पोखरालाई साहित्यको सहरको रुपमा चिनाउन ताल छेउमा फेस्टिभल

पोखरालाई साहित्यको सहरको रुपमा चिनाउन ताल छेउमा फेस्टिभल

राजाराम पौडेल, पोखरा । बुकवर्म फाउन्डेसनले आयोजना गर्दै आएको नेपाल लिटरचेर फेस्टिभलको ११ औं सस्करणको तयारीमा तीव्रता दिइएको छ । फागुन ३ गतेबाट ७ गतेसम्म बाराहीघाट, लेकसाइड पोखरामा सञ्चालन हुने फेस्टिभलमा ५८ बढी सेसन मार्फत दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहने आयोजक संस्थाका सदस्य केशवशरण लामिछानेले जानकारी दिए ।

पोखरामा बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर दिइएको जानकारी अनुसार विश्वप्रसिद्ध पुस्तक ‘अमेरिकन प्रोमिथियसः द ट्रायम्फ एन्ड ट्र्याजिडी अफ जे रबर्ट ओपनहाइमर’का सहलेखक काई बर्ड, प्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट, विश्वप्रसिद्ध समालोचक एवम् उपन्यासकार चन्द्रहास चौधरी सहित एक दर्जन भन्दा बढी अतिथि विदेशबाट समेत आउनेछन् ।

फेस्टिभलको उद्घाटन फागुन ३ गते दिउँसो ३ बजे गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेछन् । यस वर्षको फेस्टिभलमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको विद्वत्प्रवचन सहभागीले सुन्न पाउनेछन् ।

पहिलो दिनमा वरिष्ठ काटुनिष्ट दुर्गा बराल वात्स्यायनको ‘वात्स्यायन एन्ड बाब्र्स भोल्युम टू’ पुस्तक विमोचन एवम् कार्टुन प्रदर्शनी समेत हुने कार्यक्रम तय गरिएको छ । जसको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नेछन् ।

सुजना थापाको ‘गोर्खा वुमन : एन इको इन द स्टोरी’ प्रदर्शनी फेस्टिभलका अवसरमा गरिने आयोजकले जनाएको छ । जसको उद्घाटन फेस्टिभलको पहिलो दिनमानै पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङलाई गर्न लगाउने आयोजकको तयारी भएको सदस्य लामिछानेले खुलाए ।

फेस्टिभलमा अर्थमन्त्री डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्रीहरू वर्षमान पुन, सुरेन्द्र पाण्डे, पत्रकार विजय कुमार, सांसद एवम् अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, सांसद सुमना श्रेष्ठ, पूर्वमिस नेपाल शृङ्खला खतिवडाको सहभागिता रहनेछ ।

लेखक खगेन्द्र संग्रौला, नेता सिके राउत, प्रा.डा. कुन्दन अर्याल, पत्रकार भूषण दाहाल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सांसद एवम् उद्योगी विनोद चौधरी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, योगी विकासानन्द, पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्याल, रोहिणी राणा, नेत्री समीक्षा बाँस्कोटा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, पूर्वबैङ्कर अनिलकेशरी शाह, प्रा. कुसुम शाक्य लगायत समेत वक्ताको रुपमा आउनेछन् ।

लोक गायक बद्री पंगेनी, गजलकार एवम् लेखक शीतल कादम्बिनी, कवि डा.नवराज लम्साल, लेखक अमर न्यौपाने, लेखक कुमार नगरकोटी, गजलकार सङ्गीता थापा, गजलकार सुमन स्मारिकालगायतको सहभागिताले फेस्टिझलमा थप रौनकता थप्नेछ ।
फेस्टिभलमा हरेक साँझ साङ्गीतिक प्रस्तुति रहनेछ । कुटुम्ब ब्यान्ड, डा. ध्रुवेशचन्द्र रेग्मी र उनको समूह, डा. सुमन थापा र द ब्लू फ्रेट ब्यान्ड, विपुल क्षेत्री र द ट्राभलिङ ब्यान्ड आदि समूहको कन्सर्ट यसपालीको फेस्टिभलको आर्कषणको रुपमा रहनेछन् । फेस्टिभलका अवसरमा लेखक कुमार नगरकोटीले कुटुम्ब ब्यान्डसँग रिसाइटेसन कार्यक्रम समेत हुनेछ ।

