बताइन् ।

महोत्सवमा पुगेर यःमरी खान खोज्नेले प्रति गोटा ८० रुपैयाँ, समयबजी खानेले प्रति प्लेट २ सय, सेलरोटी खानेले ५० रुपैयाँ तिर्नुपर्नेछ ।
महोत्सवको आर्कषणको रुपमा लक्ष्य ब्याण्डको सांगीतिक प्रस्तुति रहनेछ । व्याण्डले मौलीक संगीतको धुन सुनाउँदै माहोल गर्माउनेछ ।संगीतको धुनको तालमा ताततातो यःमरी लगायतका परिकारको स्वाद लिन दर्शकले प्राप्त गर्नेछन् ।

कार्यक्रमको थप आर्कषणको रुपमा मौलिक लाखे नाच, कुमारी नाच लगायतका नेवारी संस्कृति झल्कने प्रस्तुतीहरु रहनेछ ।

महोत्सव अघि झाँकीसहितको प्रभातफेरी र्‍याली निकाल्ने आयोजकको तयारी छ । वडा कार्यालयबाट बिहान साढे ९ बजे शुरु हुने र्‍याली गैह्रापाटन, पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोलहुँदै गणेशटोलमा पुगेर उद्घाटन समारोहमा परिणत हुने वडाध्यक्ष पराजुलीले खुलाए ।

र्‍यालीमा सहभागि हुने समुहबाट व्यानर, पोशाक, उपस्थित संख्याको आधारमा प्रथम हुने समूहलाई नगद ७ हजार, द्वितीय हुनेलाई ५ हजार र तृतीय हुनेलाई ३ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिनेछ ।

वडाध्यक्ष पराजुलीले महोत्सव सञ्चालन गर्न लागिएको ऐतिहासिक ठाउँको संरक्षण गर्दै विश्व सम्पदा सूचिमा नाम लेखाउने तयारी समेत भइरहेका बताए । उनले कला संस्कृतिको संरक्षण गर्नु पनि विकास भएको दावी गरें । एक दिने महोत्सव सञ्चालन गर्न ३ लाख रुपैयाँ खर्च लाग्ने उनको अनुमान छ ।

महोत्सवबाट आएको रेसपोन्सलाई आधार बनाएर सो ठाउँमा हाट बजार सञ्चालन गर्ने वडाको योजना रहेको पराजुली बताउँछन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्