समता काव्य सन्ध्यामा बेस्सरी खुले प्रकाश, खोले आफ्नै पोल

समता काव्य सन्ध्यामा बेस्सरी खुले प्रकाश, खोले आफ्नै पोल

राजाराम पाैडेल, पोखरा । अभिनेता प्रकाश घिमिरे शनिबार समता काव्य सन्ध्याको ३ स ६४ औं श्रृखलामा सन्ध्या नायकको रुपमा प्रस्तुत भए । ठुलो दुर्घटनामा परेर स्वास्थ्य लाभ गरेका उनलाई भेट्न र  कुरा सुन्न हिमालयन रिडर्स कर्नर न्युरोड पोखरामा ठुलो संख्यामा साहित्यप्रेमी र उनका सर्मथक जम्मा भएका थिए । यसरी उपस्थित भएका सबैलाई विगत र वर्तमानका विभिन्न प्रसंग रमाइलो तरिकाले सुनाउँदै  ध्यान खिचे‌ं ।

दुर्घटना परेर घाइते भएपछि ७ दिनसम्म होस नपाएको बताएका  घिमिरेले बेहोसीको समयमा गरेका केही  प्रसंग समेत सुनाए ।

‘मैले ७ दिन होस पाइन । बेहोसिमै मणिपाल हस्पिटल भित्र बसें । न मैले छोरी चिने, न छोरा चिने । त्यहीं भित्र मैले गीत गाउन थालेछु । नर्सहरुलाई जिस्क्याउने, उनीहरुसँग गीत गाउने, साथीलाई पनि तिमी बिरामी हुन मन छ । बिरामी भए नर्सहरु हेर्न आउँछन् भनेर भनेछु । आफ्नो बानी कहाँ जान्छ र’ हाँस्दै उनले भने ।

आफ्नो रेखदेखमा खटिएका अनुप बराललाई गाली गर्ने र खगेन्द्र लामिछानेले मलाई चिन्नुभयो भन्दा ‘दीपक’ भनेर भनेको प्रसंग समेत उल्लेख गरें ।

अर्को प्रस‌ंगमा उनले आफू कविता लेख्ने मानिस नभएपनि बाध्यताले साहित्य सिर्जना गर्नु परेको बताए । ‘सूर्योदय युवा क्लबको अध्यक्ष हुँदा प्रत्येक शनिबार सदस्यहरुको व्यक्त्तित्व विकासको लागि भनेर कार्यक्रम गर्थ्यौ । म संस्थापक अध्यक्ष र मैले सुरु गरेको कार्यक्रम भएपछि केही न केही त भन्नुपर्‍यो त्यहीं कारण बाध्य भएर लेख्थे’ उनले भने ।

पोखरेली युवा साँस्कृतिक परिवारबाट समता काव्य सन्ध्या कार्यक्रम सुरु गरेपछि समेत केही समय साहित्य सिर्जना गरेर सुनाएको बताए । परिवारका पूर्व अध्यक्ष समेत रहेका उनले कसरी आवद्ध भएको भन्नेबारे रोचक शैलीमा बेलिबिस्तार लगाएका थिए । पछिल्लो समयमा भने साहित्य सिर्जना नगरेको र गर्ने सोच समेत नभएको उनले खुलाए ।

कार्यक्रममा ३० वर्ष भन्दा पहिला सिर्जना गरिएका आफ्ना रचना वाचन गरेका उनले गीत समेत गाए ।

अबको बाँकी जीवन कर्म क्षेत्रमानै बिताउने बताएका उनले महाजात्राको छायांकनसँगै कर्ममा फर्किएको जनाए । डाक्टरले पुष २ गते सिटी स्क्यान गरेर रिर्पोट आएपछि बल्ल काममा फर्कनु भन्दापनि आफू मंसिर २२ देखि २८ गतेसम्म फिल्म छायांकनको लागि काठमाडौं गएको उनले खुलाए । यसो गर्नुको कारण आफ्ना कारणले काम नरोकियोस् र अरुले दुःख नपाओस् भन्ने भएको उनको भनाई थियो ।

भाग्यले सन्ध्या नायकको रुपमा उभ्याएको र यसरी भेट्न दुर्घटना ठुलो कारकको रुपमा रहेको बताए । ‘म बाँचेको भएर भाग्यमानी भए, धेरैंको सद्भावका कारण यो सम्भव भएको हो’ उनले भने ।

आफ्नो सिर्जना सुनाउँदा विभिन्न प्रसंग निकाल्दै आफ्ना र अरुका विगतमा गरेका केही  पोल समेत उनले खोले । यसरी उनी रमाइलाे शैलीमा प्रस्तुत भएर सिर्जना सुनाउँदा उपस्थित सबैले हाँसेर समर्थन गर्थे ।

पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले अभिनेता घिमिरेको बारेमा केही रहस्यहरु खोले । घिमिरेको धेरैं रुपसँग आफू परिचित भएको बताएका उनले उनीसँग बस्दा, हिड्दा समय र बाटो कटेको पत्तै नहुने बताए । घिमिरे कविता सिर्जना गर्न, गीत गाउन र नाच्न समेत उतीकै पोख्त भएपनि साहित्य सिर्जना गर्न अलि अल्छि मान्ने गरेको सुनाए ।

पोखराको मणिपाल अस्पतालले दिएको उपचार सहितको सेवा सुविधाका कारण ठुलो दुर्घटनाबाट मृत्युको मुखमा पुगेका प्रकाशलाई फर्काउन सफल भएको घिमिरेका सहपाठी समेत रहेका श्रेष्ठको भनाई थियो । उनले अस्पताल र उपचारमा खटिएका टीमले गरेकाे कामकाे प्रशंसा गरें ।

सोही कार्यक्रममा लक्ष्मण थापा, केशु शर्मा, रोसन रेग्मी, जीवन पौडेल, इसा शाह, महेश नायक, भूमिराज बस्ताकोटीले आफ्ना रचना समेत सुनाए । कार्यक्रमको सञ्चालन परिवारका सचिव चैतन्य अधिकारीले गरेका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्