आयोजक संस्थाका सदस्य लामिछानेले यसपाली विद्यार्थीलाई उपयोगी हुने सेसनलाई प्राथमिकता दिइएको र त्यसको लागि दुईदिन छुट्याइएको  खुलाए । ‘भोली देश हाक्ने बालबालीकालाई अहिलेदेखिनै पठन संस्कृति, सभ्यता, संस्कृति र कलासँग जोड्नुपर्छ भन्ने हेतुले बालबालीकालाई लक्षित गरेर सेसन छुट्याइएको छ’ उनले भने ।

पोखरामा आयोजना भएको फेस्टिभलमा एक चौथाई भन्दा बढी अतिथि र विषयवस्तु पोखरा केन्द्रीत तथा गण्डकी प्रदेशसँग सम्बन्धीत रहने प्रष्ट पारे । फेस्टिभलमा तालको विषय, गन्धर्वका कुरा समेत उठान हुनेछन् । फेस्टिभल पोखरामा एउटा ब्रान्डका रुपमा स्थापित भइसकेको उनको दावी छ । ‘यस्ता फेस्टिभल अरू पनि यहाँ आयोजना हुनुपर्छ । यसले पोखरालाई फरक पहिचान दिन्छ । हामीले भनिरहेको हिमाल, ताल र सौन्दर्यको सहर पोखरालाई साहित्यको सहर पनि बनाउन फेस्टिभलले सघाइरहेको छ,’ उनले भने ।

नेपाल पत्रकार महासंघ, कास्कीकी अध्यक्ष विमला भण्डारीले यति बेला पोखरा शब्दहरूले दुलही जसरी सिँगारिएको बताइन् । कला, साहित्यदेखि राजनीति र दर्शनसम्मको भोक जगाइदिने अनि मेटाइदिने अवसर फेस्टिभलले दिएको भण्डारीको भनाइ छ ।

सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको फेस्टिभल एघारौं संस्करणसम्म आइपुग्दा नेपाल ट्रस्टको स्वामित्वमा रहेको बाराहीघाटमा भव्यतासाथ आयोजना हुने अवस्थामा आइपुगेको नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले बताए । सन् २०१६ देखि पोखरामा लगातार यो फेस्टिभलको आयोजना भैरहेको हो । फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यक्ति एवम् सरोकारवालालाई जवाफदेही बनाउन सघाउने उनको भनाइ छ ।सचेत समाज निर्माणमा पनि यसले विशेष भूमिका निर्वाह गर्ने उनको विश्वास छ ।

फेस्टिभल नजिकिदै गर्दाे तयारी तीव्र रूपमा अघि बढिरहेको आयोजक संस्थाका अर्का सदस्य भरत कोइरालाले बताए । पोखरा र नेपाल लिटरेचर फेस्टिभल पर्याय बनिसकेको उनको दावी छ । फेस्टिभलको प्रवद्र्धकमा पोखरा महानगरपालिका रहेको छ । पत्रकार सम्मेलनको सहजीकरण आयोजक संस्थाका सदस्य विकास रोकामगरले गरेका थिए । फेस्टिभलको सेडुयल फाइनल हुने क्रममा रहेको आयोजकको भनाइ छ । फेस्टिभलको दोस्रो दिन फागुन ४ देखि ७ गतेसम्म बिहान १० बजेदेखि साँझ ७ बजेसम्म फेस्टिभलका सत्रहरु सञ्चालन गर्ने आयोजकले खुलाएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्